हामी सबै झोले हौं ।

आदरणीय गुरुवर्ग तपाईले शिक्षक, संघ/सङ्गठन, महासङ्घलाई मात्र झोले नभन्नुहोस्, तपाईं हामी सबै झोले हौं । यो झोलेले चलाएको देश हो।

आदरणीय गुरुवर्ग, तपाईलाई शिक्षक संघ/सङ्गठन, महासङ्घलाई मात्र झोले भन्ने अधिकार छैन ! तपाई हामी सबै तिनै शिक्षक संघ/सङ्गठन, महासङ्घका झोले हौ अनि उनीचाही नेता/मन्त्रीका झोले यो झोलेले चलाएको देश हो ! 

२०८० असोज ३ गतेदेखि ५ गतेसम्म देशभरका शिक्षकहरुले आफ्नो आत्मसम्मान, आत्मगौरव, पेशागत वृति विकास र नयाँ पुस्तालाई शिक्षा क्षेत्रमा ल्याउन काठमाडौ केन्द्रित आन्दोलन गरे। विद्यालय ठप्पै पारेर लाखौको संख्यामा  प्राज्ञिक वर्गले गरेको यो आन्दोलन संभवत नेपालको इतिहास मै पहिलो हो। राजनीतिक पार्टीको पेशागत सङ्घ/सङ्गठन मात्रै नभइ आम स्वतन्त्र शिक्षक स्वतस्फूर्त रुपमा सामेल भएका थिए।

विद्यार्थी, विभिन्न राजनीतिक दल, विभिन्न पेशाकर्मीले आन्दोलनमा ऐक्यबद्धता जनाए। कतिपय स्थानीय तह मौन रहे, कतिपयले ऐक्यबद्धता जनाए भने कतिपय स्थानीय तह प्रमुखहरुले खुलेरै आन्दोलनको बिरोध जनाए।

असोज ५ गते ६ बुदे सम्झौता गरियो। तर बहुसंख्यक शिक्षकहरु माग पूरा नभएको भनी निराश भएर घर फर्किए। राहत, बालबिकास तथा पेन्सन बन्चितले आन्दोलनलाई जारी राखेका छन् । यसरी आफ्ना सहयात्री आन्दोलनकर्मीलाई बीचमै छाडेर माग पूरा भयो भनेर बिज्ञप्ति जारी गर्नु सबै शिक्षक संगठनको छाता संगठनको नाताले "नेपाल शिक्षक महासङ्घ" अभिभावकीय भूमिका निर्वाह नगरेको, अपरिपक्व र केटौलीपन देखाएको प्रष्ट हुन्छ।

६ बुदे सहमति पत्र भनिएकोमा विभिन्न दलका ६ वटा पेशागत संघ/सङ्गठनहरु, संस्थागत विद्यालय युनियन, विद्यालय कर्मचारी परिषद, शिक्षण सिकाइ अनुदान शिक्षक, छुट/अस्थायी करार शिक्षक, पेन्सन बन्चित शिक्षक समाज-२०७५ लगायको हस्ताक्षर छ। र, सबै शिक्षक सङ्घ/सङ्गठनको साझा "नेपाल शिक्षक महासङ्घ" को हस्ताक्षर छ। शिक्षकहरु शिक्षक संघ/सङ्गठन, महासङ्घको झोले भए, शिक्षक सङ्घ/सङ्गठनहरु नेताका झोले भए। यो झोलेको संसार रहेछ।

अब फेसबूकमा कुर्लनुको अर्थ छैन गुरुवर्ग, आफैले लेबी तिरेको सङ्घ/सङ्गठनको हस्ताक्षर गर्ने अध्यक्षलाई सोध्नु किन माग पूरा भएन भनेर र यो पनि हिम्मत गर्नु कि अब देखि लेबी तिर्दैन र यो म सङ्घ/सङ्गठनमा रहिन भनेर राजीनामा दिनुस ! यति गर्ने साहस छैन भने नेतालाई मात्र झोले नभन्नुस, तपाईं पनि महा झोले हो !

त्यसै गरि पेन्सन बन्चितहरुले पेन्सन बन्चित शिक्षक समाज २०७५ को हस्ताक्षर गर्ने सुदिप प्रसाद जोशीलाई सोध्नु र यो पनि सोध्नु तिमी किन बिक्यौ भनेर ! शिक्षण सिकाइ अनुदान शिक्षकका माग पूरा नभएमा शिक्षण सिकाइ अनुदान शिक्षकका हस्ताक्षर हर्ने महासचिव सन्जय तिमल्सिनालाई सोध्नु !

छुट/अस्थायी करार शिक्षकले छुट/अस्थायी करार शिक्षकका हस्ताक्षर गर्ने अध्यक्ष अनिता थापालाई सोध्नु विद्यालय कर्मचारीले विद्यालय कर्मचारी परिषदका अध्यक्ष गङ्गाराम तिवारीलाई सोध्नु

नोट: आफैले विश्वास गरेका तपाइका अध्यक्षहरुले हस्ताक्षर गरेको हुनाले अब बाहिर कराउनुको कुनै अर्थ छैन।

शिक्षाविद बिद्यानाथ कोइरालाले भनेजस्तै "नेपाल शिक्षक महासङ्घ" शिक्षकको सङ्गठन होइन दलको सङ्गठन हो। अब यो दलको सङ्गठनले घुडा टेकिसक्यो त्यसैले मेरो सङ्घ/सङ्गठन,  तेरो सङ्घ/संगठन भनेर कुनै शिक्षक कुर्लनु बेकार हो ! अब आफ्नो सङ्घ/सङ्गठन परित्याग गरेर शिक्षक मात्र भएको घोषणा गर्नुहोस् र स्वतन्त्र शिक्षक बन्नुहोस ! स्वतन्त्र शिक्षक सङ्गठनमा सामेल हुनुहोस् ! सक्नुहुन्छ ? यति आट गर्न सक्नुहुन्छ ? छ हैसियत ? यदि यो आट गर्न सकिँदैन भने तपाईं हामी सबै तिनै सङ्घ/सङ्गठनका झोले हौ अनि सङ्घ/सङ्गठन र महासङ्घ चाहिँ नेता/मन्त्रीका झोले हुन। उनीहरुलाई मात्र झोले भन्ने अधिकार हामीलाई कदापि छैन ! हामी शिक्षक पनि तिनैका झोले हौ !

अचम्म लाग्छ, "नेपाल शिक्षक महासङ्घ"ले माग पूरा भएको भनेर विद्यालय खोल्ने अनि दुई दिन नभएको पढाइ बिदामा पूरा गर्ने भनेर भनेर विज्ञप्ति निकालेछ ! त्यो २ दिनको पढाइ गर्नुपर्छ  भन्ने हैसियत महासंघ तिमिसंघ छैन। हेक्का राख्नू, आन्दोलनमा तिमीले भनेको महासङ्घ अनि दलका पेशागत संघ/सङ्गठनका शिक्षक मात्र आएका थिएनन् , आम स्वतन्त्र शिक्षक स्वतस्फूर्त रुपमा आएका थिए ।

स्मरण रहोस् म २०७४ को स्थायी पेन्सन पाउनेबाला हु। मेरो स्वार्थको कुरो होइन, आन्दोलनमा जति उल्लासका साथ लाखौ शिक्षक जानुभो तर ६ बुदे आइसकेपछी उहाँहरु मलिन अनुहार बनाई फर्किनु भो ! व्यापक असन्तुष्टि छ ! त्यसैले म पनि यो उधारो, अस्पष्ट, वस्तुगत नभएको ६ बुदेप्रति दिलैदेखि सन्तुष्ट छैन। नयाँ पुस्तालाई शिक्षण पेशामा उत्प्रेरित गर्छ कि भन्ने आशा थियो ! यो ६ बुदेले न त नयाँ पुस्तालाई शिक्षणमा आउन उत्प्रेरित गर्यो न त जागिरेलाई !

अबको बाटो...

विभिन्न राजनीतिक दल सङ्ग सम्बन्धित शिक्षक हकहितको लागि भनी खोलिएका सङ्घ/संगठनमा बस्नुको अर्थ छैन। आम श्रमजीवी वर्गको शिक्षकको बारेमा यस्ता संघ/सङ्गठनले माखो मार्नेछैनन् ।

सबै शिक्षक सङ्घ/सङ्गठनको छाता संगठन भनिएको "नेपाल शिक्षक महासङ्घ" विघटन गर्नुपर्छ र दल बिहिन सबै शिक्षकलाई समेट्ने स्वतन्त्र शिक्षक युनियन बनाउनुपर्छ। किनकि महासङ्घ नामको जिनिसले सबैलाई समेट्न सकेन। आम शिक्षकका बीच जुट होइन फुट ल्यायो।

यो शिक्षक आन्दोलन नेपालको इतिहासकै एक ऐतिहासिक थियो, तर हुनुपर्ने खुशी शिक्षकमा आउन सकेन, शिक्षक खुशी नहुदा विद्यार्थी र समाज पनि खुशी हुन सक्तैनन् । अब फेरि माग पूरा होलान् भनेर आश गर्ने ठाउँ त कमै छ तर पनि समाज गतिशील भएको हुनाले अब आउने दिनमा अहिलेका शिक्षकले  संघ/संगठनलाई घोडा टेकाउन सके भने र साचो अर्थमा दलको नभइ, स्वतन्त्र शिक्षकको सङ्गठनको जन्म हुन सकेमा केही हुन्छ कि आशा गरौ! शिक्षण पेशालाई मर्यादित, सम्मानित बनाउने दायित्व तपाई हामी सबैमा छ!  मलिन अनुहारलाई उज्यालो बनाउने आट चाहिँ गरौ। दिल खुश नभए पछि, मलिन अनुहार जबर्जस्त उज्यालो बनाउन त फलामका चिउरा चपाए जस्तै हो! तर पनि होस्टेमा हैसे गरौ!

शिक्षक सुनिल थापा महाकवि देवकोटा नमूना माध्यमिक विद्यालय सुनवल-४, नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का माध्यमिक तहका शिक्षक हुनुहुन्छ ।