A Levels MA

नयाँ जीवन पाएको वाल्मीकि विद्यापीठ (फोटो फिचरसहित)

सरकारी क्याम्पसको शौचालय कस्तो होला ? कक्षाकोठा कस्ता होलान् ? भित्ता आदिको रुप कस्तो होला ? सहजै कल्पना गर्नुहुन्छ– फोहोर । बेथिति । भित्ताभरि लेखिएका । दुर्गन्धले शौचालयभित्र प्रवेश गर्न नै नसकिने । तर पछिल्लो समय काठमाडौँको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस) पुग्नुभयो भनेर निकै रहरलाग्दो बनेको छ ।

चाहने हो भने सरकारी क्याम्पसलाई सफासुग्घर तुल्याउन सकिन्छ भन्ने उदाहरण यो क्याम्पस बनेको छ । वाल्मीकि विद्यापीठको परिवर्तित स्वरुपले गर्दा सरकारी क्याम्पसलाई पनि आकर्षक बनाउन सकिन्छ भन्ने समाचारको विषय बन्न पुगेको छ ।

विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले भने, “नयाँ प्रवेशद्वार निर्माण भइसकेपछि क्याम्पसको नयाँ स्वरुपले पूर्णता पाउने छ ।”

कुनै बखत विद्यार्थी वा प्राध्यापकले सकभर शौचालय जानु नपरोस् भन्ने सोच्थे । भाँचिएका ढोका र ढोकामा चुकुलसमेत थिएन । अब पुरुष, महिला र प्राध्यापकका शौचालयले समेत नयाँ जीवन प्राप्त गरेको छ ।

क्याम्पस परिसरभित्रका दुई वटा भवनका ७० वटा कोठा रङ्गरोगन गरिएको छ । प्लास्टर गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा पहल गरिएपछि क्याम्पस परिसरमा ब्लक छापिएको छ । प्रवेशद्वारमा ढलले गर्दा क्याम्पस हाताभित्र प्रवेश गर्न कठिन हुने अवस्था अब अन्त्य भएको छ । उनले वडा कार्यालयले बास्केट बल र भलिबल कोर्टका लागि १० लाख रुपियाँ विनियोजन गरिदिएको बताए ।

प्राध्यापक विश्राम कक्षले समेत नयाँ स्वरुप पाएको छ । अचेल सो कक्षमा प्राध्यापकहरु बस्न थालेका छन् । ठाउँ ठाउँका भित्तामा संस्कृतका सुक्ति लेखिएका छन् ।

क्याम्पसका प्राचार्य डा. ढकालले मुल प्रवेशद्वार निर्माणका लागि इबिडिङ गरिएको जानकारी दिए । संस्कृति झल्किने प्रवेशद्वार निर्माण हुनेछ । उनले नेपाल संस्कृत विश्वविद्यालयसँग ५० लाख रुपियाँ माग गरी सुधारका कार्य गरिएको बताए ।

हेल्पिङ हेन्ड नामक संस्थासँग अनुरोध गरी १५ लाख रुपियाँको खर्चमा खानेपानीको व्यवस्था गरिएको छ । नयाँ क्यान्टिन निर्माण गरिएको छ । पहिले निःशुल्कमा रहेको थियो भने अब क्यान्टिनले मासिक एक लाख १० हजार रुपियाँ घरभाडा क्याम्पसलाई बुझाउँछ ।

उनले बर्सेनि छाप्नुपर्ने मुखपत्र ११ वर्षपछि छापिएको बताउँदै रहेक प्राध्यापक र कर्मचारीका लागि ब्याचसमेत तयार गरी अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको बताए ।

“क्याम्पसभित्रको स्वरुप नयाँ भयो तर क्याम्पसको ठिक बाहिर फोहर सङ्कलन गर्ने कार्यलाई रोक्न सकेका छैनौँ । त्यसका लागि पनि पहल भइरहेको छ” उनले भने ।

Thuprai - Books and E-books