A Levels MA

शिक्षामा कहिले होलान् प्रतिवद्धता पुरा, सुदुरपश्चिममा कहिले पुग्लान् पाठ्यपुस्तक ?

अधिकांश प्रदेशका विद्यालयमा आंशिक पाठ्यपुस्तक पुगेका छन् । जेठ पाँच गतेदेखि नै जनक शिक्षाले कक्षा ४–१२ का  पाठ्यपुस्तक बिक्रि सुरु गरेको भने पनि सुदुरपश्चिमका एउटा पनि बिक्रि केन्द्रमा  अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैनन् । पाठ्यपुस्तक समयमा नै नपुग्दा  परिवर्तन भएका पाठ्यपुस्तक पनि पुरानै पढाउनु पर्लाकि भन्ने आंशका बढ्न थालेको छ ।

सरकारले तामझामका साथ स्थानीय निर्वाचन सम्पन्न गर्यो । एक महिना भित्र करोडौं प्रति मतपत्र छाप्यो । सहजै कागज पायो । तर, पूर्वाधारको पनि पूर्वाधारका रुपमा मानिने शिक्षामा ध्यान दिन सकेन । पाठ्यपुस्तक समयमा  छापेन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफू नियुक्त भएको केही दिन भित्रैदेखि विभागीय कार्यलय घुम्ने क्रममा शैक्षिक सत्र सुरु हुनु एक हप्ता अगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिए ।

जनक शिक्षा सामाग्री केन्द्रले पनि समयमै पाठ्यपुस्तक छपाइ भएर विद्यार्थीको हातहातमा पुग्ने गरी काम भइरहेको चैत्र तेस्रो हप्ता सम्म बताइ रह्यो । तर, सरकारको प्राथमिकतामा पाठ्यपुस्तक छपाइभन्दा पनि स्थानीय चुनावको मतपत्र छाप्ने कार्य पर्यो । पाठ्यपुस्तक छपाइ ओझेलमा पर्यो । शैक्षिक सत्र सुरु पनि भयो विद्यालय पनि खुले तर दुर्गम तथा दुर दराजका पालिकाका शिक्षा शाखामा एउटा पनि सामुदायिक विद्यालयले पढाउने पाठ्यपुस्तक देखा परेन ।

राजधानीका केही विद्यालयमा केही पाठ्यपुस्तक देखिए पनि सुदुर पश्चिमका एउटा पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । कोरोनाका कारण दुईदुई वर्ष सम्म भौतिक रुपमा पढ्न नपाएका बालबालिका, नपढाइ तलव खाए भनेर ओरोपित शिक्षक अहिले पढाउन उत्साहका साथ विद्यालय पुगे पनि नपाढाइ फर्कनु परेकोमा दुखित छन् । भने, दुई वर्ष पछि विद्यालय खुल्ने बित्तिकै विद्यालय पुगेका बालबालिका कोर्स परिवर्तन भएका पाठ्यपुस्तक पनि पुरानै पढ्न बाध्य छन् । बागमती प्रदेश लगायत अन्य प्रदेशका बालबालिकाले छापिएका नयाँ पाठ्यपुस्तक पाएको, अरु पनि पाउने पालोका समाचार बाहिर आए पनि सुदुरपश्चिममा कहिले पाठ्यपुस्तक आउलान् ? भन्ने चिन्ता लाग्न थालेको पालिकाका शिक्षाशाखा प्रमुखहरू बताउँछन् ।

सुदुर पश्चिमका कुनै पनि विद्यालयमा अहिलेसम्म पाठ्यपुस्त्क पुग्न सकेकै छैनन् । यसो भनिरहँदा, पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा पाठ्यक्रम तथा पाठ्यपुस्तक राखिएका छन् । पढाउनलाई पाठ्यपुस्तक चाहिँदैन । पाठ्यक्रम हेरेर पढाए भइहाल्छ नि ! भन्छन् अधिकांश शिक्षाविद्हरू । तर, विडम्बना ! दुर्गमका विद्यालयमा त परै जाओस् पालिकाको शिक्षा शाखामा समेत इन्टरनेटको पहुँच नहुँदा समस्या उत्पन्न हुने गरेको छ । पाठ्यक्रम विकास केन्द्रसंग आज अन्तरक्रिया थियो तर के गर्नु ! इन्टरनेट नभएका कारण आफू सो छलफलमा बस्न नसकेको बझाङको खप्तडछान्ना गाउँपालिकाका शिक्षा शाखा प्रमुख निरजप्रसाद रेग्मी दुखेसो व्यक्त गर्छन् । ‘हामी नै अवसरबाट बञ्चित छौं अब हामीले कस्तो सेवा प्रवाह गर्ने ।’ उनी भन्छन्, ‘हाम्रो पालिकाका एउटा पनि विद्यालयमा इन्टरनेटको पहुँच छैन त्यसैले इन्टरनेटमा राखिएका विषय वस्तु पढाउँ भनेर हामी विद्यालयलाई भन्न सक्दैनौं ।’

सो पालिकामा अहिले सम्म विद्यालय स्तरको एउटा पनि पाठ्यपुस्तक पुगेको छैन । पालिकाले पाठ्यपुस्तक व्यवस्थापनका लागि सम्पूर्ण प्रक्रिया वैशाखको अन्तिमसाता नै पुरा गरेको भएपनि अहिलेसम्म एउटा पनि पाठ्यपुस्तक पालिकामा पुग्न नसकेको उनले जानकारी दिए । पुस्तक पसल, जनक शिक्षा सामग्री केन्द्र, पाठ्यक्रम विकास केन्द्रमा सम्पर्क गर्दा चुनावले असर गरेकोले पाठ्यपुस्तक नै नछापेका कारण अहिले नआएको, पठाउन नसकेको जवाफ दिने गरेको उनको गुनासो छ ।

बझङकै जयपृथ्वी नगरपालिकामा पनि अहिलेसम्म एउटा पनि पाठ्यपुस्तक नपुगेको स्थानीय शिक्षक तथा निवर्तमान शिक्षा शाखा संयोजक राजेन्द्र प्रसाद जोशीले बताए । ‘हामीले पहल गरिरहेका छौं, सबै तिर माग गर्यौं कतै पाइएन ।’ उनले भने, ‘यस्तै हो भने बझाङमा दशैंसम्म पनि पाठ्यपुस्तक आइपुग्दैनन् ।’

अहिलेसम्म बझाङमा जनक शिक्षा सामग्री केन्द्रले छापेका एउटा पनि पाठ्यपुस्तक पुग्न सकेका छैनन् । केही विद्यालयले कक्षा १–३ का पाठ्यपुस्तक प्राप्त गरेका भए पनि अन्य कक्षाका पाठ्यपुस्तकको अनुहार जिल्लाबासीले नै देख्न नपाएको पालिकाका शिक्षा खाशाको दाबी छ ।

बझाङकै जस्तै अवस्था छ बाजुराको पनि । बाजुराका केही विद्यालयले कक्षा १–३ का पाठ्यपुस्तक वितरण गरेको भए पनि अन्य कक्षाका पाठ्यपुस्तक एउटै पनि नआएको बडीमालिका नगरपालिकाका शिक्षा शाखा अधिकृत रंगमल विक बताउँछन् । ‘हामीले ७५ प्रतिशत रकम पाठ्यपुस्तकका लागि निकासा गरिसक्यौं ।’ उनी भन्छन्, ‘ जनक शिक्षाले पाठ्यपुस्तक छाप्यो कि छापेन ? बिक्रेतालाई पठायो कि पठाएन ? थाहा छैन् । पाठ्यपुस्त्क आएको छैन ।’

बडीमालिका मात्र होइन जिल्लामा नै पाठ्यपुस्तक नआएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जानकारी दियो ।

त्यसैगरी, अछामको कुनै पनि पालिकामा पाठ्यपुस्तक पुगेकै छैनन् । जनक शिक्षाले समयमा पाठ्यपुस्तक छाप्न नसक्दा शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक आइनपुगेको शिक्षा विकास तथा समन्वय एकाइ अछामले जानकारी दियो ।

केन्द्रबाट पाठ्यपुस्तक छपाइमा ढिलाइ हुँदा मंगलसेनका बालकालिका पठनपाठनबाट बञ्चित हुने अवस्थामा पुगेको नगर शिक्षा शाखा अधिकृत जगतबहादुर रावल बताउँछन् ।

त्यस्तै डोटीको कुनै पनि पालिकामा अहिलेसम्म एउटा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक अभावमा पुरा पाठ्यपुस्तकलाई प्रयोग गर्ने र अन्य विकल्पका रुपमा पाठ्यक्रम प्रयोग गर्न सकिने डोटीको शिखरापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख शेरबहादुर कार्की बताउँछन् ।

यी जिल्लामा जस्तै कैलाली कन्चनपुर, डडेलधुरा जिल्लाका कुनै पनि पालिकामा अहिलेसम्म पाठ्यपुस्तक उपलब्ध नहुँदा पुरानै पाठ्यपुस्तकले काम चलाउनु परेको स्थानीयको गुनासो छ ।

यस्तो हो भने, यो वर्ष परिवर्तन भए भनिएका नयाँ पाठ्यपुस्तक नै देख्न नपाइ वर्ष बित्ने शिक्षकहरू बताउँछन् । सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ तयार गरी शैक्षिक सत्र २०७७ देखि शैक्षिक सत्र २०८० सम्मा कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरी प्रक्रिया सुरु गरिसकेको छ । चालु शैक्षिक सत्रमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागु गर्नुपर्ने भए पनि समयमा नै पाठ्यपुस्तक नपुग्दा पुरानै पाठ्यक्रम अनुसारका पुरानै पाठ्यपुस्तक कार्यान्वयन गर्नु पर्ने आशंका बढ्दै गएको छ ।

पाठ्यक्रम् प्रारुप अनुसार शैक्षिक सत्र २०८० सालमा कक्षा ५, ८ र १० को पाठ्क्रम् परिवर्तन हुने छ । कक्षा ५ को शैक्षिक सत्र २०७९ सालको विभिन्न २८ वटा विद्यालयमा परीक्षणका लागि पाइने भए पनि अहिलेसम्म विद्यालयले ती पाठ्यपुस्तक देख्न पाएका छैनन् ।

जनक शिक्षा केन्द्रले कक्षा ४ देखि १२ सम्मका पाठ्यपुस्तक जेठ पाँच गतेदेखि वितरिण सुरु भइसकेको जानकारी दियो । सम्बन्धित पुस्तक बिक्रेताले केन्द्रको प्रादेशिक कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको भए पनि सुदुर पश्चिमका बिक्रि केन्द्रमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । पाठ्यपुस्तक कहिले पुग्छ भनेर केन्द्रको धारणा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Thuprai - Books and E-books