शुक्रबारको त्यो दिन, वादविवाद सकिएपछि हारजितसंगै लिएर स्कुलबाट दुवैजना फर्किएको अस्तिजस्तो लाग्छ । सहरको पक्षमा तर्क राख्दै त्यतिबेला प्रथम हुन सफल म आज वास्तविक जीवनमा भने असफल भएर सहरकै एउटा कुनामा बसेको २० वर्ष भएछ । समयको हिसाब राख्ने नजिकै काँटीमा झुण्डिएको क्यालेन्डरले नढाँटेको भए ।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि’ आफू जन्मिएको ठाउँ र आफूलाई जन्म दिने आमा स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने यो रामवाणीमा अहिले पनि कति यथार्थ रहेछ । मलाई भने ‘गाउँले जीवनभन्दा सहरीया जीवन बेस’ भन्ने शीर्षकमा स्कुल पढ्दा गरिएको त्यो वादविवादको झझल्को आइरहेको छ यतिबेला । मैले सहरीया जीवनको पक्षमा राखेका ती गहकिला तर्क जसका कारण प्रथम हुन सफल म, अनि गाउँले जीवनको पक्ष लिएर हार बेहोरेको त्यो तेजकुमार ।
मैले आज आएर बल्ल महशुस गरेको छु । ‘सहरीया जीवनभन्दा गाउँले जीवन बेस’ भन्ने चाहिँ ।्
हो तेजकुमार तिमी त साह्रै बुद्धिमानी र भाग्यमानी रहेछौ । अभागी त म रहेछु, छोटो बुद्धि मेरो रहेछ । मैले पनि गाउँले जीवन रोजेर वादविवादमा हारेको भए सायद आज गाउँले जीवनमै रमाएर बस्थेँ होला ।
वास्तविक सहर नदेखी सहर राम्रो हुन्छ भन्ने तर्ककै भरमा वर्तमानको सुखद् परिकल्पना गरेर पढ्न छिरेको थिएँ सहरमा । म सहरमा त्यसै रमाएँ । म सहरको रमझममा भुलेँ एकछिन् । त्यसैले आज मसँग न त घर छ, न त खेतबारी नै बाँकी छ । लाग्दै छ, टुँडीेखेल वरिपरि कागजको घोडामाथि चढेर वादविवादमा जितेको सहरमा घुमिरहेको छु । तिमी गाउँकै हरियाली र मनोरम वातावरण अंगालेर श्रम र पसिनामा रमाइरहेका छौ आज । फरक यति मात्रै छ, म बाबुबाजेले जोडेको जायजेथा बेचेर, थातथलो छोडेर काठमाडौं सहरमा अँध्यारो कोठाको शरणमा आएँ ।
के गर्नु, घरहरु नजिक भएर पनि मन टाढा हुँदोरहेछ सहरका मान्छेको । आँगनमा तुलसी मठसमेत नअटाउने, दुईचारवटा फूल फुलाउन पनि गमला किन्नुपर्ने, तरकारीका लागि कौसीेखेतीको आश गर्नुपर्ने, मर्दा सुताउने ठाउँ पनि नभएको, चारजना अट्ने बरन्डासम्म पनि नभएको कोचारो...। त्यसमा पनि कतिपय घरधनीको हेलाहाँसो र उपेक्षित व्यवहार सहनुपर्ने । बरन्डाबाट पिच्चपिच्च थुकेको थुक र खकार सोहोरेर बस्नुपर्ने बाध्यता छ कतिले त । यस्तैमा जिन्दगीभरि घाम नदेखिने चिसो छिँडीमा रमाउनु परेको छ आफूले पनि ।
तिमीले सम्झाएको नमानेर, मैले मेरो जायजेथा बेचेर हिँड्न लाग्दा, पहिलो छुट्टीमा आउँदा तिमीले मै किन्छु भनेर किनिदिएर गुनसमेत लगाइदियौ, त्यतिबेला । तिमीलाई नै जबरजस्ती दिएर हिडेँ म । अन्तरे बाले त भन्नुहुदैथ्यो, ‘नबेच्, यहाँको १० पाथी बीऊको खेत बेचेर के गर्छस् ? सहरमा हर्लिक्सको बट्टामा हाल्ने माटो पनि आउँदैन । पुर्खाको थातथलो नमास् । सराप लाग्छ । पछुताउलास् ।’ आखिर त्यही नै भयो, जे अन्तरे बाले भन्नुहुन्थ्यो ।
आज मैले बेचेको बाँझो खेतबारीमा दश नङ्ग्रा खियाएर धान, मकै, कोदो, गहुँ फलाउँदै कृषिमा नै रमाइरहेका छौ रे रिटायर्ड लाइफमा तिमी । बिहानबेलुका घरको ताजा खाना खाएर घरछेउको टनेल खेतीमा दिन कटाएर पेन्सन जिन्दगी रमाउन सफल भएका छौ । आज तिमीसंग के अपुग छ ?
वादविवादमा भनेजस्तै म, गाँउको सेवाबाट टाढिएर सहर पसेको । अझ भन्नुपर्दा गाउँबाट काम गरेर खान दुःख भयो भनेर सुख पाउन सहरतिर भासिएको थिएँ । गाउँलाई हेला गर्ने मान्छे म । मिठो खाने राम्रो लाउने रहरै रहरमा सहरमा अलमलिएको अलमलियै भएँ फाँटमा अलमलिएको गोरु जस्तो ।
सबैथोक किनेर खानुपर्ने त्यो पनि बासी विषादी हालेको त कतिकति । म त्यसमै रमाइरहेँ । विषालु र बासी खानेकुरा मेरा प्रिय भोजन बने । त्यै पनि दुःखजेलो गरेर चाउचाउ र नुडल्सको भरमा जसोतसो छोराछोरी हुर्काउन, बढाउन र पढाउन त सफल भइयो । तर के गर्नु सबै पखेंटा पलाएपछि विदेशतिर उडिहाल्ने भए गँुडबाट चराहरु उडेजस्तै ।
जसरी मलाई तिमीले अथक प्रयासका बावजुद गाउँमा रोक्न सकेनौ नि तेजकुमार । बसाइँ हिड्नेको ताँती देखेर गाउँले रोएका थे उबेला । त्यसरी नै मैले मेरा छोराहरुको विदेश मोह रोक्न नसक्ने भएँ अब । आखिरमा हुर्किएर प्लस टु पासका पँखेटा लागेसंगै छोराछोरीहरु विदेश पलायन हुने भए ।
न तिनलाई यो देशको माया छ । न त बुबाआमाको नै माया छ । न त राम्रो संस्कार नै सिकाउन सकियो । साह्रै अव्यवहारिक बनाइएछ छोराछोरीलाई पनि । मोबाइलको लत नराम्रो बस्यो तिनीहरुमा । न त गाउँघरकै सम्झना र माया छ तिनलाई । न त सरकारले युवालाई रोजगारको कुनै ग्यारेन्टि नै गरिदियो ।
आज हामी बुढाबुढी मात्रै छौं अँध्यारो कोठामा । अन्त्यमा हामी बुढाबुढी टक्र्याक टुक्रुक्क हुने निश्चित छ । बिरामी हुँदा स्याहार गर्ने र अस्पताल पुर्याउने कोही छैन यहाँ । न त छोराछोरी छन् साथमा न त छरछिमेकीको विश्वास नै गर्न सकिन्छ सहरमा । हुन त विदेश पुगेका कसका छोराछोरी फर्किएका छन् र आजसम्म ?
भन्छौ भने, तेजकुमार घर हुनेको पीडा पनि कम छैन आजभोलि यहाँ । प्रायः घर बृद्धाश्रम बन्ने अवस्थामा छन् । उनीहरु भएर दुखी । हामी नभएर दुखी । अब तिनको बाटो हेर्नु र कुर्नु मात्रै हो । साँझमा चरनमा गएको माउ फर्किने आशमा बाच्छाले हेरेजस्तै । विदेश मोह कतिपयको बाध्यता त कतिपयको विवशता किन नहोस् । उस्तैउस्तै छ । बाबुआमाको मृत्यु संस्कारमा समेत नआएका कति घटना हामीले देखेसुनेकै हो । हाम्रो पो किन त्योभन्दा भिन्न होला र ? समय परिस्थिति कसको बसमा हुँदोरहेछ र खै ।
कोरोनाको महामारीसँगै निर्लज्ज हार बेहोरेर अब नभएको गाउँ, कता जाउँ, भएको छु म । तेजकुमार तिमी भने लाहुरेको पेन्सन पकाएर गाउँ फर्किएपछि जीवनभरिका लागि विजयी भएका छौ । सुरक्षित छ तिम्रो जीवन । वादविवादमा हारेर पनि के भयो त आखिर ।
विदेशबाट जति नै पैसा पठाए पनि संगै भएजस्तो आडभरोसा र सन्तुष्टि कसरी हुन्छ र ? जति पैसा भए पनि आखिरमा यही एकमुठ्ठी सासको आस सबैलाई हुँदोरहेछ । हिजोअस्तिसम्म छोराछोरी युरोप, अमेरिका र अस्टे«लिया छन् भनेर छरछिमेकीसंग गफिनेहरु आज रातभरि जुम, म्यासेन्जर र भाइबरमा दुःख साटेर घुँक्कघुँक्क रोइरहेका छन् । कोरोनाको त्रासले को कतिबेला सकिने हो, कुनै ठेगान छैन । ग्रिनकार्डवालासंग मात्रै मेरी छोरी बिहे गर्छे भनेर फुर्ति लाउने बाआमा आजभोलि निशब्द देखिन्छन् । कतिपय त बैंकको ऋण तिर्न नसकिने देखेर धमाधम आत्महत्या गरिरहेका छन् रे भन्ने पनि समाचार आउन थालेका छन् ।
‘सम्पत्ति भएर के गर्नु, एउटा माक्सको भरमा एकमुठी सास छेक्नुपरेको छ । घर कम्पाउन्ड घेरेर कुकुर पाल्दा मात्रै सुरक्षित नहुने र छ जिन्दगी त । मरेर कसैले के नै पो लग्दोरहेछ र आखिरमा ।’ भावुक भएर घरधनीहरुले यस्ता कुरा भनेको सुन्दा अचम्म लाग्न थालेको छ आजभोलि त । कतै यो विपत्ले समानतासँगै बोकेर ल्याउने त होेइन ।
हिजोआज मलाई न निद्रा लाग्छ, न भोक नै लाग्छ । छ त केवल तनाव मात्रै । तेजकुमार, म त बोइलर कुखुरा जस्तै भएँछु । हेर्दा मोटोघाटो देखिने तर बिनातागतको फोक्से मासुले भरिएको । फगत सुन्निएको जस्तै । कृत्रिम र बनावटी मात्रै । सहरको बासी र विषाक्त मिसिएको असन्तुलित खानेकुराले होला सायद यसरी मोटाएको पनि ।
आखिर चाहिने त गाउँ पो रहेछ । भिरालो पाखो भएर के भो त । सफा, हरियाली र स्वच्छ वातावरण त पाइन्छ । गाउँ छाडेपछि गाउँको महत्व बल्ल थाहा पाइयो । सायद घर छोडेर गएका छोराछोरीलाई घरको महत्व भएजस्तै ।
गाउँमा बसेको भए सानोतिनो जागिर पनि खाइन्थ्यो होला । बिहानबेलुका खेतबारीमा लर्याङलुरुङ गरिन्थ्यो । उकालीओराली गर्यो । रुखको छहारीमा बस्यो । खाना खाएको राम्ररी पच्थ्यो । भोकै लागे पनि जरुवाको पानीले प्यास मेटिन्थ्यो । अब त, पछुताउनु शिवाय के नै बाँकी छ र ।
आहा ! कति रमणीय छ है, हामी जन्मेको हुर्केको ठाउँ । डबलीको चौर, सल्लेरी वन, बसेंरी खेत, तावा खोलाका हरिया दह । गोगनेको भिर, धिप्लुङको छाँगो, काली दह.... । प्राकृतिक जीवन कति सरल थियो है तेजकुमार ।
सहर त विरानो र स्वार्र्थी हुँदो रहेछ । आफू अन्त भएपछि आफन्त पनि टाढा हुँदा रहेछन् । कतिपय त सहर पसेर धन कमाएपछि बोल्नै छाड्यो पनि भन्दा हुन् । उनीहरुलाई यहाँको पीडा के थाहा हुन्छ र ? सर्पको खुट्टा त सर्पले मात्रै देख्छ ।
एउटा कोठाको मान्छेले अर्को कोठाको मान्छे नचिन्नु सहरको विशेषता हो । एउटा घरको कुरा अर्का घरमा थाहा नहुने । न समाज चाहिने, न छरछिमेकी काम लाग्ने । अझै भनौं भने नितान्त एक्लो समुद्रबिचको टापुजस्तो । सबै आ–आफ्नै धुनमा व्यस्त अनि मस्त रहने । केहीले त पहिला त्यही गाउँलाई हेला गरियो भनेर गाउँ छाडेकोमा पश्चाताप मानिरहेका छन् । कोहीकोही त भिडभाड र कोलाहालमा संक्रमण फैलिने डरले यतिबेला पाखापखेरा सम्झेर गाउँ फर्किदै छन् ।
आफू त कुन गाउँ फर्किने ? न त सहर आफ्नो भयो । न त गाउँ नै बाँकी छ ।
राजधानीबाट नजिकैका केही साथीभाइका छोराछोरी यतिबेला गाउँमै गएका छन् । उनीहरुलाई गाउँसहर भन्ने खासै भेद छैन । आउजाउ भै रहन्छ । त्यसैले पनि गाउँघरको ताजा तरकारी, दुध, दही र मोहीको खासै खाँचो हुँदैन उनीहरुलाई । सहरमा बसेर पनि गाउँघरको खासै न्यास्रो मान्दैनन् । आफ्नो त एक रात बास बस्न जाने .... ।
भट्टेडाँडाका पुराना कलेज पढ्दाका साथी नारायण सन्जेल लकडाउन हुनुभन्दा एक दिन अगाडि गाउँ पुगे । उनका छोराछोरीलाई रमाइलो भा छ । मोबाइल नभई खाना नखाने, स्कुल जादा डे«स लगाउन नमान्ने उनका छोराछोरी आज गाउँको आँगनमा चरेका कुखुरा, परेवा धपाउँदै, पोखरीका माछालाई जिस्क्याउँदै र टाट्नामा बाँधेका बाख्राका पाठासँग रमाउँदै, पिँढीमा बसेर दुई थाल भात खान्छन् रे ।
घरको बार्दलीमा बिरालो म्याउँम्याउँ कराएको, बलेँसीमा बाँधिएको भोटेकुकुर, गोठभरिका गाईभैंसी र बाच्छाबाच्छीका हुल देखेर उनीहरु दंग परेका छन् रे । उनीहरुलाई उफ्रीपाफ्री गर्न खाली चौर छ । आजभोलि पाक्ने किम्मु, काफल, ऐंसेलु खान पाउँदा दंग छन् रे उनीहरु । कोरोनाको डर त्यति नभएर होला । सायद, तिम्रो गाउँघरतिरका केटाकेटी पनि त त्यसरी नै रमाएका होलान् जसरी हामी बाल्यकालमा रमाउँथ्यौं ।
फरक यति हो, सहरमा बसेर भूकम्प खेपियो । त्यो देखियो जताततै । बारीका पाटामा मलका थुप्रा राखेजस्ता बनाइदियो थुप्रै घरहरु । यो देखिँदैन रे । त्यो सबैले भोगेको सुनेको कथा भयो तर कोरोनाको कथा कसैले नसुनाको नसुनेको कथा भयो ।
त्यतिबेला घरभित्र बस्न हुदैनथ्यो । यतिबेला घरबाहिर बस्नहुँदैन । त्यतिबेला एक्लै बस्न हुदैनथ्यो । यति बेला सँगै बस्न हुँदैन । कोरोना महामारीको त्रासले यति ठूलो असर पार्न सक्छ भन्ने सायदैले अनुमान गरेका थिए । किनकि यो नयाँ संक्रमण थियो ।
हुन त रोगको कुनै देश, जात, धर्म र राष्ट्रियता पनि हुँदैन । यसले कसैलाई विभेद गर्दैन । न त यो शक्तिशाली देश अमेरिकासँग डराएको छ । न त सबैभन्दा बढी जनसंख्या भएको चीनसंग नै झुकेको छ । लकडाउन गरेर बसे पनि सरकारै डराएको छ ।
म भने यहाँ अँध्यारो छिँडीमा कोरोनाको कहर खेपिरहेछु । १५ दिन अगाडि दिनभरि लाइन बसेर ल्याएको ५ केजी चामल, १ केजी दाल र १ केजी नुन अब एकदुई छाकलाई मात्रै होला । हरियो सागसब्जी नखाएको महिनौं दिन भयो । टंगने सुप बनाएर खाँदा के खाइसक्नु हुन्छ र ? यहाँ त एकातिर रोगले मरिन्छ कि भन्ने त्रास छ । अर्कोतिर भोकले मरिन्छ कि भन्ने जगजगी भा छ ।
सडकहरु सुनसान छन् । परेवा, बाँदर, चौपायाहरु भोकले पुक्लुकपुक्लुक ढलेको देख्दा मन अताल्लिएको छ । बाहिरी दुनियाँ अझै पनि बेखबर छ । न राहत छ न कसैले उद्धार नै गर्ने सोच बनाएको छ । कतिपयको नागरिकता नभएपछि राहतबाटै वञ्चितसमेत हुनुपर्दा मरेको जुनी जस्तै भएको छ । लाग्छ यो सहरमा भर्खरै भीषण युद्ध भएको थियो । सबै उद्धारको पर्खाइमा मात्रै छन् । अमिलो मन बनाएर दुखका कथा मात्रै कति भन्नु तेजकुमार तिमीलाई पनि दिक्क लागिसक्यो होला अब त है।
आज आपत्विपत् पर्दा म मात्रै हैन तेजकुमार थुप्रै सहरीयाको अलिकति भए पनि होस् खुलेको छ । कतिन्जेललाई हो त्यो थाहा छैन । हुन त २०७२ को भूकम्पमा पनि कतिले त काठमाडौंमा पाइलो राख्दिनँ । भोकले र रोगले मरिएछ भने पनि गाउँमा मर्छु भनेर किरिया हालेका थिए । तिनले खाएको किरिया कसम २ महिना पनि टिक्न नपाइकन फर्किएर आए । नेपालीले दुःख चाडै बिर्सिन्छन् भनेको ठीकै लाग्यो ।।
त्यति बेला सहर रित्याएर गएझंै लाग्थ्यो । आफू भने रानीवन नजिकै विष्णुमतिको किनारमा त्रिपालमुनि ज्यान लुकाएर बल्लतल्ल बाँचियो । गाउँ गएका भने दुईतीन महिनापछि त गाउँको घरमा ताला मारेर यतै ओइरिएकाथे उसबेला पनि । सरकारबाट राहत नपाएपछि भोकभोकै मरिने डरले यतिबेला हप्ता दश दिन लगाएर गाउँ फर्किनेले भने के गर्ने हुन् । हेर्न बाँँकी नै छ ।
अहिले त गाउँघरतिर फर्केका केटाकेटीले चिडियाखाना पनि चटक्कै बिर्सिएका छन् रे । मान्छेको कोलाहल नभएपछि कात्तिकेतिर रतुवा र हरिण आँगनमा खेल्न आउन थालेको सुन्दै छु । ट्याम्के र सेल्मेको वनपाखामा ढकमक्क गुराँस फुलेको होला यतिबेला । आहालेको खोल्सामा पाकेका ऐंसेलु, पातलपानीका अंगेरी, पँखेराका खनिउँ, चतापुका काफल, नौलाखर्कका पैंयु, पृष्टिका किम्बु, मानेगाउँका बर खाँदा गाउँभरिका केटाकेटी तीन छक्क परेका छन् होला ।
सहर भनेर के गर्नु साधारण रुघाखोकी लाग्दा पनि एन्टिबायोटिकको सहारा लिनुपर्ने यहाँका बिरामी आज अस्पताल जान पाएका छैनन् । महामारीको त्रास बढ्दै जाँदा घरबाट बाहिर जाने आँट छैन । सहरका प्रत्येक गल्लीमा चरोमुसो छैन निर्जन वनजस्तो । सडकमा सन्नाटा छाएको छ । त्यता घोटेर खाने ओखतिसमेत यहाँ पाइँदैन तेजकुमार । कस्तो विडम्बना छ शहरको । नत जडिबुटीका जानकार नै पाइन्छन् यहाँ ।
रोगसँग लड्न मह, तुलसीपत्ता, बेसार, अदुवा, दालचिनी र गुर्जो खानु भनेर रेडियो टिभीबाट सुनिए पनि कहाँबाट पाउनु ती जडिबुटी यहाँ । त्यहाँ तिम्रा छोराछोरीहरु दूध, दही र घ्यु खाएर हुर्किएका छन् । रातापिरा खाइलाग्दा होलान् । रोगले हत्तपत्त छुँदैन । तर मेरा छोराहरु पाउडर र पोकाको दूध खाएका पिलन्धरे मात्रै छन् । सेपिलो बारीमा रोपेका लिखुरे मकैजस्ता हलक्क बढेका मात्र ।
तिमी ढुक्क होऊ, तिम्रा छोराछोरीले लैनो भैंसी पालेरै पनि बुढेसकालमा दूध दही खुवाएर स्याहार गर्छन् । मेराले पसलबाट त्यही पोका दूध ल्याउने क्षमतासमेत छैन । कति फरक छ ? हेर, गाउँ र सहरमा । मिठो खाने रहरले पिठो खान पनि मुश्किल छ, अब ।
तिमी त साच्चै भाग्यमानी रहेछौ । यतिबेला बारीमा हिउँदे बाली आलु, गहुँ र मुसुरो पाक्यो होला । भकारीभरि धान छँदै छ । थांग्रामा मकै झुण्डिएकै छन् । बारीभरि सिमी, बोडी, लौका, चिचिन्डा र फर्र्सीका लहरा लहलह भा छन् । अनि बगैंचामा लटरम्म आरु, बखडा र आँप फलेकै छन् । मौसमले साथ दिएकै छ । खानलाउन दुःख छैन । अरु के चाहियो र तेजकुमार जिन्दगीमा ।
घाँसदाउरा आफ्नै पाखामा छ । महिनैपिच्छे थोरै भए पनि पेन्सन आकै छ मरमसला र माछामासु किन्न पुगेकै छ । त्यति मात्रै होइन परिवारको साथ पनि छ । सबै संगै छौ । न कुनै छोराछोरीको पीर चिन्ता न कुनै दुःख । तिमी त मानसिक शारीरिक र भौतिक रुपमासमेत रिष्टपुष्ट छौ । त्यसमाथि लाहुरे ज्यान । कसरत पुगेकै छ । आफू भने उमेरले भन्दा अनुहारले बुढो भइयो ।
खै, यसरी कति दिन पो बस्न सकिएला र शहरमा मजस्ताले । झन् भएभरको भौतिक सम्पत्ति, कंक्रिटका बडेबडे बिल्डिङ छोडेर कयौ सहरीया जीवन रोज्नेहरु त आज महामारीबाट जोगिन ढोकामा भोटेताल्चा झुन्ड्याएर धमाधम गाउँ फकिर्ने तरखरमा छन् । मुस्ताङे मार्फालीहरु मंसिरमा जाडो छल्न बेनी झरेझैं । कति त धन सम्पत्ति भएर पनि दुखी छन् । पारिवारिक र मानसिक सुखका लागि तड्पिएका छन् । मनले जीवनको उत्तराद्र्धमा प्राकृतिक जीवन रोज्न थाले जस्तो छ ।
‘बाह्र वर्षमा खोलो फर्किन्छ’ भनेको यही त होला नि तेजकुमार । अब म पनि कोरोनाको महामारीबाट जोगिनै भए पनि खालि हात र निस्तो मन लिएर तिम्रै शरणमा पर्न पश्चाताप मानीमानी गाउँले जीवन सुरक्षित देखेर फर्किदै छु । अब त कसमै खाएर भन्छु तेजकुमार, ‘गाउँले जीवनभन्दा शहरीया जीवन बेस’ कदापि हुन सक्तैन...। बरु वादविवादमा भाग लिन्न... ।