Bachelors Portal

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकीछिन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले ।

तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले  तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षाका लागि खर्च जुटाउँदै आएकीछिन् । उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकीछिन् । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकीछिन् ।

“हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,” उर्मिलाले भनिन्, “तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो ।”

२०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गरकी उनले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन् । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उहाँको भनाइ छ । उनको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उनका श्रीमानले किराना पसल सञ्चालन गरेका छन् ।

उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेका छन् । “तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ”, उर्मिलाले भनिन्, “अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी  भइरहेको छ ।” उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताइन् । सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ ।

Thuprai - Books and E-books