A Levels MA

देशलाई समृद्ध बनाउन प्राविधिक शिक्षा आवश्यक : मन्त्री गिरिराजमणि पोखरेल

भक्तपुर, १२ फागुन (रासस): शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले देशलाई समृद्ध बनाउन व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ । 

सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को ३१औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सबै स्थानीय तहमा व्यावसायिक र प्राविधिक शिक्षा पु¥याउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । देशलाई समृद्ध बनाउन प्राविधिक शिक्षा महत्वपूर्ण रहको उहाँको भनाइ थियो । 

मन्त्री पोखरेलले भन्नुभयो, “सरकारले आगामी दुई वर्षभित्रमा देशका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउने काम गरिरहेको छ, देशलाई समृद्ध बनाउनका लागि सिटिइभिटीको भूमिका महत्वपूर्ण छ ।” शिक्षा सेवामा काम गर्ने व्यक्ति नाफामुखीभन्दा पनि सेवामुखी हुनुपर्ने उहाँको भनाइ थियो । निजी शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सेवामुखी बन्न मन्त्री पोखरेलले निर्देशन दिनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले सरकारले निर्माण गर्न लागेको शिक्षा ऐनले सिटिइभिटीको मर्ममा कुनै कमी हुन नदिएको दाबी गर्नुभयो । सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्न सिटिइभिटीको भूमिका सधैँ सराहनीय हुने उहाँले बताउनुभयो । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेतले देशमा आवश्यक दक्ष जनशक्ति पूर्ति गर्न सिटिइभिटीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । सिटिइभिटीका सदस्यसचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले उत्पादित जनशक्तिले राम्रो आयमूलक रोजगारी पाउँदै आएको बताउनुभयो । 

शैक्षिक सत्र २०७३÷७४ मा सिटिइभिटीअन्तर्गत आङ्गिक शिक्षालय १९ वटामा सञ्चालन तथा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) कार्यक्रम सञ्चालन गर्ने विद्यालयको सङ्ख्या ११७ रहेको वाग्लेदे बताउनुभयो । हाल आङ्गिक शिक्षालयको सङ्ख्या ४५ तथा १८ आङ्गिक शिक्षालयमा कार्यक्रम थप गरिएको छ । टेक्स विद्यालयको सङ्ख्या ३९७ पुगेको छ । शिक्षालयमा कृषि, इञ्जिनीयरिङ, स्वास्थ्य, होटल व्यवस्थापन जस्ता प्राविधिक कार्यक्रम सञ्चालन गरिएको छ । प्रशिक्षार्थीको भर्ना क्षमता ४४ हजार ३५० बाट बढेर ६० हजार ८६९ जना पुगेको छ । “राज्यको पहुँचबाहिर रहेका वर्गलाई खान, वस्न, पोशाक र यातायत सुविधासहित विशेष छात्रवृत्ति व्यवस्था गरी चार हजार ८७० जनालाई प्राविधिक शिक्षा उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो । 

प्रत्येक प्रदेशमा ६ हजार युवाका दरले सातै प्रदेशमा युवालाई निकट भविष्यमै सिटिइभिटीले सीपमूलक तालीम दिने तयारी गरेको छ । लैङ्गिक समानता कायम गर्दै महिला प्राविधिक शिक्षातर्फ आकर्षित गर्न हरेक महानगरपालिकामा महिला पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्ने तयारी छ । सो अवसरमा दोलखास्थित जिरी प्राविधिक शिक्षालका कर्मचारी देवबहादुर जिरेललाई यस वर्षको सर्वाेत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । त्यस्तै उत्तरपानी प्राविधिक शिक्षालय धनकुटाका कर्मचारी रामकृष्ण डङ्गोल, बागलुङको धौलागिरि प्राविधिक शिक्षालयका बज्रमोहन पौडेल, राप्ती प्राविधिक शिक्षालयका सुमेरन चौधरी र सिटिइभिटी केन्द्रीय कार्यालयका शान्ति मल्ल भुुजुलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । 

Thuprai - Books and E-books