दुई करोड तीन लाख ४१ हजार ६२३ साक्षर

सन् २०१५ सम्ममा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने सरकारी प्रतिबद्धताले हावा खाएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्का विभाग) ले आज राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकको साक्षरता दर ७६ दशमलब २ प्रतिशत पुगेको छ । जबकी २०६८ सालमा यो प्रतिशत ६५ दशमलब ९ थियो । साक्षरता दर बितेको १० वर्षमा १० प्रतिशतले वृद्धि भएको छ । अर्थात् बर्सेनि एक प्रतिशत बिन्दुले साक्षरता दर वृद्धि भएको निराशा लाग्दो अवस्था देखिएको छ ।

जनगणनाको नयाँ तथ्याङ्कले शिक्षामा गरिँदै आएको अर्बाैँको लगानी बालुवामा पानी सावित भएको छ । २०६५ सालबाट अभियानका रुपमा साक्षरता अभियान सञ्चालन गरियो । छ वर्ष सघन रुपमा र त्यसपछि पनि सञ्चालन भइरहेको छ । १५ देखि ६० उमेर समूहको साक्षरतामा राज्यले हालसम्म झण्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ । त्यस्तै शिक्षामा राज्यको वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ । यस पटकको जनगणनामा कम्तीमा ८५ प्रतिशत साक्षरता दर नाघ्ने पूर्वानुमान गरिएको थियो ।

राष्ट्रिय जनगणनाले पाँच वा सोभन्दा माथिको उमेरका कुल दुई करोड ६६ लाख ७५ हजार ९७५ जनसङ्ख्यामध्ये दुई करोड तीन लाख ४१ हजार ६२३ जनाले पढ्न र लेख्न दुवै जान्ने देखाएको छ ।

पुरुषको साक्षरता दर ८३ दशमलब ६ प्रतिशत र महिलाको साक्षरता दर ६९ दशमलब ४ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा पुरुष ७५ दशमलब १ प्रतिशत र महिला ५७ दशमलब ४ प्रतिशत साक्षर थिए । 

यसैगरी बागमती प्रदेशमा सबैभन्दा बढी ८२ दशमलब १ प्रतिशत साक्षर रहेको पाइएको छ । पुरुषको साक्षरता दर गण्डकी प्रदेशमा उच्च रहेको छ । मधेस प्रदेशमा सबैभन्दा कम साक्षरता दर ६३ दशमलब ५ प्रतिशत रहेको छ । पुरुष र महिलाको साक्षरता दर समेत मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ ।

त्यस्तै सबै जिल्लामा ५५ प्रतिशतभन्दा धेरै साक्षरता दर देखिएको छ । काठमाडौँ जिल्लामा सबैभन्दा बढी ८९ दशमलब २३ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा कम ५७ दशमलब ७५ प्रतिशत साक्षरता दर रहेको जनगणनाले देखाएको छ ।

ललितपुरको साक्षरता दर ८८ दशमलब ८ प्रतिशत, भक्तपुरको ८७ दशमलब ९६ प्रतिशत, कास्कीको ८७ दशमलब ७३ प्रतिशत र चितवनको ८३ दशमलब ६८ प्रतिशत रहेको छ । त्यस्तै महोत्तरीको ५९ दशमलब ७७ प्रतिशत, सर्लाहीको ६० दशमलब ३१ प्रतिशत, हुम्लाको ६३ दशमलब ८४ प्रतिशत र बाराको ६४ दशमलब ५४ प्रतिशत रहेको छ ।

पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलनामा काठमाडौँमा क्रमशः ९४ दशमलब १९ प्रतिशत र ८४ दशमलब १६ प्रतिशत रहेको छ । रौतहटमा पुरुषको ६६ दशमलब २ र महिलाको ४९ दशमलब ४८ रहेको पाइएको छ । पुरुष र महिलाको सबैभन्दा कम साक्षरता दर रौतहटको नै हो ।

नतिजाको सार संक्षेप (प्रेस विज्ञप्ति)

१.     राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २,९१,६४,५७८ रहेको छ, जसमध्ये पुरुषको संख्या १,४२,५३,५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १,४९,११,०२७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ । गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २,६४,९४,५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो । 

२.    राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २,९२८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन्छ । 

३.    जनगणना अवधिमा वार्षिक औषत जनसंख्या वृद्विदर ०.९२ प्रतिशत प्रति वर्ष रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रति वर्ष थियो । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी बार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम बार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (–१.६७ प्रतिशत) रहेका छन् ।

४.    जनगणनाको नतिजा अनुसार जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० वर्ग कि.मि. मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रति वर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रति वर्ग किलोमिटर) रहेको छ ।

५.    जनगणना २०७८ अनुसार देशमा बसोवास गर्ने कुल परिवार ६६,६६,९३७  छन । जसमध्ये व्यक्तिगत परिवार ६६,६०,८४१ र संस्थागत परिवार ६,०९६ रहेका छन् । प्रति परिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४,२७,३०२ रहेको थियो ।

६.    २०७८ को जनगणना अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६६.१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । २०६८ अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो ।

७.    भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ । प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको । जिल्लागत रुपमा  सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं (२०,४१,५८७ जना) र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ (५,६५८ जना) हो ।

८.     जम्मा १५,५५,९६१ परिवारहरुबाट २१,९०,५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्छन् जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९,२१,४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।

९.    १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । १० वर्ष वा सो भन्दा बढी उमेरका र कम्तिमा एक पटक विवाह गरेका धेरैजसो व्यक्तिहरु (३४.४ प्रतिशत) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ । दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२.३ प्रतिशत छन् । १० वर्षमूनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु ०.३ प्रतिशत छन् । 

१०.    कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् । 

११.    देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ । 

१२.    हाल अक्सर बसोबास गरिरहेको गाउँपालिका वा नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै पनि बसोबास नगरेका व्यक्तिहरु ६८.० प्रतिशत छन् जसमध्ये पुरुष ७७.० प्रतिशत र महिला ५९.४ प्रतिशत रहेका छन् । कुल जनसंख्याको १०.८ प्रतिशत व्यक्तिहरुको यस अघिको बसोबास सम्बन्धित जिल्लाको अर्को गाउँपालिका वा नगरपालिकामा, १८.२ प्रतिशत जनसंख्याको अर्को जिल्लामा र ३.१ प्रतिशतको यस अघिको बसोबास विदेश रहेको छ । 

१३.    बसाइ सर्नुको मुख्य कारणमा मुख्य कारणमा सबैभन्दा बढी ३८.२ प्रतिशत विवाह रहेको छ । हाल बसोबास गरेको स्थानमा आउनुका अन्य कारणहरु काम÷रोजगारी १५.२ प्रतिशत, व्यापार÷व्यवसाय २.८ प्रतिशत, अध्ययन÷तालिम ७.८ प्रतिशत, आश्रित १९.५ प्रतिशत, प्राकृतिक प्रकोप ०.७ प्रतिशत, कृषि ३.९ प्रतिशत, घर फर्किएको ४.१ प्रतिशत र अन्य ६.६ प्रतिशत रहेका छन् । बसाइँसराइ गरी आएका पुरुषमध्ये सबैभन्दा बढी ३०.६ प्रतिशत काम÷रोजगारीको कारण र महिला ५८.२ प्रतिशत विवाहका कारण रहेका छन् । 

१४.    १५–४९ वर्षका विवाहित महिला (६१,४५,०३९ जना) मध्ये १२ प्रतिशतले गणनाको समयसम्म कुनै पनि जीवित बच्चा जन्माएका छैनन् भने २ जना जीवित बच्चा जन्माएका महिलाको संख्या सबैभन्दा बढी ३३ प्रतिशत रहेको छ । गणनाको समयसम्म १ जना मात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३.१ प्रतिशत रहेका छन् भने ९ वा सो भन्दा बढी जीवित बच्चा जन्माउने महिला ०.१ प्रतिशत रहेको छ । 

१५.    गणनाको सन्दर्भ अवधि (गणना भएको दिन देखि १२ महिना अघिको समयावधि) मा कुल प्रजनन् उमेर समूह (१५–४९ वर्ष) का १२,९७६ महिला मृत्युमध्ये ६५३ जना (५ प्रतिशत) मलिाको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको भर्वल अटप्सीबाट उल्लिखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत ) महिलाको मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको छ । यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४,१२,९३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्यु दर १५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ ।

१६.    अठार बर्ष भन्दा कम उमेरका कुल ९८,६९,५८३ बालबालिकामध्ये ७७.९ प्रतिशत बालबालिकाहरु आमाबाबु दुबैसँग बस्ने गरेका छन् । आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत, बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेका छन् । 

१७.    १० वर्ष वा सो भन्दा बढी उमेरका २,३९,५८,८६८ जना व्यक्तिहरु मध्ये १,४९,८३,३१० (६२.५ प्रतिशत) जनाले गणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन् जसमध्ये ४१.० प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिना भन्दा कम समय काम गरेको र ३७.५ प्रतिशतले कुनै पनि आर्थिक काम गरेका छ्रैनन् ।

१८.    १० वर्ष वा सो भन्दा बढी उमेरका आर्थिक काम गरेका कुल जनसंख्या १,४९,८३,३१० मध्ये ५२.६ प्रतिशत पुरुष र ४७.४ प्रतिशत महिला रहेका छन् । आर्थिक काम गरेका जनसंख्या मध्ये पेशागत रुपमा सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरु ५०.१ प्रतिशत रहेका छन् । यसपछि क्रमशः सामान्य वा प्राथमिक पेशाका कामदारहरु २३.० प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरु ५.८ प्रतिशत, शिल्पकला तथा कालिगढ र यस सम्बन्धी व्यापार गर्ने कामदारहरु ५.६ प्रतिशत, व्यवस्थापकहरु ५.१ प्रतिशत रहेका छन् ।

१९.    दश वर्ष वा सो भन्दा बढी उमेरका कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिहरु मध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशत विद्यार्थी, २१.९ प्रतिशत घरधन्दा, ११.० प्रतिशत बृद्ध अवस्था, ७.५ प्रतिशत पारिवारिक हेरचाह, ७.४ प्रतिशत अन्य, २.५ प्रतिशत अशक्त÷बिरामी, २.२ प्रतिशत पेन्सन÷आयस्ता र ०.३ प्रतिशत सामाजिक कार्य÷स्वयंसेवा को कारणले नगरेको पाइएको छ । 

२०.    ५ वर्ष वा सो भन्दा कम उमेरका कुल ३०,०७,६४८ जना बालबालिका मध्ये ७४.० प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २६ प्रतिशतको जन्मदर्ता नगरेको देखिन्छ ।

२१.    जनगणनाको नतिजा अनुसार देशभर जम्मा ७५,५२,०६६ वटा घर संरचना रहेको छ, जसमध्ये मुख्यरुपमा आवासको लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ÷धन्सार÷मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग÷कलकारखाना र संस्थागत तथा सरकारी ०.४÷०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् । 

२२.    संस्थागत परिवार बाहेकका कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेको छन् । गत २०६८ सालकोे जनगणनामा यो मान क्रमशः ८५.३ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो ।

२३.    कुल ६६,६६,९३७ परिवारमध्ये ३१.५५ प्रतिशत परिवारमूली महिला रहेका छन् जुन २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढि हो । 

२४.    संस्थागत परिवार बाहेकका ६६,६०,८४१ परिवार मध्ये ५७.० प्रतिशत परिवारले धारा÷पाइप (घरपरिसर भित्र र बाहिर समेत) बाट, २९.८ प्रतिशतले ट्युववेल÷हाते पम्पबाट, १.५ प्रतिशतले ढाकिएको इनार÷कुवाबाट, ३.९ प्रतिशतले मूल धाराबाट र ४.६ प्रतिशतले जार÷बोतलबाट पिउने पानी मुख्यरूपमा प्रयोग गर्ने गरेका छन्  भने खुला इनार÷कुवाबाट पानीको प्रयोग गर्ने घरपरिवार २.१ प्रतिशत, नदी÷खोलाबाट पिउने पानी प्रयोग गर्ने परिवारहरु ०.४ प्रतिशत रहेका छन् । राष्ट्रिय जनगणना २०६८ मा कुल ५४ लाख २३ हजार २९७ परिवार मध्ये ४७.८ प्रतिशत परिवारले धारा÷पाइपबाट (घरपरिसर भित्र र बाहिर समेत) र ३५.१ प्रतिशतले ट्युववेल÷हाते पम्पबाट पिउने पानी मुख्य रूपमा प्रयोग गर्ने गरेका थिए ।

२५.    देशका ६६,६०,८४१ परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ÷दाउरा प्रयोग गर्ने गरेका छन् । खाना पकाउन अक्सर एल.पि.ग्याँस, बिजुली, गुईठा÷गोरहा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ४४.३, ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।

२६.    बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत रहेको छ जुन २०६८ मा  ६७.३ प्रतिशत थियो ।  

२७.    संस्थागत बाहेकका ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको सुविधा नभएको पाइएको छ । गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवार ३८.२ प्रतिशत थिए । 

२८.    संस्थागत बाहेकका ६६,६०,८४१ परिवारमध्ये २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ । परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेकोे छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशत बिन्दुले बढी हो । 

२९.    कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषि बाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६,२७,८८७ (९.४%) रहेका छन् । 

३०.    संस्थागत बाहेकका ६६,६०,८४१ परिवारमध्ये ३.८८ प्रतिशत परिवारहरुमा जनगणनामा सोधिएका कुनै पनि साधन तथा सुविधाहरु उपलव्ध नभएको पाइयो भने ९६.१२ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध भएको पाइएको छ । साधारण मोवाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ प्रतिशत छ भने स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ । कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन, ३७.७२ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२१ प्रतिशतमा साइकल उपलव्ध रहेको छ ।

मातृमृत्युसम्बन्धी नतिजा

३१.   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा मातृ मृत्यु अनुपातको अनुमान तथा मातृ मृत्युका कारणहरू पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन सम्पन्न भएको छ । यस अध्ययनबाट प्राप्त तथ्य र प्रमाणहरूले राष्ट्रिय तथा प्रादेशिक तहमा तथ्यपरक नीति निर्माण गरी मातृ स्वास्थ्यमा सुधार ल्याउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । पहिलो चरणमा जनगणनामा खटिएका गणकले विगत १२ महिनामा १५–४९ वर्ष उमेर समूहका मृत्यु भएका महिलाको मृत्यु सूचना फाराम भरी सुपरिवेक्षकलाई बुझाएका थिए र उक्त मृत्युको सूचना तोकिएका तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई दिएका थिए । अध्ययनको दोस्रो चरणमा तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीले प्रत्येक मृतक महिलाको घरपरिवारमा गई मृत्युको सूचना फाराममा रहेको जानकारीको पुनः प्रमाणीकरण र गर्भावस्थासँग सम्बन्धित मृत्युको पहिचान गरेका थिए । यसरी पहिचान गरिएको प्रत्येक गर्भावस्थासँग सम्बन्धित मृत्युको विस्तृत विवरण स्वास्थ्यकर्मीले भर्बल अटप्सी फाराम मार्फत सङ्कलन गरी तथ्याङ्क विश्लेषण गरिएको थियो । फलस्वरुप नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ रहेको देखाएको छ । प्रादेशिकस्तरमा मातृ मृत्यु अनुपात कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमशः १५७, १४०, ९८, १६१, २०७, १७२ र १३० देखाएको छ । त्यसैगरी भौगोलिक अवस्थितिअनुसार मातृ मृत्यु अनुपात हिमाल, पहाड र तराईमा क्रमशः १३३, १५७ र १४७ रहेको देखाएको छ । नेपालमा मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ ।   राष्ट्रिय जनगणना २०७८ सम्बन्धी अन्य जानकारी१) जनगणनामा देशको निर्धारित सीमानाभित्र निश्चित समयमा अक्सर बसोबास गरिरहेका व्यक्ति तथा परिवारहरुको जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरणहरु व्यवस्थितरूपमा संकलन प्रशोधन तथा विश्लेषणमार्फत सान्दर्भिक सूचक तथा तथ्याङ्क प्रकाशन गर्ने गरिन्छ । 

२) नेपालमा वि.सं. १९६८ (सन् १९११) बाट शुरु भई  लगभग प्रत्येक १०÷१० वर्षको अन्तरमा सञ्चालन हुँदै आएको जनगणना श्रृङ्खला अन्तरगतको वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना नेपालको बाह्रौं र नेपालको संविधान बमोजिमको संंघीय प्रणाली पश्चातकोे पहिलो जनगणना हो । 

३) राष्ट्रिय जनगणना २०७८ मा देशभित्र अक्सर बसोबास गर्ने हरेक व्यक्ति तथा परिवार कोही नछुट्ने र कोही नदोहोरिने सिद्धान्त अवलम्वन गर्नुको साथै सबै व्यक्तिको पूर्ण सहभागिता होस भनी जनगणनाको नारा “मेरो गणना–मेरो सहभागिता” राखी पारिवारिक तथा व्यक्तिगत विवरणहरु संकलन गरिएको थियो ।

४) वि.सं. २०७८ बैशाख २६ देखि जेष्ठ १४ गतेसम्म सुूचिकरण कार्य र वि.सं. २०७८ साल जेष्ठ २५ देखि आषाढ ८ गते सम्म मूूल गणना गर्ने गरि तय गरिएकोमा कोभिड–१९ को कारण कार्यतालिका अवरुद्ध भई करिव ५ महिना ढिलो हुन गयो । 

५) संशोधित कार्य तालिका अनुसार पहिलो चरणको घरपरिवार सूचीकरण कार्य वि.सं. २०७८ साल भाद्र ३० देखि असोज १८ सम्म (बीस दिन) र दोस्रो चरणको मुख्य गणना कार्य वि.सं. २०७८ साल कार्तिक २५ देखि मंसिर ९ सम्म (पन्ध्र दिन) संचालन भएको थियो । 

६) जनगणनाको उद्देश्य अनुरुप कोहि नछुटुन र कोहि नदोहारिउन भनेर देशैभरिको गणना क्षेत्र नक्सा प्रत्येक सुपरिवेक्षक तथा गणकलाई उपलब्ध गराईएको थियो । साथै उक्त गणना क्षेत्रका नक्साहरुलाई डिजिटल रुपमा समेत हेर्न सकिने गरी वेव एप्लिकेशन तयार गरिएको थियो । 

७) राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्य सञ्चालनको लागि ७ वटा प्रदेश जनगणना कार्यालय तथा ८० वटा जिल्ला जनगणना कार्यालयहरु गरी जम्मा ८७ वटा जनगणना कार्यालयहरु र ३४९ वटा स्थानीय जनगणना कार्यालयहरु स्थापना भएका थिए । 

८) जनगणनाको फिल्ड कार्यका लागि १८७१ व्यवस्थापकीय कर्मचारी, ८५०० सुपरिवेक्षक र ३६००० गणकहरु परिचालन गरिएको थियो । सुपरिवेक्षक र गणकहरुमा महिलाको सहभागिता ५० प्रतिशत भन्दा बढी रहेको थियो ।

९) जनगणना सञ्चालनका विविध पक्षहरुको जाँच तथा सोधिने प्रश्नावलीको परिक्षण गरि जनगणनालाई व्यस्थापकिय तथा प्राविधिक रुपमा चुस्त दुरुस्त बनाउनका लागि सबै प्रदेश, हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी १४ जिल्ला बाट ५५ वडाका ६० वटा गणना क्षेत्रमा पाइलट जनगणना सञ्चालन गरिएको थियो ।

१०) जनगणना पश्चात जनगणनाको गुणस्तर जाँच गर्न विश्वव्यापी रुपमा अपनाइने गणना जाँच सर्वेक्षण ९एयकत भ्लगmभचबतष्यल क्गचखभथ(एभ्क्० सञ्चालन गर्न पहिलो पटक जनगणना गर्ने निकाय (राष्ट्रिय तथ्याङ्क कार्यालय) बाहेकको स्वतन्त्र निकाय – श्रम अध्ययन कार्यक्रम, मानविकी तथा समाजशास्त्र संकाय, त्रिभुवन विश्वविद्यालय मार्फत गणना जाँच सर्वेक्षण सञ्चालन गरिएको थियो । 

११) राष्ट्रिय जनगणना २०७८ मा संकलित मुख्य प्रश्नावली, घर तथा घरपरिवार सूचीकरण फाराम लगायत अन्य फारामहरुका तथ्याङ्क प्रशोधन र तालिकीकरण कार्य पूर्णरुपमा राष्ट्रिय तथ्याङ्क कार्यालयकै जनशक्तिबाट राष्ट्रिय तथ्याङ्क कार्यालय परिसरभित्रै सम्पन्न गरिएको छ । प्रश्नावलीको कोडिङ तथा सम्पादन तथा कम्प्युटर प्रविष्टि कार्यका लागि १०० जना कोडर तथा ३०० जना डाटा इन्ट्रि अपरेट मार्फत गरिएको थियो । 

१२) जनगणनाका सम्पूर्ण विवरणको प्रशोधन पश्चात पूर्ण नतिजा प्राप्तहुन समय लाग्ने भएकोले प्रश्नावलीको आवरण पृष्ठबाट भरिएका “कन्ट्रोल फाराम” का आधारमा प्रारम्भिक नतिजा तयार गरि २०७८ साल माघ ११ गते प्रारम्भिक नतिजा सार्वजनिक गरिएको थियो । 

१३) प्रारम्भिक नतिजा अनुसार जम्मा जनसंख्या २,९१,९२,४८० रहेकोमा सबै प्रश्नावलीको विस्तृत जाँच र प्रशोधन पश्चात् अन्तिम नतिजामा न्यून फरक पर्न गएको छ । 

१४) राष्ट्रिय जनगणना २०७८ मा राष्ट्रिय तथ्याङ्क कार्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा मातृ मृत्यु अनुपातको अनुमान तथा मातृ मृत्युका कारणहरू पहिचान गर्न मातृ मृत्युसम्बन्धी अध्ययन सम्पन्न भएको हो । 

१५) राष्ट्रिय जनगणनामा संयुक्त राष्ट्र संघको युएन स्ट्याटिस्टिक डिभिजनले प्रकाशन गरेको प्रिन्सिपल एण्ड रिकम्डेसन फर पपुलेसन एण्ड हाउजिङ सेन्सनकोे जनगणनासम्बन्धी अवधारणा र परिभाषालाई आधार मानेर अक्सर बसोबासका आधारमा गरिएको हुँदा मतदाता संख्या तथा अन्य विधिबाट गरिएका तथ्याङ्कसँग जनगणनाको तथ्याङ्क मेल नखान सक्छ ।

१६) देशमा अक्सर बसोबास गर्ने परिवारका सबै सदस्यहरु अस्थायीरुपमा विदेश गएको भए उत्तरदाताको अभावमा जनगणनामा गणना हुन छुट भएको हुन सक्छ । त्यस्तै डि.भि. पि. आर. आदि लिई बिदेश गएकाहरु यस जनगणनामा गणना गरिएका छैनन् ।

१७) यो जनगणना कोभिड–१९ महामारीको कारणले पुर्वनिर्धारित कार्यतालिका भन्दा केही पछि भएकोले विगतको  भन्दा यस पटकको जनगणनाको अन्तराल १० बर्ष ५ महिनाको हुन गएको छ । 

१८) हाल अंग्रेजी भाषामा राष्ट्रिय तथ्याङ्कीय प्रतिवेदन र नेपालीमा संक्षिप्त नतिजा सहितको प्रतिवेदन प्रकाशन गरिएको छ ।  

१९) प्रदेश, स्थानीय तह तथा वडातहका प्रकाशनहरु क्रमशः प्रकाशन गरिने छन् । 

२०) जात जाति, भाषा र धर्मसम्बन्धी नतिजा र अन्य बिस्तृत आँकडाका तथ्याङ्कीय प्रतिवेदन तथा बिषयगत विश्लेषणात्मक प्रतिवेदनहरु क्रमैसँग विभिन्न चरणहरुमा प्रकाशन गरिने छ ।