CMAT

एक विद्यालय, एक नर्स कार्यक्रम सबै विद्यालयमा पुग्ने कहिले ?

Bachelors Portal

विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेको हो । तर अहिलेसम्म २१५ विद्यालयमा मात्र नर्स पुगे । थप ३० वटा थप विद्यालयमा यो वर्ष नर्स पठाइने । 

विद्यालयमा खुल्ने समयभन्दा करिब २० मिनेट अगाडि विद्यालयमा कार्यरत स्टाफ नर्स निर्मला महर्जन विद्यालय पुग्छिन् । उनी विद्यार्थीलाई आधारभूत स्वास्थ्यका बारेमा जानकारी गराउँछिन् । हरेक दिन समय मिलाएर सबै विद्यार्थीको पालैपालो सामान्य परीक्षण गर्छिन् । विद्यार्थी तथा गुरुआमालाई स्यानिटरी प्याडको प्रयोग गर्ने तरिका सिकाउँछिन् । ‘म आउनुभन्दा अगाडि यहाँका गुरुआमाले एउटै प्याड दुई दिनसम्म प्रयोग गर्नुहुन्थ्यो ।’ उनले भनिन्, ‘लामो समय एउटै प्याड प्रयोग गर्दा एकजना गुरुआमाको पाठेघरमा दीर्घकालीन समस्यासमेत देखा परेको छ ।’

विद्यालयमा नर्स भएपछि छात्रालाई समेत महिनाबारीको समयमा विगतमा जस्तो समस्या हुन छाडेको छ । नर्सले विद्यालयका सम्पूर्ण विद्यार्थीको दैनिक स्वाथ्य परीक्षण गर्नुका साथै आवश्यकताअनुसार प्राथमिक उपचारसमेत विद्यालयमा नै गर्ने गरेका छन् ।‘विद्यार्थीको स्वास्थ्य परीक्षण, खानेपानी तथा स्वास्थ्य परामर्श दिने गरेकी छु ।’ उनले भनिन्, ‘अहिले विद्यार्थीहरू सामान्य बिरामीदेखि धेरै बिरामी हुँदा पनि परामर्श लिन आउँछन् । विद्यालमा नर्स २०७५ मंसिरदेखि कार्यरत रहेको विद्यालयका सहायक प्रधानाध्यापक देवराज महर्जनले बताए । हात धुने, खोपबारे जानकारी दिने, जंकफुडको उपयोगिता र असरका बारेमा विद्यार्थीलाई नर्सले जानकारी गराउँछिन् ।

भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयमा पनि नियमित नर्स विद्यालय आउन थालेको एक वर्ष भयो । नर्ससंग सहकार्य गरी विद्यालयले शिक्षक विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेको छ । गत जेष्ठको अन्त्यतिर सुनसरीको धरान हुँदै राजधानी भित्रिएको डेंगुबाट आफ्ना विद्यार्थीलाई जागाउने नर्सले उल्लेखनीय भूमिका निर्वाह गरेको शिक्षक ज्ञानसागर प्रजापतिले बताए । ‘विद्यालय तथा स्थानीय जनसमुदायको स्वास्थ्यलाई ख्यालमा राखी टोलटोलमा जनचेतना मूलक कार्यक्रम गर्ने गरेका छौं ।’ उनले भने, ‘कमलविनायक र च्यामासिंह चोकमा डेंगु लाग्ने तरिका, लक्षण तथा रोकथामका उपायका बारेमा सन्देशमूलक कार्यक्रम आयोजना गर्यौं ।’ 

तत्कालीन स्वास्थ्य मन्त्रालय, निजी तथा आवासीय विद्यालय संगठन र नेपाल निजी तथा आवासीय विद्यालय संगठनको सहमतिमा २०७३ सालमा प्रत्येक विद्यालयमा नर्स राख्ने सैद्धान्तिक सहमति भएको थियो । विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेको हो ।

त्यसको केही समयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा बिचैमा विद्यालय छाड्ने दरमा कमी ल्याउने उद्देश्यले लागु गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अहिलेसम्म प्रदेश १ र ३ मा मात्र लागु भएको छ । प्रदेश १ का ५४ वटा र प्रदेश ३ का १२१ वटा विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम लागू भएको छ । भने थप ३० वटा थप विद्यालयमा यो वर्ष नर्स पठाइने मन्त्रालयले तयारी गरिरहेको छ । तीन वर्षअघि नै एक वर्षभित्रमा कार्यक्रम लागु गरिने भनिएको भए पनि ३४ हजार ८१० विद्यालयमा यो कार्यक्रम अझै पुग्न सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभर ३५ हजार ५५ वटा विद्यालय छन् ।

पछिल्लो तथ्यांकअनुसार ८३ लाख ४९ हजार ६५१ जना विद्यार्थी विद्यालय तहमा अध्ययनरत छन् । हाल प्राथमिक तहमा स्टाफ नर्स र प्लस टु तहसम्म बीएन (स्नातक उत्तीर्ण) काममा लगाइएको नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोख्रेलले बताइन् । सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि ७ वटै प्रदेशलाई झन्डै डेढ अर्बका दरले बजेट विनियोजन गरेको छ । विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७६ बनिसकेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले कार्यविधि तयार गरेको कार्यविधि सरकारबाट पारित हुन बोँकी रहेको महाशाखा प्रमुख रोशनी तुइतुईले बताइन् । 

सरकारले प्रदेश नम्बर २, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यक्रम सञ्चालनका लागि मापदण्ड बनाउने भएको छ । शसर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रमका लागि विद्यालय छनौट, बजेट खर्चको विषयमा मापदण्ड बनाउने काम भइरहेको छ । विद्यालयमा बालबालिकाको शिक्षाका साथ साथै स्वास्थ्यका लागि पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै उनीहरुको स्वास्थ्य अवस्थाको पनि अभिलेख राख्ने महाशाखा प्रमुख  तुइतुईले जानकारी दिइन् । 

Thuprai - Books and E-books
I Tech store