After SEE Portal

भोको पेटले बालबालिकालाई के सिकाउने ?

Bridge Course

स्थानीय सरकारले व्यवस्थापन गरेका शिक्षकलाई अनुदान रोकियो । निजी स्रोतका छ जना शिक्षकले चालु शैक्षिक सत्रदेखि पारिश्रमिक पाएका छैनन् । भोको पेटले ससाना बालबालिकालाई के सिकाउने आफू कसरी बाँच्ने ? चिन्ताले छ जनै शिक्षकलाई सताएको छ । दसैंमा त प्रधानाध्यापकले आफ्नो पेट मरेर दिएको खर्चले गर्जो टारेका शिक्षक अब कक्षाकोठामा छिरेनन् भने कक्षा कसरी चलाउने भन्ने चिन्ताले शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापकलाई सताउन थालेको छ ।

एकातिर सरकार माध्यमिक तहसम्म निशुल्क भनेर घोषणा गर्छ । सो घोषणा अनुरुप विद्यालयले शुल्क लिन पाउँदैन । अर्कोतर्फ विद्याँलयमा शिक्षक दरबन्दी व्यवस्थापन गर्न नसक्दा विद्यालयमा ताला लगाउनु पर्ने अवस्था सिर्जना भएको विद्यालयको गुनासो छ ।

कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी र एकजना राहत कोटाक शिक्षक छन् । अन्य छजना शिक्षक निजी स्रोतबाट तलब ब्यहोर्ने गरी राखिएको छ ।

निजी स्रोतका शिक्षक व्यवस्थापन गर्न सक्ने अवस्था विद्यालयको छैन । अभिभावकको आर्थिक अबस्था कमजोर छ । नत अभिभावक नत विद्यालयले नै निजी स्रोतका शिक्ष्ँकको तलब व्यवस्थापन गर्न सक्दैन ।

नगरपालिकाबाट विद्यालयलाई दिइदै आएको अनुदान रोकिएको छ । निजी स्रोतका शिक्षकले चालु शैक्षिक सत्रमा तलब थाप्न पाएका छैनन् ।

शिक्षकले तलब नै थाप्न नपाएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नै तलबबाट केही रकम शिक्षकलाई दसैँ खर्चका लागि दिइन् ।“विद्यालयमा भौतिक पूर्वाधारको अभाव छैन”, विद्यालयका प्रधानाध्यापक धर्मा ऐर (भण्डारी)ले भनिन्, “ कक्षा अनुसारका शिक्षकको अभाव हुँदा पठनपाठनको सुचारु गराउन निकै समस्या भएको छ ।”

विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुन्छ । विद्यालयमा १६२ विद्यार्थी रहेका छन् ।

विद्यालयमा पठनपाठन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी दलित समुदायको रहेको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए ।

“विगतका वर्षमा नगरपालिकाले रु पाँच लाख अनुदान रकम उपलब्ध गराउँथ्यो”, उनले भने। “यस वर्ष अनुदान रकम आएको छैन, वडा कार्यालयले रु दुई लाख रकम विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भने पनि अहिलेसम्म पाएका छैनौँ ।”

उनका अनुसार विद्यार्थीको सरसफाइबारे कक्षा सुरु हुनुअघि लाइनमै नङ काटेनकाटेको, पोसाक लगाएको नलगाएको, सरसफाइबारे हेर्ने गरिन्छ । शारीरिक अभ्यासको कार्यसँगै प्रतिभा निखार्नका लागि विद्यार्थीलाई स्वःस्फूर्त रुपमा कविता, कथा, निबन्ध, गीत वाचन गर्ने कार्य दैनिक गरिँदै आएको शिक्षक कुवँरको भनाइ छ ।

विद्यालयको आन्तरिक आयस्रोत नहुँदा थप शिक्षकको आवश्यकता भए पनि राख्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्ना लुहारले बताइन् । “विषयगत शिक्षक मात्रै सातजना चाहिन्छ”, उनले भनिन्, “सम्बन्धित निकायमा व्यवस्था गरिदिन आग्रह गर्दा बेवास्ता हुँदै आएको छ, विद्यालयमा कार्यरत शिक्षकले सातवटा कक्षा अनिर्वाय रुपमा पढाउँदै आएका छन्, कार्यालयको कार्य विद्यालय समयपछि गरिने गरिएको छ ।”

जनप्रतिनिधिले अहिलेसम्म विद्यालयको अनुगमनसमेत नगरेको उनको गुनासो छ । विद्यालयमा सूचना प्रविधिको हालसम्म व्यवस्था हुन सकेको छैन ।

कम्प्युटर, इन्टरनेट नहुँदा विद्यार्थीलाई त्यसबारे व्यावहारिक ज्ञान दिन नसकिएको विद्यालयका शिक्षकहरुको भनाइ रहेको छ ।

जनप्रतिनिधिले आफ्ना शिक्षक राख्नलाई बर्सैंदेखि शिक्षण गर्दै आएका शिक्षकलाई विस्थापन गर्न विद्यालयमा अनुदान रोकेको अभिभावकको आरोप छ ।

“गुणस्तरीय शिक्षाको नारा दिएर चुनाव जितेका जनप्रतिनिधिले नगर शिक्षक राख्ने बहानामा विद्यालयमा वर्षौंदेखि पठनपाठनको काम गर्दै आएका शिक्षकलाई विस्थापन गराउन तलब रोक्ने निर्णय कतिको ठिक हो”, एक अभिभावक भन्छन्।

A Levels MA
Thuprai - Books and E-books