त्रिविले अनलाइन कक्षा सञ्चालन गर्ने

त्रिविले स्नातकोत्तर, एमफिल र पीएचडी तहको पठनपाठन अनलाइनमार्फत शुरू गरिसकेको छ । केही विभागले कार्ययोजना निर्माण गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले त्रिविका क्याम्पस–स्कुल–विभागलाई अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गरेको छ ।

आ–आफ्नो पहलमा विभिन्न क्याम्पस स्कुल विभागहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएकोमा ती सबै कक्षालाई यथावत सञ्चालन गर्दै अन्य कार्यक्रममा पनि अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण मिलाउन सो कार्यालयले अनुरोध गरेको हो । त्रिविले स्नातकोत्तर, एमफिल र पीएचडी तहको पठनपाठन अनलाइनमार्फत शुरू गरिसकेको छ । केही विभागले कार्ययोजना निर्माण गरिसकेका छन् ।

त्रिविका अन्य कार्यक्रममा पनि अनलाइन कक्षा सञ्चालन गर्नका लागि आवश्यक अध्ययन गर्न भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. विनिल अर्यालको संयोजकत्वमा स्कुल अफ कार्यालयका नि, प्रमुख विष्णु प्रसाद अर्याल सदस्य रहने गरी एक समिति गठन गरी अध्ययन भइरहेको शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।

त्रिविले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक सफ्टवेयरको व्यवस्था गरिसकेको र हुनाले केही दिनमा नै उपलब्ध गराइने र आवश्यक भएमा सोका लागि प्राविधिक सहयोग पनि उपलब्ध गराइने शिक्षाध्यक्ष भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अनलाइन कक्षा सञ्चालनका लागि कानुनी व्यवस्था पनि तुरुन्तै मिलाइने भएको छ।

सबै क्याम्पस स्कुल विभागहरुले विद्यार्थीसँग सम्पर्क गर्ने व्यक्ति तोकी (विद्यार्थी संख्याको आधारमा)  विद्यार्थीलाई सम्पर्कमा रहन समेत सो विज्ञप्तिमा आग्रह गरिएको छ ।

त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुले पनि आफ्ना विद्यार्थी, शिक्षक र विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहिरहन र छलफल निरन्तर गर्न एवम् यस विषम परिस्थितिमा आफ्ना कक्षाहरु कसरी सञ्चालन गर्न सकिन्छ रु सो बारेमा बैकल्पिक व्यवस्था गरी डीन कार्यालयमा जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) को नेपालमा संभावित जोखिम नियन्त्रणका लागि त्रिविका अत्यावश्यक सेवासँग सम्बन्धित निकायहरू बाहेक अन्य सबै क्याम्पस कार्यालयहरू नेपाल सरकारले तोकेको लकडाउन अवधिभर बन्द छन् ।

 अहिले त्रिविका विभिन्न क्याम्पसहरु क्वारेन्टिनमा प्रयोग भैरहेको र शिक्षक तथा विद्यार्थीहरु सम्बन्धित क्षेत्रमा विज्ञ तथ स्वयंसेवीको रुपमा कार्यरत रहेको हुनाले विद्यार्थीहरुको अध्ययन अध्यापनलाई नियमितता दिनुपर्ने हुँदा सबै क्याम्पस स्कुल विभागहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रही छलफल गर्न समेत अनुरोध गरेको छ ।

Thuprai - Books and E-books