After SEE Portal

युएसएआइडीले पाँच वर्षमा ११ अर्ब सहयोग गर्ने

Bridge Course

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले पाँचमा करिब ११ अर्ब रुपियाँसम्मको सहायता प्रदान गर्ने उद्घोष गरेको छ । सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच विस्तार गर्न सहयाता प्रदान गर्ने भएको हो ।

उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहनेछ । यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप मजबुत बनाउने भनिएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले भने, ‘नेपालको विकास यात्रामा युएसएआइडी ७० वर्षभन्दा लामो समयदेखि अडिग साझेदारको रूपमा रहेको छ । यी नयाँ सहायता विस्तारले नेपालका बालबालिकाका लागि ढोकाहरू खोल्न जारी राख्नेछन् र होनहार युवाहरूलाई आफ्नो सम्पूर्ण क्षमता साकार पार्न तथा आफ्ना समुदाय र देशको विकासमा सार्थक रूपमा योगदान पुर्याउन मद्दत गर्नेछन् ।’

 प्रारम्भिक कक्षा सिकाइ

कक्षा १–३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन युएसएआइडीले आगामी पाँच वर्ष नेपालका सात ओटै प्रदेशका स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ । विविध पृष्ठभूमि र क्षमताका विद्यार्थीसँग काम गर्न शिक्षकशिक्षिका अझ सुसज्जित होउन् भन्ने उद्देश्यले शिक्षक तालिमलाई परिमार्जन गर्न युएसएआइडीले स्थानीय सरकारहरूसँग सहकार्य गर्ने बताइएको छ । त्यसका साथै युएसएआइडीले सीमान्तकृत समुदायहरूमा रहेका न्यून उपलब्धिमूलक विद्यालयमा पाठ्यपुस्तक, शौचालय, पुस्तक कुना र कक्षाकोठा सुधारलगायतका विविध आवश्यकताहरूमा सहयोग पुर्याउने प्रत्यक्ष अनुदान पनि उपलब्ध गराउने बताएको छ ।

 शिक्षा क्षेत्रीय प्रत्यक्ष वित्तपोषण

युएसएआइडीले सबै प्रदेशमा कक्षा १–१० सम्मका विद्यार्थीलाई सहयोग गर्ने सङ्घीय, प्रादेशिक तथा पालिका सरकारहरूको क्षमतालाई मजबुत बनाउनेछ । नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई योजना तर्जुमा र बजेट निर्माणका साथै पहुँच अभिवृद्धि, समता तथा समावेशीकरणको प्रवर्द्धन र शिक्षा प्रणालीको उत्थानशीलता सुदृढ गर्नेसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनमा पनि युएसएआइडीले सहयोग गर्ने जनाएको छ ।

समतामूलक तथा समावेशी शिक्षा

आफ्नो शिक्षा अपूरै छोड्ने सर्वाधिक जोखिममा रहेका युवामा ध्यान केन्द्रित गर्दै युएसएआइडीले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठामा फिर्ता ल्याउनेछ, विद्यालय बिचमै छाड्नेको सङ्ख्या घटाउनेछ र सबै विद्यार्थीका लागि गुणस्तरीय सिकाइ अनुभवको प्रत्याभूति गर्नेछ । यस पञ्चवर्षीय कार्यक्रमको कार्यान्वयन प्लान इन्टर्नेसनल र सोसम्बद्ध समूहले गर्ने युएसएआइडीले जानकारी दियो ।

नेपालमा युएसएआइडीले सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी शिक्षा क्षेत्रका साझा प्राथमिकताहरूमा काम गर्ने छ । शिक्षा क्षेत्रमा आफ्नो साझेदारीमार्फत युएसएआइडीले सीमान्तकृत युवा र प्रारम्भिक कक्षाका विद्यार्थीका विशिष्ट आवश्यकताहरूको सम्बोधन पनि गर्दछ, जसले नेपालको शिक्षा क्षेत्रमा उच्च गुणस्तरीयपन र अझ बढी समावेशी र समतामूलक शैक्षिक प्रणालीप्रति योगदान पुर्याउँछ । कक्षाकोठामा सबै बालबालिका सफल हुने सम्भावना बढाउन सहयोग प्रदान गर्छ ।

 

A Levels MA