Bachelors Portal

एसईई परीक्षार्थीको अन्तिम मूल्याङ्कन गर्न सकस

कक्षा १० का विद्यार्थीको अन्तिम मूल्याङ्कन गरिसक्न अब पाँच दिनमात्र बाँकी छ तर प्रधानाध्यापक तथा शिक्षक यस विषयलाई लिएर अझै अन्योलमा छन् । प्रायः कुनै पनि विद्यालयले मूल्याङ्कन गरिसकेका छैनन् । 

नियमित बाहेक एक्जाम्टेड र ग्रेड वृद्धिका विद्यार्थीको पनि साविककै अन्तिम मूल्याङ्कनका आधारमा अङ्क दिनुपर्ने भएपछि विद्यालयलाई अलमल अझ थपिन पुगेको छ । थुप्रै विद्यालयले एसईईभन्दा अगाडि परीक्षा सञ्चालन नै गरेका थिएनन् भने कतिपयसँग त्यसको ‘रेकर्ड’ नै छैन । आन्तरिक परीक्षामा कम जीपीए प्राप्त गर्ने विद्यार्थीहरुका बारेमा पनि माध्यमिक परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिले केही नबोल्दा अझ समस्या परेको गुनासो प्रधानाध्यापकहरुको छ । उनीहरुले विभिन्न कारणले कम जीपीए प्राप्त गरेका विद्यार्थीहरुमाथि अन्याय होला भन्ने चिन्ता पनि उत्तिकै रहेको तर्क गर्दछन् ।

विद्यालयले प्रदान गरेको अङ्कप्रति चित्त नबुझाउँदै पुनरावलोकन वा उजुरी गर्न नपाउने व्यवस्थाले शिक्षकले सुरुमै बढी अङ्क दिने सम्भावना त रहँदैन भन्ने गम्भिर प्रश्न चिन्ह खडा गरिदिएको छ । खुला विद्यालयबाट एसईई परीक्षाका लागि आवेदन भरेकाहरुका हकमा अझ अन्योल सिर्जना गरिदिएको छ ।

यसैबीच बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले प्रधानाध्यापकहरुलाई कक्षा १० का विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने विधिका बारेमा प्रशिक्षण प्रदान गरेको छ ।

प्रशिक्षणमा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले प्रधानाध्यापकको इमान्दारिताको परीक्षा सुरु भएको बताए ।

“आफ्ना विद्यार्थी अरु विद्यालयका विद्यार्थीभन्दा कमजोर नहुन् भन्ने चाहना सबै शिक्षकको हुन्छ” उनले भने, “त्यो चाहनाले गलतरुपमा बढी अङ्क नदिनुहोस् । पछि यो कुरा थाहा भयो भने यसले कोहलपुर नगरपालिकाको छविमा दाग लाग्नेछ । त्यसैले दुरुस्त नतिजा पठाउनुहोला ।”

प्रधानाध्यापकहरुले विद्यार्थी तथा अभिभावकले बढी अङ्क प्रदान गर्नुपर्ने दवाव दिएको स्वीकारेका छन् । तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले नतिजा अवास्तविक हुँदा भोलि जवाफ दिनुपर्ने हुन्छ भन्दै त्यस्तो अवस्था आउन नदिन आग्रह गरे ।

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका शाखा अधिकृत भोजप्रसाद लम्सालले अब प्रधानाध्यापकहरुको परीक्षा सुरु भएको बताउँदै थपे, “अहिले हामीले विद्यार्थीको परीक्षा लिइरहेका छैनौँ, आफ्नै परीक्षा लिदैछौँ । शिक्षा सचिवको अधिकार प्रधानाध्यापकको काँधमा आएकोछ भन्ने कुरा बुझ्नु होला ।”

उनले आफ्ना विद्यार्थीको माया लाग्छ भन्दैमा जथाभावी अङ्क दिने गल्ती नगर्ने सचेत गराउँदै भने, “धेरै विद्यार्थीहरुले हामीलाई फोन गरेर सरहरुले अब अङ्क दिने मामिलामा हामीलाई रेट्नुहुन्छ भनेर गुनासा गरेका छन् । मैले त्यसरी सरहरुले रेट्नु हुन्न भनेको छु ।”

नगपालिकाको शिक्षा शाखाका प्रमुख अनन्तकुमार पौडेलले गलत अङ्क दिइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्न सक्ने र त्यस्तो अवस्था सिर्जना भएमा प्रधानाध्यापक र शिक्षक समस्यामा पर्न सक्ने भएकोले वस्तुगत तथा निष्पक्षरुपमा विद्यार्थीको मूल्याङ्कन गर्नु उपयुक्त हुने सल्लाह दिए ।

शाखाका अधिकृत रवीराज मिजारले नतिजा धेरै अब्बल हुँद सबैको आँखा लाग्न सक्ने हुँदा त्यसले पार्ने प्रभावका बारेमा समयमै शिक्षक सचेत हुनुपर्ने बताए । 

Thuprai - Books and E-books