भोलि सोमबार त्रिभुवन विश्वविद्यालयको ४४औ दीक्षान्त समारोह

काठमाडौँ, १५ पुस (रासस) : त्रिभुवन विश्वविद्यालयको सोमबार ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह हँुदैछ । 

ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी गराउनुभयो । 

समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्नुहुनेछ । 

समारोहमा भाग लिनका लागि जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा नेपाल आउनुभएको छ । 

पहिलोपटक अनलाइन फारममार्फत सहभागी आह्वान गरिएको समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार ५०४ जना विद्यार्थी दीक्षित हँुदैछन् । 

समारोहमा गत वर्ष दुई हजार अभिभावकको सहभागिता भए पनि यसपटक छ हजार ३०९ सहभागी हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक पशुुपति अधिकारीले जानकारी दिनुभयो । 

समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदकलगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिने उहाँले जानकारी गराउनुभयो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal