Bachelors Portal

त्रिविको आर्थिक प्रशासन जवाफदेही छैन,कर्मचारी वितरण समेत न्यायोचित छैनः  महालेखापरीक्षक

Managed Admission 2022

त्रिभुवन विश्वविद्यालयले आफ्नो १४४ खर्च एकाइमा  यो वर्ष रू. १९ अर्ब ४ करोड ९२ लाख रुपियाँ खर्च गरेको छ । विश्वविद्यालय अनुदान आयोगले आर्थिक वर्ष २०७९–८० मा प्रति विद्यार्थी २४ हजार रुपियाँका दरले अनुदान प्रदान गरेको छ । तर त्रिविको आर्थिक प्रशासन भने पारदर्शी नभएको सरकारी प्रतिवेदनले नै औंल्याएको छ ।

महालेखापरीक्षकको  ६१ औं वार्षिक प्रतिवेदन, २०८१ का अनुसार त्रिविले शिक्षक कर्मचारीको तहगत वितरण न्यायसंगत रुपमा गरेको छैन ।

विश्वविद्यालय र अन्तर्गतका आंगिक क्याम्पसमा शिक्षक ७ हजार ९३८ र कर्मचारी ८ हजार १२४ समेत १६ हजार ६२ दरबन्दी रहेको छ ।

त्रिविले विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ४ मा शिक्षक तथा कर्मचारीहरूको दरबन्दी कार्यकारी परिषद्ले तोकेबमोजिम हुने उल्लेख छ।

सो नियम अनुसार त्रिविमा शिक्षक ८ हजार १२२ तथा कर्मचारी ७ हजार ३०३ समेतगरी १५ हजार कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यरतमध्ये शिक्षकतर्फ अधिकृत तृतीय श्रेणीमा ४२८ दरबन्दी छ । सो पदमा दरबन्दी भन्दा ५५६ बढी कार्यरत छन् । त्यसैगरी कर्मचारीतर्फ अधिकृत प्रथम र द्वितीय श्रेणीमा क्रमशः ७५ र २७६ दरबन्दी रहेकोमा दरबन्दी भन्दा ४३ र ९६ बढी कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, प्रतिवेदन अनुसार शिक्षक ३५.३२ प्रतिशत र कर्मचारी ३३.९९ प्रतिशत रिक्त रहेका छन् ।कार्यरत कर्मचारीमध्ये श्रेणीविहीन कर्मचारी २ हजार ८५६ (३९.१० प्रतिशत) छन् । सबै केन्द्रीय निकाय र क्याम्पसहरूको साबिकको दरबन्दीमा आवश्यकता र औचित्यको आधारमा पुनरावलोकन हुनुपर्ने छ ।

त्रिवि अचल सम्पत्ति मूल्यांक्न समेत गर्न सक्दैन

विश्वविद्यालयको आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम, २०५० मा विश्वविद्यालयले सबै आर्थिक कारोबारको केन्द्रीय आर्थिक विवरण तयार गरी महालेखापरीक्षक समक्ष पेस गर्नुपर्ने व्यवस्था छ। तर त्रिविले  केन्द्रीय आर्थिक विवरण आंशिक रूपमा पेस गरेको छ ।

प्रतिवेदनअनुसार विश्वविद्यालय मातहतका निकायहरूले पेस गरेको वित्तीय विवरणमा भवन, सवारीसाधन, फर्निचर, उपकरण लगायत पुँजीगत सम्पत्तिको ह्रास कट्टी नगरेको, जग्गाको मूल्य समावेश नगरेको, धरौटी तथा अन्य दायित्वको एउटै शीर्षक राखेको, वित्तीय विवरणमा तुलनात्मक कारोबार समेत देखाउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक लक्ष्य तथा प्रगति प्रतिवेदन तयार गदैन त्रिवि

विश्वविद्यालयले आन्तरिक आयलाई नन्अपरेटिभ खातामा जम्मा गरी सो खाताबाट निकासा लिने गरेको छैन । धरौटी हिसाब छुट्टै खातामा नराखेको, अधिकांश निकायले बैङ्क हिसाब मिलान नगरेको, सम्पत्तिको भौतिक परीक्षण नगरेको, आम्दानी तथा असुलीको मूल्याङ्कन नगरेको र वार्षिक लक्ष्य तथा प्रगति प्रतिवेदन समेत तयार गर्न नसकेको लगायतका प्रतिवेदन विगत वर्षदेखि औंल्याइँदै आए तापनि सुधार नगरेको प्रतिवेदनमा उल्लेख छ ।

विश्वविद्यालयअन्तर्गत ९ अध्ययन संस्थान, ४ संकाय, ४ अनुसन्धान केन्द्र, ६३ आङ्गिक क्याम्पस, ४० केन्द्रीय विभाग, ४ शिक्षण स्कुल र १ हजार ५४ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। 

Select college / campus