अध्यक्ष गणेश तिमिल्सिनाद्वारा वहाकी बहुमुखी क्याम्पस उद्घाटन

पर्वत, ८ मङ्सिर (रासस): दक्षिण पर्वतको विहादी गाउँपालिका–४ वहाकीमा सञ्चालित वहाकी बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवन निर्माण भएको छ । झण्डै रु डेढ करोडको लागतमा निर्माण भएको आठकोठे भवनको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।

सो कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बताउनुभयो । उहाँले देशलाई आर्थिकरूपमा सवल बनाउन तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष तिमिल्सिनाले देशलाई समृद्ध बनाउन कर सङ्कलन बढाउनुपर्ने, भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने, चुहावट नियन्त्रण गर्नुपर्ने र हरेक कारोवार पारदर्शी हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व सभासद गुणाखर बस्याल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता गोविन्द पहाडीले बोल्नुभएको थियो । कार्यक्रममा राष्ट्रभक्ति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।

Thuprai - Books and E-books