निजी विद्यालयहरूलाई शैक्षिक गुठीमा लैजान नसकिने विद्यालय सञ्चालकहरूले बताएका छन् आज प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आयोजना गरेको छलफलमा आफ्नो धारणा राख्दै सञ्चालकहरूले लगानी डुब्ने र समस्या सिर्जना हुने भन्दै गुठीमा रुपान्तरण गर्न नसकिने बताएका छन् ।
बैठकमा बोल्दै उच्च माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले संविधानले समेत शैक्षिक गुठीको परिकल्पना नगरेको भन्दै आफूहरू गुठीमा जान नसक्ने बताए । उनले भने, ‘हाम्रो संविधानले शैक्षिक गुठीको परिकल्पना गरेको छैन । प्रश्न उठ्छ, आजको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने अब हामीले आम विद्यार्थीहरूलाई हो कि ? तिर्न सक्नेलाई उनीहरूले तिरेर गर्ने, तिर्न नसक्नेहरूलाई सुविधा बढाउने । यो माननीयज्यूहरूले फैसला गर्नुपर्ने विषय यहाँहरूको हातमा आइपुगेको छ । त्यसै गरी, माध्यमिक तहको शिक्षा निःशुल्क र आधारभूत तहसम्म अनिवार्य गर्ने प्रावधान सार्वजनिक वा सामुदायिक विद्यालयको हकमा हो कि, निजीकोमा पनि आकर्षित हुन्छ ? हरेक व्यक्ति वा विद्यार्थी इकाई हो र विद्यालय रोज्ने अधिकार हो भन्ने मान्यता राख्ने हो कि ? राज्यले प्रतिविद्यार्थी लागत अनुरूप भौचर प्रणाली लागू गर्ने हो ? यो फैसला गर्नुपर्नेछ ।’
अध्यक्ष सिलवालले सांसदहरूको छोराछोरी समेत निजी विद्यालयमा पढिरहेका भन्दै निजी विद्यालयहरूको विरोधमा बोल्नेहरूमाथि समेत प्रश्न उठाए । उनले क्रान्तिकारी कुरा गर्नेका छोराछोरी नै निजी विद्यालयमा पढिरहेको रेकर्ड आफूहरूसँग रहेको उल्लेख गरे ।
उनले भने – ‘माननीयज्यूहरूको छोराछोरी कहाँ पढ्छन् त त्यति हेरे पुग्छ नि । अरू धेरै जानै पर्दैन । कति स्वदेशमा पढ्नुहुन्छ ? कति क्रान्तिकारी कुरा गर्नेका छोराछोरी कहाँ–कहाँ छन् ? त्यो रेकर्ड त हामीसँग पनि त छ नि । त्यसो हो भने यहाँहरूले गरेर देखाऔँ न । सरकारी स्कुल राम्रो बनाऔँ ।’
प्याब्सनका निःवर्तमान अध्यक्ष टिकाराम पुरीले निजी विद्यालयहरू गुठीमा जान नसक्ने बताए । उनले गुठीमा जाँदा आफूहरूको लगानीलाई व्यवस्थापन गर्न नसक्ने बताए । उनले गुठीमै गए पनि सरकारले निःशुल्क शिक्षा दिन नसक्ने भन्दै गुठीको कुरा गरेर आफूहरूको लगानी डुबाउने कुरा मात्रै भएको बताए । उनले निजी विद्यालयहरूलाई गुठीमा लगेमा आफूहरू आन्दोलित हुने चेतावनी दिए ।
बैठकमा बोल्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमालले कक्षा १० मा परीक्षा जरुरी रहेको बताए ।
सो छलफलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले निजी विद्यालयहरूलाई स्वायत्तता दिनुपर्ने बताए । उनले पाठ्यक्रम, परीक्षा र अनुगमन बाहेकका विषयहरूमा निजी विद्यालयहरूलाई स्वायत्तता दिनुपर्ने बताए ।