त्रिविका जिवन्त विभाग, भविष्य देखेर नै केही विद्यार्थी अझै पढ्दैछन्

विद्यार्थी रित्तिँदै गएका त्रिविका इतिहास, संस्कृत भाषा, हिन्दी भाषा, नेपाली इतिहास संस्कृति तथा पुरातत्व लगायत विभागलाई पुनर्जीवन दिन सम्बन्धित निकायहरू गम्भीर देखिँदैनन् ।

विद्यार्थी शून्य । पढ्ने भन्दा पढाउने धेरै । नपढाइकन तलब खान्छन् प्राध्यापक । त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागसम्बन्धी यी र यस्तै खाले समाचारले सञ्चारमाध्यममा स्थान पाइरहन्छन् । इतिहास, संस्कृत भाषा, हिन्दी भाषा, नेपाली इतिहास संस्कृति तथा पूरातत्व लगायतका अत्यन्त कम विद्यार्थी अध्ययनरत विभाग सञ्चार माध्यममा बारम्बार समाचार बन्ने गरेका छन् ।

अधिकांश विद्यार्थीले जीपीएका आधारमा विषय छान्छन् । राम्रो जीपीए भएका विद्यार्थीले आफ्नो इच्छामा वा अभिभावकको दवावमा उच्च शिक्षामा रोजगारमूलक वा व्यवसायिक अर्थात प्राविधिक विषय रोज्ने गरेका छन् । अधिकांश विद्यार्थीको रोजाइ पढाइपछि स्वतः रोजगार वा व्यवसाय सञ्चालन गर्न सकिने र विदेश जान सजिलो हुने संकायका विषय रोज्ने गरेकाछन् । विद्यार्थीको रोजाइ कम हुँदै गए पनि अस्तित्वमा रहेका केही यस्ता विभाग छन् ती विभागमा अहिले पनि विद्यार्थीहरूभविष्य देखेर नै पढ्दै आएका छन् ।

सरकारले सहयोग नगर्नु, समयानुकल पाठ्यक्रम परिमार्जन नगरिनु, प्रचारप्रचार पर्याप्त हुन नसक्नु, महत्व नबुझ्नु लगायतका कारणले विद्यार्थीको आकर्षण घट्दै गएको ती विभागका विभागीय प्रमुखहरू बताउँछन् । विद्यार्थी संख्या घट्न थालेको वर्सौं भए पनि सम्बन्धित निकायहरू गम्भीर भने देखिँदैनन् ।

इतिहासमा ‘स्कोप’

त्रिविमा इतिहासको स्नातकोत्तर तह प्रथम सेमेस्टरमा २४ जना विद्यार्थी छन् । बलबहादुर सार्कीले नेपालको प्रामाणिक इतिहासबारे थप अनुन्धान गर्न इतिहास पढ्न थालेको बताए । ‘नेपाल धार्मिक, सांस्कृतिक, भौगोलिक विविधतायुक्त देश हो, यिनीहरुको अध्ययन गरी विश्वमा प्रचारप्रसार गर्न सके नेपालले पर्यटन व्यवसायमार्फत आर्थिक संवृद्धि हासिल गर्न सक्छ,’ उनले भने ।

विश्वको संघीयताको व्यवहारिक अभ्यास अध्ययन गर्ने लक्ष्यका साथ मिलन चाम्लिङ पनि सोही कक्षामा भर्ना भएका छन् । चाम्लिङ भन्छन्, ‘म संघीयता लागु भएका देशको सामाजिक, आर्थिक र राजनैतिक इतिहासबारे अध्ययन गर्छु । संघीयता सफलतापूर्वक लागू गरेर नमुना बनेका देशबारे बुझ्ने रहर छ ।’

अध्ययनको दायरा र महत्व व्यापक भए पनि उच्च शिक्षामा इतिहास विषय ओझेलमा पर्दै गएको छ । विद्यार्थी संख्या घटिरहेको छ । इतिहास विभागमा २०६२ सालमा ३० जना विद्यार्थी भर्ना भएका थिए । २०७३÷०७४ सम्म आइपुग्दा विद्यार्थी संख्या १ जनामा सीमित हुन पुग्यो । विभागका अनुसार ०६३ मा केन्द्रीय विभागमा १२ जना विद्यार्थी थिए । ०६४ मा १९ जना, ६५ मा ५१ जना भए । ६७ मा पुग्दा १६ जनामा सीमित भए । ०६८ मा ११ जना, ०६९ मा ३ जना विद्यार्थी भर्ना भए । ७० मा ७ जना मात्र विद्यार्थी थिए । त्रिविमा सेमेस्टर प्रणाली सुरु भएपछि ०७१÷०७२ मा ६ जना विद्यार्थी भए । ०७२÷०७३ मा २ जना भर्ना भए । ०७४÷०७५ मा पनि २ जना थिए । ०७५÷०७६ मा भने २४ जना र०७६÷०७७ मा २५ जना विद्यार्थी भएका छन् ।

लामो समय त्रिविमा प्राध्यापन गरेका प्राडा नारद भारद्वाज भन्छन्, ‘इतिहासको अध्ययनबिना उच्च शिक्षा पूर्ण हुँदैन । तर, यहाँबाट उत्पादित जनशक्तिको सुरक्षित गन्तव्य नहुनु, त्रुटिपूर्ण शिक्षा नीति हुनु, समायानुकूल पाठ्यक्रम परिमार्जन गर्न नसकिनु जस्ता जटिल समस्याले इतिहासप्रति विद्यार्थीको रुचि घट्दै गएको छ ।’ उनले इतिहासको गहन अध्ययन नहुँदा लोकसेवा आयोगको परीक्षामा लाखौं जनशक्ति अयोग्य भइ विदेश जान बाध्य भएको बताए ।

इतिहास विषयका विज्ञहरुको विज्ञतालाई राज्यले प्रोत्साहन गर्न सकेको छैन । राज्यले आप्mनै देशमा उत्पादित दक्ष जनशक्तिलाई उपेक्षा गर्दै विज्ञका नाममा राजनीतिक दलका कार्यकर्ता प्रयोग गरेको गुनासो छ । राज्यले इतिहास सम्बन्धी अध्ययन अनुसन्धान गैर सरकारी संस्थाहरुलाई जिम्मा लगाउने गरेको ,नेपाली जनशक्तिलाई प्रयोग नै नगरेको इतिहास विभागका विद्यार्थीहरू बताउँछन् ।

प्रथम सेमेस्टरका विद्यार्थी दिनेश थापा भन्छन्, ‘इतिहास अध्ययन गर्नु भनेको देश तथा विदेशबारे अध्ययन अनुसन्धान गरी देश काल र परिवेश सुहाउदो धर्म, संस्कृति, परम्परा र राजनीति प्रतिपादन गर्न सक्नु हो ।’ उनले उत्पादित जनशक्तिको सही व्यवस्थापन नहुदा यो विषय ओझेलमा परिरहेको  बताए । ‘यसको विकास र प्रवद्र्धनका लागि व्यापक प्रचारप्रसारको खाँचो छ,’ उनले भने ।

विषयान्तर गरेर संस्कृत

व्यवस्थापनमा स्नातक तह पुरा गरेकी बालाजुकी बनिता पाठक योग दर्शनमा अनुसन्धान गर्न संस्कृत पढ्दैछिन् । ‘संस्कृतले मानिसलाई नयाँ पद्धतिमा जीउन सिकाउँछ,’ उनले भनिन्, ‘संस्कृत ज्ञान र अनुशासनको विशाल विज्ञान हो । प्राचीन साहित्य तथा अधिकांश भाषाको जननी संस्कृत हो ।’

संस्कृत, विश्वको सबैभन्दा पुरानो भाषा हो । यसलाई विश्वको प्रथम भाषा मानिन्छ । सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकता, पाश्चात्य तथा पूर्वीय साहित्यमा संस्कृत भाषाको पकड तथा यसको महत्व व्यापक हुँदा हुँदै पनि प्रचारप्रसारको अभावमा यो भाषा ओझेलमा परेको पाठकको धारणा छ ।

उनी भन्छिन्, ‘संस्कृत स्वविकसित मात्र हैन, आफैमा संस्कारित भाषा पनि हो । त्यसैले समय सान्दर्भिक योग र्दशनको खोजका लागि म यो शिक्षा आर्जन गर्दै छु । यो कम्प्यूटर र कृत्रिम बुद्धिका लागि सबैभन्दा उपयुक्त भाषा पनि हो ।’

रौतहटका राजीब बछार व्यवस्थापनमा स्नातक सकेर संस्कृतमा स्नातकोत्तर गर्दै छन् । सानैमा दाजुबाट संस्कृत शिक्षाको महत्व बुजेका बछार तेस्रो सेमेष्टरमा अध्ययन गरिरहेका छन् । संस्कृत पढ्ने इच्छा भए पनि परिवारको दवावमा स्नातक तहसम्म व्यवस्थापनमा अध्ययन गरेको उनले बताए ।

स्नातक तहको अध्ययन सकेर खाली भएको समयमा उनलाई चाणक्य अर्थशास्त्रको सिद्धान्त पढ्ने अवसर मिल्यो । चाणक्यको अर्थशास्त्रमा उनले समग्र विश्वको अर्थशास्त्रको खाका देखे । अर्थशास्त्रको सो सिद्धान्तले उनको मन, मस्तिष्कलाई छोयो । ‘चाणक्यको अर्थशास्त्रलाई विस्तृतमा अध्ययन गर्न संस्कृत पढेको हुँ,’ उनले भने ‘तल्ला तहमा संस्कृत पढ्न नपाउँदा आफूलाई दुःख लागेको छ ।’

त्रिविको प्रथम सेमेष्टरमा संस्कृत पढ्ने ९ जना विद्यार्थी छन् । सबै विद्यार्थीको पृष्ठभूमि भने संस्कृत होइन । व्यवस्थापन, विज्ञान, मानविकी (नेपाली) मा स्नातक गरेर विषयान्तर गरेका हुन् ।

त्रिविका विभिन्न विभाग विद्यार्थी अभावले छटपटाइरहेका बेला संस्कृत विभागमा भने विषयान्तर गरेर विद्यार्थी आउनु सकारात्मक पक्ष भएको केन्द्रीय संस्कृत विभागका शाखा अधिकृत दुर्गा शर्माले बताइन् । उनका अनुसार विद्यार्थी अभावले संस्कृत विभाग संकटमा पर्दै गएपछि गत वर्ष केन्द्रीय संस्कृत विभागले तीन सय पूर्णाङ्कको विशेष पाठ्यक्रम तयार गर्यो  । ‘त्यही पाठ्यक्रम अनुरुप विशेष परीक्षा पास गरेपछि अन्य विषयबाट समेत संस्कृत पढ्न पाउने व्यवस्था त्रिविले गर्यो  । परिणाम स्वरुप अन्य विभागका ९ जना विद्यार्थीले संस्कृत पढिरहेका छन्,’ उनले भनिन् ।

दोस्रो सेमेष्टरमा २ जना, तेस्रो र चौथो सेमेष्टरमा ४–४ जना विद्यार्थी अध्ययनरत छन् । उचित प्रचारप्रसार अभावमा साहित्य, दर्शन, ज्ञान जस्ता विभिन्न क्षेत्रमा राम्रो दख्खल भएको संस्कृत विषय ओझेलमा परेको अधिकृत शर्मा बताउँछिन् । ‘नैतिक शिक्षाको अभावमा मानवता खस्किरहेको वर्तमान सन्दर्भमा मानिसलाई सामाजिक तथा सांस्कृतिक आचरणमा बाध्न तल्लो तहबाटै संस्कृत शिक्षा व्यवस्था गरिनुपर्छ,’ उनले भनिन् ।

संकुचित नजरियाका कारण संस्कृत शिक्षा ओझेलमा परेको विज्ञहरू बताउँछन् । त्रिवि संस्कृत विभागका उप–प्राडा. सुवोध सुक्ला भन्छन्, ‘संस्कृत पढेर कर्मकाण्ड गर्ने पण्डित मात्र भइन्छ भन्ने आम मानिसको बुझाइका कारण संस्कृत शिक्षा ओझेल परेको हो ।’

सम्पूर्ण भाषाको विकासका लागि संस्कृत भाषाको संरक्षण गरिनुपर्नेमा उनले जोड दिए । ‘संस्कृत बृहत विज्ञान हो । संस्कृत भारोपेली भाषा परिवारको मुल जरा हो । जराको उत्खनन नगरी बोट र वृक्ष मौलाउँछ भन्नु मुर्खता हो,’ उनले भने ।

हिन्दीलाई हेला !

हिन्दी विभागको प्रथम सेमेस्टरमा अध्ययनरत मोहन निरौलालाई नेपालको अनुवादक बन्ने लक्ष्य छ । ‘म स्नातक तहको चौंथो सेमेस्टरको परीक्षा सकेपछि भारत गएको थिएँ, त्यहाँ नेपाली स्रष्टाले लाखौं तिरेर कृति अनुवाद गरेको देखें । त्यसैले भाषा अनुवादक बन्न हिन्दी पढ्न थालेको हुँ,’ उनले भने ।

नेपाली उपन्यास, कथा, गीत, कविताका पाठक नेपालीभन्दा भारतीय धेरै रहेको उनको बुझाइ छ । ‘नेपालका साहित्यका कृतिलाई भारतीय बजारमा पुर्याउन सके राम्रो बजार लिन्छ,’ उनले भने ।

हिन्दी विभागको प्रथम सेमेष्टरमा ९ जना, दोस्रो सेमेस्टरमा ३ जना, तेस्रो सेमेस्टरमा ३ र चौथो सेमेस्टरमा ३ जना विद्यार्थी छन् ।

हिन्दी विभागकी प्रमुख प्राडा सिर्जना वर्मा भन्छिन्, ‘सबैले हिन्दी भाषालाई हेयका दृष्टिले हेर्छन्, भारतको भाषा भन्छन् । त्यसैले यो भाषा ओझेलमा परिरहेको छ ।’ उनले सरकारले भाषा प्रवर्र्धनमा पहल नगरेको, संचार माध्यमले यो भाषालाई ठाउँ नदिएको गुनासो गरिन् । ‘मिडियाले विद्यार्थीभन्दा शिक्षक धेरै भन्दै खबरको मसला बनाउछन्,’ दुखेसो पोख्दै भनिन्, ‘तर विभागमा सबै विषयविज्ञ समेत छैनन् ।’

उनले हिन्दी भाषामा विद्यार्थी आर्कषण बढाउन तल्लो तहमा पनि पठनपाठन गर्नुपर्ने बताइन् । ‘नेपाली साहित्यलाई विदेशी बजारमा पुर्याउन हिन्दी भाषा आवश्यक छ,’ उनले भनिन् ।

स्रोतको समस्या

नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागमा अध्ययनरत सुनिता ठकुरी नेपाली संस्कृतिलाई विश्वमा चिनाउन चाहन्छिन् । विभागमा ५ जनाले पिएचडी गर्दै छन् । स्नातकोत्तर तह प्रथम सेमेस्टरमा २८ जना, दोस्रो सेमेस्टरमा १४ जना, तेस्रो सेमेस्टरमा ११ जना विद्यार्थी छन् । चौथो सेमेस्टर विद्यार्थी विहीन भएको विभागीय प्रमुख प्राडा मदन कुमार रिमालले जानकारी दिए । यो विषयको अध्यापन त्रिवि र स्नातकोत्तर क्याम्पस विराटनगरबाट मात्र हुँदै आएको छ ।

त्रिविका खाली चउरमा भेटिएका संस्कृति, संस्कृत र इतिहास विभागका विद्यार्थीहरू

नेपाली इतिहास संस्कृति तथा पूरातत्वको अध्ययन अत्यावश्यक रहेको विभागीय प्रमुख रिमाल बताउछन् । ‘तर सबैले यी विभागमा विद्यार्थी नभएको मात्र देख्छन, यहाँको समस्या कसैले देख्दैनन्,’ उनले भने, ‘यहा पर्याप्त विषय विज्ञ छैनन्, बाहिरबाट विज्ञलाई ल्याएर पढाउन लगायो भने आर्थिक व्यवस्थापन गर्न सकिँदैन ।’

यो विषय सैद्धान्तिकभन्दा प्रयोगात्मक अध्यापन गराउने विषय हो । विद्यार्थीलाई क्षेत्र भ्रमण गराउने आर्थिक अवस्था समेत विभागको नभएको रिमालले बताए ।

त्रिविका यस्ता धेरै विभाग छन् । उत्पादित जनशक्तिलाई राज्यले उपयोग मात्र गर्ने हो भने पनि यी विभागमा विद्यार्थीको आकर्षण बढ्न सक्छ । त्रिविका यी विभागको प्रवर्धन गरी स्वदेशी जनशक्तिलाई स्वदेशमै रोजगारी व्यवस्था गर्ने हो भने वौद्धिक शक्ति पलायनको समस्या न्यूनीकरण पनि हुने विज्ञहरू बताउछन् ।