परियोजना कार्यमा विद्यार्थी सहभागिता बढाउने तरिका

"परियोजना कार्यमा विद्यार्थी सहाभागिता बढाउने तरिका" शीर्षकमा चन्द्रकला दवाडीद्वारा प्रस्तुत कार्यमूलक अनुसन्धान प्रतिवेदन २०८२ सालमा तयार गरिएको हो। उहाँ माध्यमिक शिक्षक (तृतीय श्रेणी)का रूपमा कार्यरत हुनुहुन्छ र शिक्षक सङ्केत नं १४८९१३ रहेको छ। यस प्रतिवेदनमार्फत परियोजना कार्यमा विद्यार्थीको सक्रियता र सहभागिता कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक अनुसन्धान गरिएको छ।

(पूरा प्रतिवेदन तल प्रस्तुत गरिनेछ।)

कक्षा: १०

विषय: विज्ञान तथा प्रविधि                                

विद्यार्थी सङ्ख्या: ५७                                       

अनुसन्धानकर्ता  शिक्षक: चन्द्रकला दवाडी

समय अवधि: सात दिन (२०८१ जेठ दोश्रो र तेश्रो हप्ता)

शीर्षक: परियोजना कार्यमा विद्यार्थी सहाभागिता बढाउने तरिका

१. परिचय

म विज्ञान तथा प्रविधि विषयको विषय शिक्षक हुँ। म शिक्षण पेसामा आबद्ध भएको पनि २० वर्ष पूरा भैसकेको छ । हाल म धनगढी ७, कैलालीमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा माध्यमिक तहमा शिक्षण गर्दै आइरहेकी छु ।यो एउटा यस्तो विद्यालय हो, जहाँ मिश्रित सिकाइ क्षमता भएका विद्यार्थी छन्।

परियोजना कार्यले विद्यार्थीको सोच, सिर्जनशीलता र प्रयोगात्मक सीप अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । तर विद्यालयस्तरमा यसप्रकारको कार्यमा विद्यार्थीकै सहभागिता न्यून पाइन्छ। त्यसैले यो कार्यमूलक अनुसन्धान" विज्ञान तथा प्रविधि विषयमा परियोजना कार्यमा विद्यार्थीको सहभागिता कसरी बढाउन सकिन्छ" भन्ने विषयमा केन्द्रित भई गरिएको हो। परियोजना कार्यको माध्यमबाट विद्यार्थीलाई सक्रिय बनाउँदै सिकाइको प्रभावकारिता बढाउने उद्देश्यले यो अनुसन्धान गरिएको छ। यो अनुसन्धान प्रतिविम्बात्मक शैली ,चक्रिय ढाँचा तथा  मिश्रित विधिबाट गरिएको छ ।

२. भूमिका

नेपालका विद्यालयहरूमा आन्तरिक मूल्याङ्कनलाई औपचारिकताको रूपमा मात्र हेर्ने प्रवृत्ति देखिन्छ।"जसरी पनि अङ्क आइहाल्छ भन्ने मान्यता", प्रभावकारी मूल्याङ्कनको अभाव र शिक्षक स्वयं मूल्याङ्कनका आधार र सीपमा अनविज्ञ भएकाले विद्यार्थीहरूको सहभागिता एकदम न्यून देखिन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार परियोजना कार्यको उद्देश्य विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी, व्यवहारिक र जीवनोपयोगी सीप, समस्या समाधान क्षमता, अनुसन्धान सीप ,आत्मअभिव्यक्ति क्षमता, सहकार्य गर्ने क्षमता तथा सिर्जनशील क्षमता हासिल गराउनु हो। परियोजना कार्यले विद्यार्थीलाई सिकाइमा सक्रिय रूपमा संलग्न गराउँदै सिकेको कुरा वास्तविक जीवनमा प्रयोग गर्न सक्ने बनाउँछ।साथै आलोचनात्मक सोचको विकास, अनुसन्धान र प्रस्तुतीकरण गर्ने सीपको अभ्यास समेत गराउँछ।

३. समस्याको पहिचान

परियोजना कार्यको स्पष्ट रुपरेखा र उद्देश्य थाहा नहुनाले विद्यार्थीहरू परियोजना कार्य जस्ता सशक्त सिकाइ क्रियाकलापमा कम सक्रिय देखिन्छन्। विद्यार्थीहरू परियोजना कार्यमा पर्याप्त संलग्न नभएको, शिक्षक मूल्याङ्कनमा प्रभावकारी नदेखिएको, मूल्याङ्कन पारदर्शी नभएको र सिकाइ प्रक्रियामा विद्यार्थीहरू कम सक्रिय हुनुले यो एक समस्या भएको र यस विषयमा अनुसन्धान गर्नुपर्ने महसुस गरियो।

४. समस्याका सम्भावित कारण

  • विद्यार्थीहरूमा परियोजना कार्यप्रति स्पष्ट जानकारीको अभाव
  • शिक्षकहरूमा प्रभावकारी मूल्याङ्कन सीपको कमी
  • प्रोत्साहनको अभाव
  • मूल्याङ्कनलाई मात्र अङ्क प्रदान गर्ने प्रक्रिया भन्ने मानसिकता
  • स्पष्ट मापदण्डप्रति शिक्षक, विद्यार्थीको अनविज्ञता
  • समूह कार्य तथा प्रस्तुतीकरणको कमी
  • शिक्षकमा इच्छाशक्तिको कमी

५. समाधानका सम्भावित उपाय

  • परियोजना कार्यका स्पष्ट रूपरेखा र उद्देश्य विद्यार्थीलाई बुझाउने
  • शिक्षकहरूलाई परियोजना मूल्याङ्कनसम्बन्धी तालिम प्रदान गर्ने
  • विद्यार्थीलाई सामूहिक तथा व्यावहारिक सिकाइमा जोड दिने
  • परियोजनामा विद्यार्थीहरूकै नाम राखी उत्तरदायित्वको भावना विकास गराउने
  • रुब्रिक्स प्रणाली विकास गरी पारदर्शी मूल्यांकन गर्ने
  • स्वमूल्याङ्कन र सहमूल्याङ्कनको अभ्यास गराउने

६.समस्या समाधानका चरणबद्ध रणनीतिक प्रयास

कार्यमूलक अनुसन्धानमा अनुसन्धानकर्ता वा शिक्षकले कुनै शिक्षण गतिविधि वा समस्या समाधान गर्ने कार्यको योजना बनाउने, योजनाअनुसारको वास्तविक क्रियाकलाप सञ्चालन गर्ने, विद्यार्थीको व्यवहार, प्रतिक्रिया, सिकाइको स्तर आदि अवलोकन गर्ने र सिकाइ कति सफल भयो, कति असफल भयो, सुधार गर्नुपर्ने पक्ष के-के छन् जस्ता कुराको विश्लेषण गर्ने कार्य गरिन्छ। यो चक्र प्रतिविम्बनमा आधारित सिकाइ प्रक्रिया हो जसले सिकाइ अनुभवलाई क्रमिक रूपमा विश्लेषण गर्न र पुन: सुधारको लागि योजना बनाउन सहयोग पुर्‍याउँछ। यो चक्रिय प्रक्रिया हो ।

चक्र: योजना → कार्यान्वयन → निरीक्षण → प्रतिविम्बन → सुधार → पुनः कार्यान्वयन

 पहिलो चरण:

 ६.१. योजना

  • स्थानीय स्तरमा पाइने वस्तु प्रयोग गरी कोष विभाजन र डिएनए मोडेल निर्माण गर्न लगाउने।
  • आवश्यक सामग्रीको सूची तयार गर्ने।
  • प्रत्येक समूहमा ५–६ जनाको दरले विद्यार्थीको समूह बनाउने ।
  • मूल्याङ्कन मापदण्ड (रुब्रिक्स) तयार गर्ने।

६.२. क्रियान्वयन

  • विद्यार्थीहरूलाई सामग्री सङ्कलन गर्ने जिम्मेवारी दिइयो।
  • विद्यालयमै कोष विभाजन र डी.एन.ए.को मोडेल बनाउन सहयोग गरियो।
  • प्रत्येक विद्यार्थीलाई आफूले बनाएका मोडेलमा आफ्नो नामसहित राख्न लगाइयो।
  • प्रत्येक विद्यार्थीले बनाएका नाम सहितका सामाग्रीलाई सन्दर्भ सामग्रीको रूपमा भण्डारण गरेर राखियो।

६.३. अवलोकन

विद्यार्थी सहभागिता तालिका:

दिन

सहभागी विद्यार्थी

कार्य सम्पन्न गर्ने विद्यार्थी 

कार्य विवरण

पहिलो

४५

३०

सामग्री सङ्कलन सुरु गरे  

दोश्रो

५०

४०

समूह निर्माण पूरा गरे

तेश्रो

५५

५०

मोडेल बनाउने कार्यको थालनी गरे

चौथो

५७

५७

मोडेल तयार गरे

६.४. प्रतिविम्बन

मूल्याङ्कनका लागि स्पष्ट मापदण्ड सहितको रुब्रिक्स उपयोग गर्दा स्पष्टता आयो। धेरै विद्यार्थीले स्वमूल्याङ्कन गरे।आफ्नो मूल्याङ्कन आफैँ गरी अङ्क समेत निर्धारण गर्न पाउँदा उनीहरू दङ्ग देखिन्थे।

दोश्रो चरण:

पहिलो चरणमा सबै विद्यार्थीले मोडेल तयार पारे तर स्वमूल्याङ्कनमा केही अस्पष्टता देखियो ।त्यस्तै प्रस्तुतीकरण सीप र समययको अभाव देखिएकोले केही सुधारको आवश्यकता महसुस भयो र फेरी दोश्रो चरण दोहोर्याइयो ।

७.१. संशोधित योजना

  • थप दुइ दिन स्वमूल्याङ्कन र प्रस्तुतीकरणका लागि छुट्याइयो ।
  • उत्कृष्ट मोडेलहरू नामसहित भण्डारण गरी राख्ने निर्णय गरियो ।

७.२. दोहोरिएको क्रियान्वयन

  • विद्यार्थीहरूले आफूले बनाएको मोडेल कक्षामा प्रस्तुत गरे।
  • शिक्षक र विद्यार्थी स्वयंले आफ्नो मूल्याङ्कन गरे।

७.३.तथ्याङ्कीय विश्लेषण

क्र.सं.

मूल्याङ्कनका आधार

औसत अङ्क (५ मा )

१.

सामग्री उपयोग

४.५

२.

सामग्री डिजाइन र स्पष्टता

४.२

३.

वैज्ञानिक व्याख्या

३.९

४.

प्रस्तुतीकरण क्षमता

७.४. गुणात्मक प्रतिक्रिया:

स्थानीय स्तरका सामग्री आफैँ सङ्कलन गरी आफै समूह बनाएर मोडेल बनाउन पाउँदा विद्यार्थीहरू खुसी हुनु स्वाभाविक थियो । त्यसमा पनि उनीहरूले बनाएको सामग्री सन्दर्भ सामग्रीको रूपमा शिक्षकले अन्य कक्षामा समेत शिक्षणको क्रममा प्रयोग गरेको देखेर झन् उत्साहित थिए। आफैँले निर्माण गरेको सामग्री भएकोले आफैँ सामानको सुरक्षा र हिफाजत गरी भण्डारण गरेका थिए ।उनीहरूको प्रतिक्रिया यस्तो थियो,हामीले बनाएको सामग्रीबाटै सिक्न पाउँदा रमाइलो लाग्यो।"  म आफू(शिक्षक)लाई पनि सामग्री भण्डार हेर्दा गर्व लाग्छ।"

८. प्राप्ति र निष्कर्ष

 परियोजना कार्यले विद्यार्थीहरूलाई सिकाइमा सक्रिय बनायो, उनीहरूमा आत्मगौरव र उत्तरदायित्वको भावना विकास गरायो। मूल्याङ्कन पनि शिक्षक-केन्द्रित नभई विद्यार्थी सहभागी बन्न थालेको महसुस गरियो ।

९. सुझाव

  • आन्तरिक मूल्याङ्कनमा परियोजना कार्य समावेश गरिनुपर्छ।
  • स्वमूल्याङ्कन अभ्यासलाई नियमित बनाइनुपर्छ।
  • शिक्षकलाई आन्तरिक मूल्याङ्कनसम्बन्धी तालिम दिनुपर्छ।

१०. सन्दर्भसूची

  • अधिकारी गणेशराज, गौतम वासुदेव र ढुङ्गेल वासुदेव (२०७५)अनुसन्धान विधि, काठमाडौःभुँडीपुराण प्रकाशन।
  • दाहाल दुर्गाप्रसाद र निरौला कृष्णप्रसाद (२०७५)अनुसन्धान विधि, काठमाडौःएम.के पब्लिसर्स एण्ड डिस्ट्रीब्युटर्स ।
  • भट्टराइ रामप्रसाद(२०७५)भाषिक अनुसन्धान विधि, काठमाडौः शुभकामना प्रकाशन प्रा.लि।

११. परिशिष्ट

यहाँ विद्यार्थीहरूले स्थानीय वस्तु (कागज, गम, छुरा, पिठो) प्रयोग गरी बनाएका कोष विभाजन तथा डी.इन.ए. मोडेलका तस्बिर, प्रस्तुतीकरणका क्रममा खिचिएका फोटाहरू तथा भण्डार गरिएका सामग्री राखिएका छन् ।