विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र विश्वनिकेतन

रुग्ण तथा कमजोर विद्यार्थीको स्तारोन्तिका लागि उपचारात्मक शिक्षण विधिलगायत बालकेन्द्रीत शिक्षण विधिको प्रयोगले वार्षिक विद्यार्थीको चाप बढाउँदैछ विश्वनिकेतन माध्यमिक विद्यालय । सेक्सन विभाजन नभएका कक्षा नै छैनन् । कक्षा ११मा  मात्र १९ वटा सेक्सन छन् भने १२ मा १७ वटा छन् । 

वार्षिक विद्यार्थीको चाप बढाउँदै विश्वनिकेतन

अंग्रेजी माध्यममा पढाइ । प्रविधिमैत्री शिक्षणसिकाइ । इसीडी देखि कक्षा तीनसम्मका बालबालिकालाई पूर्ण मन्टेस्वरी पद्धतिको प्रयोग गरी पठनपाठन । कुनै कक्षा खाली नहुने गरी शिक्षक परिचालन । कक्षा तीनसम्म कक्षा शिक्षकको व्यवस्था । १ सय १५ जना शिक्षक कर्मचारी मध्ये ७० जना शिक्षक कर्मचारीलाई आन्तरिक स्रोतबाट व्यवस्थापन । हरेक दिन व्यवस्थापन समितिका अध्यक्षको विद्यालयमा उपस्थिति । विद्यालयको भौतिक सम्पत्ति व्यवस्थापनको जिम्मा विद्यार्थीलाई । हप्तामा एक पटक हरेक कक्षाका विद्यार्थीलाई एक घण्टी अडियो– भिडियो क्लास । उक्त कक्षामा ऐतिहासिक विषयवस्तु प्रदर्शन । यो विशेषता कुनै निजी विद्यालयको भने होइन । २७ हजार ८ सय ८३ विद्यालयभित्रै पर्ने काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको हो ।

यिनै विशेषताका कारण विद्यालयप्रति विद्यार्थी अभिभावकको आकर्षण बढ्दो छ । विद्यालयको शिक्षण शैली अनुकरण योग्य भएको स्थानीयहरू बताउँछन् । कक्षा ८–१० र तल्ला कक्षामा उपचारात्मक शिक्षण विधिको गरी पठनपाठन हुने गरेको छ । ‘रुग्ण तथा कमजोर विद्यार्थीको स्तारोन्तिका लागि उपचारात्मक शिक्षण विधिलगायत बालकेन्द्रीत शिक्षण विधिको प्रयोग गरी शिक्षण गर्ने गरिएको छ ।’ विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले भने,‘सिकाइलाई मूर्तरुप दिन प्रयोगात्मक, प्रदर्शन, परियोजना, खोज तथा अनुसन्धान विधि, क्षेत्रभ्रमण विधिको प्रयोग गरी शिक्षण गर्छौं ।’ पाठ्यविषयका आधारमा स्थानीय शैक्षिक सामग्रीलाई विद्यालयले प्राथमिकताका साथ प्रयोग गर्ने गरेको छ । विषयवस्तुअनुसार सिकाइ प्रविधिमैत्री छ ।

विद्यालयमा साइन्स क्लब, सफा क्लब, जुनियर रेडक्रस सर्कल, सेवा दल जस्ता क्लब गठन गरिएको छ । आकस्मिक उपचारका लागि प्राथमिक उपचारकको व्यवस्था गरिएको छ । फस्टेड बक्सलगायत स्टेचर विद्यालयमै उपलब्ध छन् ।

भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य

तल्लो कक्षा देखि माथिल्लो कक्षासम्म भर्ना हुन चाहने विद्यार्थीले अनिवार्य प्रवेश परीक्षा पास गरेकै हुनु पर्ने व्यवस्था विद्यालयले गरेको छ ।

यो शैक्षिक सत्रमा कक्षा ११मा भर्ना हुनका लागि २५ सय विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए । परीक्षार्थी मध्ये उत्कृष्ट ९ सय १५ लाई मात्र विद्यालयले भर्ना लियो । ‘सबै विद्यार्थी प्रतिभावान नै थिए तर मानव संशाधन र भौतिक पूर्वाधारको अभावका कारण भर्ना लिन सकेनौं ।’ प्रधानाध्यापक कडेलले भने,‘अरुको मूल्यांकनमा हामी जुन ठाउँमा परे पनि विद्यार्थी अभिभावकको रोजाइमा अगाडि छौं यसलाई निरन्तरता दिन लागि परेका छौं ।’ गत वर्षको प्रवेश परीक्षामा २ हजार विद्यार्थी सामेल भएका थिए ।

मानविकी, व्यवस्थापन,शिक्षा, विज्ञान र कानुन विषयमा कक्षा ११–१२ पठनपाठन गराउँदै आएको विद्यालयमा सेक्सन विभाजन नभएका कक्षा नै छैनन् । इसीडीदेखि कक्षा ६ सम्म दुई–दुई सेक्सन, कक्षा ७ मा तीन, कक्षा ८ मा चार, कक्षा ९ र १० मा पाँच–पाँच सेक्सन छन् । त्यस्तै कक्षा ११ मा शिक्षा,कानुन र मानविकीमा ७० जनाभन्दा माथिको जम्बु टिमलाई ठाउँ अभावका कारण एउटै कक्षामा पढाउनु परेको प्रधानाध्यापक कडेल बताउँछन् । उनकाअनुसार व्यवस्थापनमा ९, विज्ञानका कक्षालाई ७ सेक्सनमा विभाजन गरिएको छ । हरेक सेक्सनमा ४० देखि ४५ जना विद्यार्थी छन् । त्यस्तै कक्षा १२ लाई १७ सेक्सनमा विभाजन गरेर पढाउने गरिएको छ । इसीडी देखि कक्षा १२ सम्म ३ हजार तीन जना विद्यार्थी अध्ययनरत छन् ।

४ सय ४० निजीका विद्यार्थी

यो शैक्षिक सत्रमा ४ सय ४० निजी विद्यालयका विद्यार्थी भर्ना भएका छन् । भने ६० जना विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्ना लिएको विद्यालयले जानकारी दियो । शैक्षिकसत्र सुरुहुँदा कक्षा १ देखि १० सम्म भर्ना हुन निजीका ७ सय र सामुदायिकका ३ सय विद्यार्थीले प्रवश परीक्षा दिएका थिए ।

बाध्यतामा नेपाली

इसीडीदेखि १२ सम्म नै विद्यालयको माध्यम भाषा अंग्रेजी हो । तर कक्षा ९ र १० का एकएक सेक्सनमा विद्यालयले नेपालीमा पठनपाठन गर्दै आएको छ । ‘नेपालका लगभग सबै जिल्लाका विद्यार्थी पढ्छन् ।’ प्रधानाध्यापक कडेल भन्छन्,‘नयाँ विद्यार्थीले सुरुमै अंग्रेजी माध्यममा पढाउँदा पढ्न नसक्ने भएकाले बाध्य भएर नौ र दशको एकएक सेक्सनमा नेपालली माध्यममा पढाउँछौं ।’

इलाब्ररी संचालनमा

विद्यालयले इलाब्रेरी सञ्चालनमा ल्याएको छ । पुस्तकालयमा थन्किएका पुराना पुस्तक र नयाँ पुस्तक सहित १५ हजार पुस्तक सजिलै पढ्न सकिने प्रधानाध्यापक कडेल बताउँछन् । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालय भवन एसियाली विकास बैकले पुनःनिर्माण गरेपछि सोही भवनको एक कोठामा इलाब्रेरी सञ्चालनमा ल्याइएको विद्यालयले जानकारी दियो ।

निजीलाई पनि स्थायीकै सुविधा

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई स्थायी शिक्षककै सेवा सुविधा विद्यालयले प्रदान गर्दै आएको छ । संचयकोष, बिमा, उपदान, पोसाक र दरबन्दीका शिक्षक सरहको सेवासुविधा प्रदान गर्ने गरेको छ । पूर्वविद्यार्थी, दाता, लोक सेवाको परीक्षा शुल्क, प्रवेश परीक्षा शुल्क र अभिभावकले प्रदान गर्ने गरेको आर्थिक सहयोगबाट विद्यालयले खर्च व्यवस्थापन गर्ने गरेको प्रधानाध्यापक कडेल बताउँछन् । भगिनी संस्थाको रुपमा २०६६ सालदेखि विश्वदीप बहुमुखी क्याम्पस सञ्चालन गरिरहेको छ । सो क्याम्पसमा बीबीएसको पढाइ हुन्छ । यो विषयमा अहिले ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । बीबीयसका विद्यार्थीबाट लिइने शुल्कलाई विद्यालयले आर्थिक स्रोतका रुपमा लिएको छ । ‘आन्तरिक स्रोतका ७० जना शिक्षकलाई विभिन्न शीर्षकमा अभिभावकबाट प्राप्त आर्थिक सहयोगबाट सञ्चालन गर्ने गरेका छौं ।’

कहिले खाली नहुने कक्षा 

तल्लो कक्षादेखि माथिल्लो कक्षा कहिल्यै खाली हुँदैनन् । विद्यालयले निर्णयात्मक मूल्यांकनका क्रममा हरेक विषयमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सो विषयको शिक्षक नभएको समयमा कक्षा व्यवस्थापन गर्ने जिम्मा दिने गरेको छ । भने, विषय शिक्षकलाई पनि प्रति घण्टी अतिरिक्त खर्च व्यवस्थापन गरेर विद्यालयले शिक्षण गर्ने व्यवस्था गरेको छ ।

 कक्षा १२ सम्म ऐच्छिक कम्प्युटर

विसं. २०५२ देखि नै कम्प्युटरलाई कक्षा ६ देखि ८ सम्म अनिवार्य गरेको छ । भने कक्षा ९–१२ सम्म इच्छाधिन विषयका रुपमा पठनपाठन गराउँदै आएको छ । विद्यालयमा सुविधासम्पन कम्प्युटर ल्याव छ । सो ल्यावमा सबै कक्षाका विद्यार्थीलाई घण्टी मिलाएर प्रयोगात्मक कक्षा सञ्चालन गर्ने गरिएको छ ।

शिक्षक कर्मचारीका छोराछोरी सबै विद्यालयमा

विद्यालयका सरोकारवाला सबैका छोराछोरी सबै विद्यालयमा पढ्छन् । ‘शिक्षक कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघ सदस्यका छोराछोरी पढ्छन् ।’ प्रधानाध्यापक कडेल भन्छन्,‘विद्यालयमा कार्यरत शिक्षकका निजीमा पढ्दै गरेका छोराछोरी पनि यही ल्याएका छौं ।’

भौतिक सम्पत्ति संरक्षण विद्यार्थीबाटै

विद्यालय प्रशासनले विद्यालयको भौतिक सम्पत्ति तथा अनुशासनको व्यवस्थापन गर्ने जिम्मा विद्यार्थीलाई नै प्रदान गरेको छ । विद्यिार्थीलाई सगरमाथा, कन्चनजंघा, अन्नपूर्ण र माछापुच्छ्रे सदन समूहमा विभाजन गरिएको छ । समूहको नेतृत्व गर्ने क्याप्टेन, भाइस क्याप्टेन, मनिटर तथा प्रिफेक्टरले रेखदेख तथा अनुगमन गर्ने गरेका छन् ।

शिक्षक–विद्यार्थी प्रोत्साहन पुरस्कार

कार्यसम्पादन मूल्यांकनका आधारमा हरेक वर्ष पाँच जना शिक्षकलाई विद्यालयले पुरस्कृत गर्ने गरेको छ । विद्यालयले विद्यार्थी तथा शिक्षकको हौसला बढाउने उद्देश्यले प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । निश्चित मापदण्ड तयार गरी विद्यालयले उत्कृष्ट ठहर गरेको शिक्षकलाई जनही तीन हजार नगद, प्रमाणपत्र र दोसल्ला चढाइ अभिनन्दन गर्ने गरेको छ । त्यस्तै हरेक कक्षाका प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई आकर्षक पुरस्कार प्रदान गर्ने गरेको छ । यसका साथै कक्षा ११ र १२ मा अध्ययन गर्ने ३० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

सार्वजनिक विदामा खुल्ने

विद्यालय शनिवार बाहेक अन्य सार्वजनिक विदाका दिन सञ्चालन हुँदै आएको छ । विद्यालयले भैपरी आउने र पर्व विदामा काम गर्ने शिक्षकलाई अतिरिक्त पारिश्रमिक दिने व्यवस्था गरेपछि शिक्षकहरु विदा नै बस्न छाडेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठ भन्छन्, ‘उनीहरुले पाउने मासिक तलबबाट काम गरेको दिनको हिसाबले पैसा दिने व्यवस्था गरेपछि शिक्षकहरु विदामा बस्न छाडे ।’

विभागीय इन्चार्जको व्यवस्था

विद्यालयलको प्रशासनिक व्यवस्थापनका लागि प्रधानाध्यापक, सहप्रधानाध्यपक, तहगत इन्चार्जको व्यवस्था गरिएको छ । अनिवार्य ६ विषयका शिक्षकलाई सोही विषयको विभागीय प्रमुख, अतिरिक्त क्रियाकलाप प्रमुख,अनुसाशन प्रमुखलगायत कक्षा शिक्षकको व्यवस्था गरिएकोे प्रधानाध्यापक कडेलले बताए । यिनै विभागहरुले आवश्यकता अनुसार अतिरिक्त क्रियाकलाप, सहक्रियाकलाप र पर्यावरणीय सरसफाइ जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रगतिविवरण अभिभावकलाई

विद्यालयले एकाइ,त्रैमासिक, वार्षिक गरेर वर्षमा ६ पटक परीक्षा सञ्चालन गर्ने गरेको छ । उक्त परीक्षाको नतिजा भने अनिवार्य रुपमा अभिभावकले नै लिनु पर्ने व्यवस्था विद्यालयले गरेको छ ।

‘प्रगति विवरण लिन आउँदा अभिभावकले आफ्ना छोराछोरीको कक्षा सहभागिता, उनीहरूका सुधार गर्नुपर्ने पक्षका बारेमा छलफल गर्नुहुन्छ ।’ प्रधानाध्यापक कडेलले भने,‘वार्षिक र विद्यालयले आवश्यक ठानेका बखत अभिभावक भेटघाट कार्यक्रम आयोजना गर्ने गरेको छ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेक दिन विद्यालय पुग्छन् । विद्यालयको गुणस्तर अभिवृद्धि, आर्थिक स्रोत व्यवस्थापन, भावी रणनीति तयार गर्न प्रधानाध्यापक तथा शिक्षकसँग छलफल गर्छन् ।

ढिला आउनेलाई नमस्ते

विद्यालयले नमस्ते अभियान सञ्चालन गरेको छ । उक्त अभियानमार्फत विद्यालयका गतिविधि अभिभावक मार्फत पुर्‍याउने गरेको छ । यसका लागि विद्यालयले एउटा एप बनाएको छ । सोही एपबाट विद्यालयका सम्पूर्ण सूचनाहरू प्रवाह गर्ने गरिएको छ । सोही अभियान अन्तर्गत ढिला आउने शिक्षक,कर्मचारी तथा समयको पालना नगर्ने विद्यार्थीलाई ‘नमस्ते ढिला आउनु भयो घर पाल्नु होला’ भनी घर पठाउने गरेको प्रधानाध्यापक कडेलले बताए ।

हरेक शिक्षकलाई आलोपालो गरेर विद्यालयले तालिममा पठाउने गरेको छ । तालिममा प्राप्त ज्ञान शिक्षकले कक्षाकोठमा अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘विद्यालयले तालिममा पठाएका शिक्षकले कक्षामा सो ज्ञान प्रयोग गर्न नसके हामीले सञ्चालन गरेको नमस्ते अभियानबाटै नमस्ते गरेर अन्यत्र पठाउँछौं ।’ प्रधानाध्यापक कडेल भन्छन्, ‘शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकको पनि कक्षा निरीक्षण गरेर मात्र हाजिर गराउँछौं ।’

सुविधा सम्पन्न विज्ञान प्रयोगशाला

विज्ञानका सबै विषयका सुुविधा सम्पन्न ल्याब छन् । फिजिक्स, केमेस्ट्रि, बायोलोजीको ल्याबमा ७५ वटा कम्प्युटर व्यवस्थापन गरिएको छ । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा आधारित विषय वस्तुलाई यही कम्प्युटर ल्याबबाट अध्ययन गराउँदै आएको छ ।

सुरुबाटै उत्कृष्ट

वि. संं. २००३ साल माघ १९ गते स्वर्गीय नरमान श्रेष्ठले न्युरोडको एङ्गालस्थित आफ्नै दलानबाट सुरु विद्यालयकोे विकसित रुप नै अहिलेको विश्व निकेतन मावि हो । श्रेष्ठले सुरुमा ६ जना विद्यार्थी पढाउथे ।

जुद्ध शमशेरले ४ सहीदको हत्यापछि पापमोचनका लागि स्थापना गरेको त्रिपुरेस्वरस्थित सत्तलमा विसंं. २००९ सालमा गणेशमान सिंह श्रेष्ठ उद्योगमन्त्री भएपछि स्थानान्तरण गरेका हुन् । सूर्यलाल अमात्य, प्रा.डा. केदारभक्त माथेमा, रामशरण महत, तारादेवी, विद्यासुन्दर शाक्यल गायतका चर्चित व्यक्तिव्वहरूयही विद्यालयको उत्पादन भएको प्रधानाध्यापक कडेलले बताए ।

शैक्षिक सत्र २०७४ र २०७५ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय शिक्षा पुरस्कार’ हात पार्न सफल यो विद्यालयमा २०७५ को इसईईमा १ सय ८४ विद्यार्थी सहभागी थिए । जसमध्ये एक जनाको ४ जीपीए र औसत जीपीए २.९८ प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंले जानकारी दियो । यसैगरी २०७२ को एसएलसी र २०७३ को यसईईमा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट भएको थियो ।

यसका साथै २०६२ सालमा शिक्षामन्त्रालयबाट टेनप्लस टुतर्फ शिक्षा मन्त्रालयबाट प्रदान गरिने क्षेत्रीय पुरस्कार हात पार्न सफल भयो । भने २०६४ सालमा यो विद्यालय टेनप्लस टुतर्फको नमुना विद्यालय घोषण भयो । भने दुई वर्षअघि मात्र नेपाल सरकारबाट नमुना विद्यालयका रुपमा छनौट हुन सफल भएको हो ।