वरिपरि तारे होटल । होटलमा चलाइएका स्पा, क्यासिनोको रोनक नै अलग्गै । ती रोनकबाट उत्पादन भएका बाछिटा पनि हुन सक्छन् यी कलिला बालिकाको दिन चर्या ।
‘धत् ! सम्झनाको लत पनि कस्तो । न त भुल्न नै सक्छु न त अंगाल्न । ऊफ ! बाध्यताका जञ्जिरमा जेलिएको धेरै भयो । उसको पासमा विवी छे । तोडेर परिवारलाई खण्डित बनाउँ त भन्न सक्दिन । तर यो वेलगाम दिल उसैमा बस्यो क्यारुम् त नि म !’ स्कुल पोसाक लगाएकी पहाडी मुलकी करिब १६–१७ वर्षीया किशोरीले चुरोटको सर्को लिँदै भनि ।
उसको छेवैमा रहेकी उसैकी उमेर समूहकी अर्की केटीले झोला फाल्दै भनि,‘धत त त लक्की रैछ, कोनशा त लिख पढकर जब गर्ने वाला थिस्, तेरोे वो गोरखपुर सो आ चुका सुनौली !’ चुरोटको सर्को लिँदै होटलको र्याकबाट निकालेर गोल्डेन वाक लेखिएको रक्सी बोतलबाटै ठाडो घाँटी लगाएर रित्याई । अर्कीले भन्दै थिई, ‘पुरै नतोड्न, कुच बुँध मेरो लागि पनि जोगा ।’ उसको झोलाबाट सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा कक्षा-११ (नेपाली संस्करण) लेखिएको पुस्तक भित्तामा बजारियो । ऊ झट्ट हेर्दा तराईमुलकी ठिटी जस्ती देखिन्थी ।
ती भन्दा टिठ लाग्दो अवस्था थियो अर्का दुई ठिटीको । उनीहरूको उमेर पहिलेकाको भन्दा पनि दुई तीन वर्ष कम थियो । सबै जना तराइ मुलका । किशोरी । उनीहरूले लिएको चुरोटमा नमिठो गन्ध आउँथ्यो । छेउमा बस्नेलाई लहरे खोकी लागेझै आभास हुन्थ्यो । एउटै गतिविधि झट्ट परबाट हेर्दा लाग्थ्यो उनीहरू पनि कसैको प्रतिक्षामा थिए । झोलामा किताब । हातमा चुरोट र रक्सी ।
यो दृष्य थियो गत पुस १२ गते भौरहवा अस्पालत रोडको एउटा सानो होटलको । मैले दुई घण्टा त्यहाँको दृष्य हेरी मात्र रहें । मेरो पेसाको धर्मले सोध्न मन थियो तिमी कुन स्कुल/कलेज पढ्छौं ? आमा बुबा के गर्नुहुन्छ ? किन यसरी रक्सी चुरोटमा जीवन वरवाद गरेको ? घरमा गएर सोद्न मन थियो । छोरी कति घण्टा स्कुलमा बस्छे ? उसको उपलब्धी कस्तो छ ? एक महिनाको हाजिरी कति दिनको छ ? स्कुलमा गएर हेर्ने गर्नु भएको छ ? यी सबै किन नखोजेको । तर ती सब गर्न मसंग सामथ्र्य थिएन । म भित्रको आमा हृदयले स्वकृति पनि दिएन । उनीहरूको वास्तविक कथालाई उतारेर दुनियाँ सामु छर्न मानेन । दुई घण्टामा यस्ता युवतीका करिब पाँच–सात हुल आए त्यो सानो होटलमा । कोही केही समयपछि जोडामा कोठा भित्र छिरे । केही जोडामा निस्किए कोही पर्खिरहेका ।
वरिपरिका तारे होटल । होटलमा चलाइएका स्पा, क्यासिनोको रोनक नै अलग्गै । ती रोनकबाट उत्पादन भएका बाछिटा पनि हुन सक्छन् यी कलिला बालिकाको दिन चर्या ।
काठमाडौं उपत्पकाका गल्ली गल्लीमा २० वर्ष अगाडिदेखि भौतारिने म । यस्तो सम्म कुलतमा फसेका किशोरी भेटेको थिइन । ममा तमासको हलचल आइदियो । मन मुटु मस्तिष्कलाई आघात पारिरह्यो । छेवैमा मेरो मनोविज्ञानलाई ख्याल गर्दै बसेको मेरो बाझ्ने साथीलाई झर्केर कराउन पुगे । विचरा उसलाई पनि के थाहा । पहिलो पटक त आएको । नबोली सडक तिर लाग्यो । सायद, अन्तस्करणबाटै नारीको जन्मलाई धिक्कारे । विचरा ती अवोध किशोरीलाई के थाहा उनीहरूको यो गतिविधिले कुन मोडमा हुत्याइ दिन्छ जीन्दगी । जिन्दगीको गोरेटोले जुराएका संयोगका यात्रीहरू मुलबाटो देखि गन्तव्य तर्फ मोडिहाल्छन् । उनीहरूको भागमा पर्छ केवल कुण्ठा र तिरस्कार ! जीवन एउटा चौतारी न होे । वटुवाले शान्तसंग बसिदिए शीतलता प्रदान गर्ने मन्दिर । नत्र त कारागार । शिसाको महल ।
सोध्न मन छ । त्यो ठाउँमा पनि होलान् शिक्षा सुधारका नाममा चलाइएका सरकारी तथा गैर संघ संस्था । शिक्षाका विषयमा चल्ने कलम पनि ? किन ती कलमले यो विषय देखेन ? कि यो समस्या नै होइन ! कि देखेर पनि सरोकारवालाले वास्ता गरेन । कि यी विषय गौण न हो ? दुई घण्टामा एकै ठाउँमा बस्दा भेटिएका १०–१२ जना मात्र हुन् कि अरु पनि यसरी विद्यालय जान्छु भन्दै कुलतमा फसेका छन् ?
सरकारले २०७५ असोज २ गते अनिवार्य तथा निःशुल्क शिक्षा ऐन– २०७५ जारी गर्यो । यो को दफा १९ को उपदफा १ को ‘क’ अनुसार २०८५ वैशाख १ गतेदेखि आधारभूत तह (कक्षा–८) पूरा नगर्ने व्यक्तिले सरकारी कार्यालयमा काम गर्न नपाउने भनिएको छ । उक्त उपदफाको ‘ख’ ले आधारभूत शिक्षा नलिएका व्यक्तिलाई व्यवसाय गर्न समेत बन्देज लगाउने भनेको छ ।
पाँच वर्षअघि प्रमाणीकरण भएको यो ऐन अनुसार २०८५ साल वैशाखदेखि सबै प्रावधान कार्यान्वयन हुने छ । यो भएको खण्डमा यसरी विद्यालयबाटै विचैमा निस्किएर आफ्नो कलिलो जवानीलाई बजारमा लिलाम गर्नेका लागि के व्यवस्था गर्छ ? कि अभिभावकलाई जीविकोपार्जनका लागि वैकल्पिक मार्ग सुझाएर जनचेतना अभिवृद्धि गर्छ ।
महालेखापरीक्षकको ६१ औं प्रतिवेदन अनुसार सामुदायिक विद्यालयको आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) विद्यार्थी भर्ना सङ्ख्या वर्षेनी घट्दै गएको छ । २०७९ मा भर्ना भएका विद्यार्थीमध्ये शैक्षिक वर्ष २०७५ को तुलनामा २०७९ मा कुल विद्यार्थी सङ्ख्या ३.३३ प्रतिशतले घटेका छन् । सामुदायिक विद्यालयमा ११.८२ प्रतिशतले घटेको र संस्थागत विद्यालयमा २२.५७ प्रतिशतले बढेको देखिन्छ । सबै बालबालिका विद्यालयमा अनिवार्य भर्ना र निःशुल्क शिक्षाको लागि शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि भइरहे तापनि सामुदायिक विद्यालयहरूमा अपेक्षित रूपमा शैक्षिक गुणस्तर सुधार हुन नसकेका कारण विद्यार्थीको आकर्षण घटेको यो प्रतिवेदनले भनेको छ । सबैलाई अनिवार्य शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको कार्यक्रम सफल बनाउन सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्छ भन्दै थालिएका सबै योजनालाई पनि सोद्ने बेला आएको छ ।