After SEE Portal

एसईई परीक्षार्थीले अब के गर्ने ? शिक्षाकर्मीकाे सुझाव

Bridge Course

 

एसईई परीक्षा स्थगित भएकोमा खुसी हुनुस् । हुन त खुसी हुन खास कारण चाहिन्छ, केही उपलब्धिमूलक कुरा हुनुपर्छ । धेरै अङ्क ल्याएर उत्तीर्ण हुन पाए पो खुसी हुनु । परीक्षा स्थगित भएर खुसी हुने कुरा मिलेन कि भन्ने लाग्ला तर साच्चिकै खुसी हुनुपर्ने समय हो । खुसी हुनुपर्ने केही कारणहरु निम्न छन् :

१) हेल्थ डेस्क राखेर, कोरोनाको डर र त्रासमा तनावका बीचमा परीक्षा दिनुपर्ने छैन ।

२) तयारी गर्न समय थपिएको छ । अब यो समयलाई एउटा निश्चित तालिका बनाइ थप तयारीमा लगाउनुस् ।

३) तपाईँका भाई बहिनीहरुको पनि विद्यालय विदा भएको छ, उनीहरुसँग पनि केही समय विताउनुस् ।

४) पढाइमा मात्र ध्यान लगाउँदा कक्षा ११ मा के विषय पढ्ने भन्ने सोच्न भ्याउनु भएको छैन भने अब केही समय त्यसका लागि छुट्टाउनुस ।

५) कक्षा ११ मा पहिलेजस्तो विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा जस्ता संकाय छैनन, तपाईँले आफ्नो रुचिका विषयहरु विभिन्न समूहबाट पढ्न पाउनुहुन्छ त्यसका लागि पनि तयारी गर्नुस् ।

६) तपाईलाई सबैभन्दा कठिन लाग्ने विषयमा जोड दिनुस् । यसका लागि शिक्षक वा साथीहरुसँग छलफल गर्नुस् । परीक्षा त कक्षा १ (कतिपयले नर्सरी) देखि नै दिएकै हो । वर्षमा तीन वटाका दरले झण्डै ३० परीक्षा दिइसकेको हुँदा यसलाई सामान्यरुपमा लिनु नै वेस हुन्छ ।

७) कक्षा ११ मा विज्ञान विषय पढ्नका लागि गणित र विज्ञानमा सी प्लस ल्याउनुपर्छ । सी प्लस भनेको अङ्कमा ५० भन्दा बढी नम्बर हो, त्यसका लागि तयारी गर्नुस् ।

८) भविष्यमा तपाई सरकारी जागिर खाने सोचमा हुनुहुन्छ भने (हुन त अझै त्यसको निर्धारण नभएको हुन सक्छ) वा कुनै बेला तपाईलाई सरकारी जागिरका लागि लोकसेवा आयोगको परीक्षा दिने हुनुभयो भने एसइइमा जिपिए २ आएन भने परीक्षा दिन पाइदैन भन्ने थाहा पाइराख्नुस् ।

९) जुनसुकै विषय पढे पनि र जुनसुकै पेसामा गए पनि तपाईँको भाषिक सिप राम्रो हुनु आवश्यक हुन्छ, त्यसैले भाषिक सिप विकासमा जोड दिनुस् । सामुदायिक विद्यालयमा नेपाली माध्यमबाट पढ्नु भएको छ भने अङ्ग्रेजीमा जोड दिनुस र निजी विद्यालयमा भए नेपालीमा जोड दिनुस ।

१०) परीक्षा स्थगित भए भनेर पढाइलाई नछोड्नुस, परीक्षा हुन्छ । कोरोनाको महामारीले ठूलो अप्ठ्यारो सिजर्ना भएन भने वैशाखमा होला नभए जेठमा होला तर परीक्षा त हुन्छ । त्यसैले तयारी गर्न नछोडनुस ।

११) सामाजिक अध्ययनको ज्ञानका लागि रेडियो, टेलिभिजनका समाचारका विषयहरु सहयोग हुन सक्छन् ।

१२) सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) चलाउने गर्नुभएको छ भने त्यसलाई कुनै खास निश्चित समय छुट्टाउनुस् । फेसबुकमा साथीहरुको समूह बनाउनुस र पढाइको छलफल गर्नुस ।

१३) युटुबमा पनि गणित विज्ञानका धेरै जटिल विषयहरु सिकाउने भिडियोहरु पाइन्छ, हेर्नुस् । NCED Virtual Subscribe गरेर हेर्न सक्नुहुन्छ । ती भिडियोहरुलाई सेभ गर्न सक्नुहुन्छ । स्कुल अथवा अन्य इन्टरनेटको पहुँच वा मोबाइलमा रातीमा मात्र डाटा चलाउने एनसेल, एनटिसीका सस्ता प्याकेजहरु खरिद गरेर त्यस्ता भिडियोहरु डाउनलोड गर्ने अथवा अफलाइन सेभ गरेर राख्न सकिन्छ ।

१४) परीक्षा स्थगित भइहाल्यो भनेर तपाईले पढाइ स्थगित नगर्नुस् । समय तालिका बनाउनुस् । धेरै तनाव पनि नलिनुस् । ग्रामीण परिवेशमा भएकाहरूलाई घर वा मेलापातका काम पनि गर्नुपर्ला त्यसो भए पनि तपाईले घरमा बुझाउनुस परीक्षा तयारी गर्नुपर्छ भन्ने कुरा । तपाईलाई जटिल लाग्ने विषयको अतिरिक्त कक्षा लिने पनि एउटा विकल्प हुन सक्छ ।

१५) विज्ञान विषय पढ्ने सोच बनाइरहनुभएका तथा ठूला नाम कहलिएका निजी विद्यालयमा कक्षा ११ पढ्ने सोच बनाउनु भएको छ भने केही दाई, दीदीहरूसँग सम्पर्क गर्नुस् । खासगरी कक्षा १० सम्म पढेकै विषयहरु नै प्रवेश परीक्षामा सोध्ने गरिन्छ ।

१६) संभव छ भने विद्यालयमा तपाईले दिएका त्रैमासिक परीक्षाका उत्तरपुस्तिकाहरु हेर्नुस । कस्ता प्रश्नमा कस्तो गल्ती गर्नुभएको छ । के लेख्नुपर्नेमा के लेखिएछ समीक्षा गर्नुस् ।

१७) विगतका अभ्यास हेर्दा धेरै प्रश्न त पुराना प्रश्नहरूबाट नै दोहोरिने हुनाले ती प्रश्नको अभ्यास गर्नुस् । समय तालिकाअनुसार ।

१८) पाठ्यपुस्तक र अभ्यासहरु पुनरावृत्ति गर्नुस् ।

यो अवसर हो भन्ने बुझ्नुस्, परीक्षासँग जुध्न तयार बन्नुस् । परीक्षाको तनाव नलिनुस् । तर तयारी नछोड्नुस । तर पुरै समय तयारीमै मात्र विताउनु पनि नपर्ला । जति तयारी गर्नुभएको थियो कम हुन नदिनुस र जति सक्नुहुन्छ थप्दै जानुस । सँगै १।२ घण्टा अन्य क्रियाकलापका लागि छुट्टाउनुस् । मनोरञ्जन गर्नुस । घरका काममा एकैछिन सहभागी हुनुस् । पढाइमा मन नलाग्दा अरु काम गर्नुस, अरु काम गर्न मन नलाग्दा पढ्नुस् ।

अवसरको सदुपयोग गर्नुस । धन्यबाद । शुभकामना ।

(लेखक शिक्षाकर्मी हुन्)

A Levels MA
Thuprai - Books and E-books