A Levels MA

किन पढ्छन् ६५ जिल्लाका विद्यार्थी ख्वप कलेजमा

संविधानले स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ । तथापि केही स्थानीय तहले विद्यालय शिक्षामा मात्र होइन उच्च शिक्षा व्यवस्थापनको जिम्मेबारी पनि लिएर सफलतापूर्वक निर्वाह गरेका छन् । यिनी नमुना पालिका मध्ये एउटा पालिका हो भक्तपुर नगरपालिका । यो नगरपालिकाले आफ्नै मातहतमा सातओटा शिक्षण संस्था सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाले ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियिरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा मावि र शारदा कलेज सञ्चालन गर्दै आएको छ ।नगरपालिकाले स्थापनाका सुरुमा वार्षिक ४० लाख भन्दा बढी रकम खर्चेर सञ्चालनमा ल्याएका शिक्षण संस्था अहिले देशैभरिका विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएका छन् भने सञ्चालनको आर्थिक भार समेत आफै व्होर्न सक्ने भएका छन् ।

प्रति परिवार कम्तीमा एकजना स्नातक उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले शैक्षिक संस्था सञ्चालन गरेको हो । भक्तपुरका जनतासँगै जनप्रतिनिधिले यी संस्थानहरू स्थापना गरी यो तहसम्म ल्याएका हुन् । “कम शुल्कमा उच्च शिक्षा दिन, समाजलाई बौद्धिक बनाउन, नयाँ पुस्तालाई एक्काइसौं शताब्दीका चुनौती सामना गर्न सक्षम बनाउन र श्रमलाई उत्पादनशीलतासँग जोडेर शिक्षा र समृद्धिको लक्ष्य पूरा गर्न” नगरपालिकाको लगानीमा स्कूल र कलेजहरूसञ्चालन गरिएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा अहिले ६५ जिल्ला १४ सय विद्यार्थी अध्ययनरत रहेको कलेज प्रमुख रुपक जोशी बताउँछन् । ‘कम शुल्कमा विद्यार्थीले चाहेको शिक्षा प्रदान गर्दै आएका छौं ।’ उनले भने, ‘हाम्रो कलेजमा हाम्रो नगरपालिकाका मात्र होइन ६५ जिल्लाका १४ सय विद्यार्थी अध्ययनरत छन् ।’

कलेजले स्नातक तहमा त्रिभुवन विश्वविद्यालयका कार्यक्रमहरु ब्याचलर अफ बिजनेस स्टडी (बीबीएस), ब्याचलर अफ म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ इन्भारुमेन्ट साइन्स, ब्याचलर अफ फिजिक्स, कम्प्युटर साइन्स एण्ड इन्भारुमेन्ट साइन्स, ब्याचलर अफ आर्टस्, ब्याचलर अफ आर्टस् इन सोसियल वर्क, सञ्चालन गर्दै आएको छ । त्यस्तै गरी स्नातकोत्तर तहमा कलेजमा विज्ञान, व्यवस्थापन र मानविकीमा स्नातकोत्तर तहसम्म पढाइ हुन्छ । कलेजले मास्टर इन बिजनेस स्टडी, इन्भारुमेन्ट साइन्स, मास्टर्स अफ आर्टस इन इङ्लिस, मास्टर्स अफ आर्टस् इन इकोनोमिक्स सञ्चालनमा ल्याएको कलेजले जानकारी दियो ।

यो सामुदायिक कलेज हो । तथापि यो कलेजमा बन्द हड्तालको कहिल्यै प्रभाव परेको छैन । कलेजमा शैक्षिक वातावरण छ । कलेजको वातावरण सिकाइमैत्री भएका कारण विद्यार्थी तथा अभिभावकको भरोसा जित्दै गएको कलेज प्रमुख जोशी बताउँछन् । ‘हामीलाई कसैको दवावमा परेर आज सम्म कलेजको पठनपाठन प्रभावित पार्न दिएका छौनौ, जस्ता सुकै बन्द हडतालमा पनि हामी शान्त वातावरणमा पढाउँछौं त्यसैले भन्छु हामी कहाँ शैक्षिक वातावरण छ ।’ उनले भने, ‘हामी सिकाइलाई अन्तरक्रियात्मक तरिकाले सञ्चालन गर्छौं त्यसैले सिकाइ उपलब्धि पनि राम्रो छ ।’

बीबीएसमा यो वर्ष पनि पुरस्कृत

त्रिविले आयोजना गर्न लागेको ४७ औँ दीक्षान्त समारोहमा यो वर्ष बीबीएसका छात्रा रश्मिता धितालले ६९.३० प्रतिशत अङ्क ल्याई नेपाल बैङ्क लिमिटेड छत्रबहादुर पदकले सम्मान गर्ने भएको छ । उनी त्रिविको बीबीएस कार्यक्रमकी उत्कृष्ट छात्रा हुन् । यसका अलावा कलेजले

प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । कलेजका अनुसार यसअघि दुईपटक गोल्ड मेडलिस्ट हात परिसकेको छ । २०६८ सालमा एमबीएसमा सन्तोषी रिमाल र २०७२ सालमा एमबीएसमै अभिशेष खनालले गोल्ड मेडलिस्ट हाल पार्न सफल भएका थिए । कलेजप्रमुख जोशी भन्छन्, ‘दक्ष, अनुभवी, मेहनति प्राध्यापक अनि सामूहिक प्रयासले यो सफलता मिलेको हो ।’

कलेजले प्रत्येक वर्ष प्रतिभाशाली र योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति र विभिन्न पुरस्कार प्रदान गर्दै आएको छ । छात्रवृत्रि छनोट समितिले दिएको सिफारिसका आधारमा व्यवस्थापन समितिले छात्रवृत्ति र पुरस्कार पाउने व्यक्ति छनोट गरेपछि कलेजले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कलेजले स्नातक तहमा गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति प्रदान गर्दै आएको छ । सम्बन्धित समितिले गरेको सिफारिसका आधारमा व्यवस्थापन समितिले छात्रवृत्ति र पुरस्कार पाउने व्यक्ति छनोट गर्छ ।

कलेजले स्नातक तहको प्रवेश परीक्षा उत्कृष्ट चार जनालाई सतप्रतिशत र दोस्रो स्थान हासिल गर्ने प्रत्येक समूहका ४ जनालाई ५० प्रतिशत, ख्वपका उत्कृष्ट ३ जनालाई शतप्रतिशत र दोस्रो स्थान हासिल गर्ने ३ जनालाई ५० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्यसैगरी सो विद्यालयबाट दोस्रो स्थान हासिल गर्ने तीन जनालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

त्यस्तै अन्य सामुदायिक विद्यालयमा अध्ययन गरी ३.६ भन्दा माथि जीपीए ल्याएका लाई सतप्रतिशत र अन्य सामुदायिक विद्यालयका टपर विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ । त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्नामा छुट दिँदै आएको छ ।

शुल्कको तुलना गर्दा निजीभन्दा केही कम र अन्य सरकारी भन्दा केही बढी शुल्क लिने गरेको कलेज प्रमुख जोशीले बताए ।

नगरपालिकाले पनि शिक्षालाई प्राथमिकतामा राख्दै आएको पमुख प्रजापतिले बताए । ‘पालिकाको उद्देश्य भनेको देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने हो ।’ उनले भने, ‘पालिकाले अन्य सबै स्रोत परिचालन गरेर शिक्षामा लगानी गर्दै आएको छ, फलस्वरुप देशैभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्दै आएको छ ।’

कलेजले खोज तथा अनुसन्धानलाई प्राथमिकता दिने गरेको छ । स्थानीय कला, संस्कृति तथा सभ्यतामा अनुसन्धान गर्ने विद्यार्थीलाई शोधवृत्ति समेत दिँदै आएका छन् ।

Thuprai - Books and E-books