पर्वतमा एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन शुरु गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ गतेदेखि शुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइई स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । लकडाउनको समयलाई सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय पञ्चासे एफएम, रेडियो शालिग्राम र रेडियो कुशुमबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सबै ठाउँमा नपुगेकाले रेडियोमार्फत कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

विषयगत विज्ञता भएका शिक्षकहरुको परिचालन गरेर रेडियोमार्फत एसइई दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो ट्युसन कक्षा सञ्चालन गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । लामो समय परीक्षा स्थगन हुँदा र घरमा बस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीलाई व्यस्त राख्न र उनीहरुको सिर्जनात्मक विकास तथा पुनःताजगीका लागि हौसला प्रदान गर्न नगरपालिकाको खर्चमा रेडियोमार्फत ट्युसन पढाइ कार्यक्रम शुरु गरिएको जोशीले बताउनुभयो ।

नगरपालिकाको सहयोगमा रेडियोमार्फत पढाउने कार्यक्रम बुधबार सम्झौता भई शुक्रबारबाट शुरु भएको हो । एक महिनासम्म सञ्चालन हुने ट्युसन कक्षामा प्रत्येक विषयमा दुई–दुई शिक्षकले सहजीकरण गर्नुहुने भएको छ । प्रत्येक विषयका लागि हरेक दिन एक घण्टाको समय मिलाइएको र उक्त समयमा विद्यार्थीले रेडियो सेटको नजिकै पूर्ण तयारीका साथ कापी, कलम र किताब लिएर सिकाइमा लाभ लिन सक्ने कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले यसका लागि सबै अभिभावक, सरोकारवाला र विद्यार्थीलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

पञ्चासे एफएमबाट बिहान ९ बजेदेखि अङ्ग्रेजी विषयको कक्षा सञ्चालन हुने छ भने रेडियो शालिग्रामबाट बिहान ८ बजे गणित विषयको ट्युसन कक्षा शुरु हुनेछ । त्यसैगरी रेडियो कुशुमबाट बिहान ७ बजे विज्ञान विषयको कक्षा सञ्चालन गरिने नगर शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिनुभयो । प्रविधिको सदुपयोगमार्फत विद्यार्थीको सिकाइमा सहयोग पु-याउन सञ्चालन गरिएको रेडियो ट्युसन कार्यक्रमअन्तर्गत हप्तामा दुई दिन विषयगतरूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिने र उक्त प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीले विषयगत शिक्षकलाई आफूले नबुझेका र नजानेका प्रश्नहरु सोध्न सक्नेछन् भने शिक्षकले रेडियोबाटै जवाफ दिनुपर्ने व्यवस्था पनि गरिएको नगरपालिकाले जनाएको छ ।

Thuprai - Books and E-books