सुन्न सकिने पुस्तक सञ्चालनमा ल्यायो थुप्रै डट कमले

नेपाली भाषा, संस्कृति र इतिहास लगायत साहित्यका विभिन्न विधा अडियोबुकमा सुन्न सकिने भएको छ । पुस्तकलाई प्रविधिसँग जोड्दै यसको उपलब्धताका प्रवद्र्धनमा लागेको ‘थुप्रै डट कम’ बाट सुन्न सकिने पुस्तक आजदेखि सञ्चालन भएको हो ।

‘थुप्रै डट कम’को वेबसाइट र ‘थुप्रै’ नामक मोबाइल एपबाट यस्ता पुस्तक कम मूल्यमा खरिद गरी सुन्न सकिने  छ । अडियोबुक ब्लुटुथ वा एण्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी साधनमा पनि सुन्न सकिने छ ।

रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका कृति पनि उपलब्ध छन् । ‘थुप्रै’ले यो सेवा नेपालय, दृश्य, कथालय, किताब पब्लिसर्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुल्बुल पब्लिकेशन, अक्षर क्रिएशन लगायतका प्रकाशन गृहसँगको सहकार्यमा शुरु गरेको जनाइएको छ ।

 ‘थुप्रै डट कम’ले वरिष्ठ कविहरु माधवप्रसाद घिमिरे, ईश्वर वल्लभ, दिनेश अधिकारी, हरिहर अधिकारी ‘श्यामल’ दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे लगायतले आफ्नै आवाजमा आफ्नो कृतिको वाचन गरेको सुन्न सकिने पुस्तक थुप्रै बाट आजदेखि  सुन्न सकिने थुप्रै’का सहसंस्थापक दिपेश आचार्यले जानकारी दिए ।

फोटो सौजन्यः थुप्रै डट कम

‘अनलाइन अर्डर’ लिएर घरघरमा पुस्तक पुर्याउँदै आएको ‘थुप्रै डट कम‘ले गतवर्षका लकडाउनमा ईबुकको सेवा शुरु गरेको थियो । सोही क्रममा पाठकको आकर्षणका आधारमा सुन्न मिल्ने पुस्तकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको सहसंस्थापक आचार्यले जानकारी दिए ।

‘थुप्रै डट कम’ले शुरुआत गरेको वास्तविक अडियोपुस्तक (अडियोबुक) को परिकल्पना नेपालमा अडियोबुकको प्रबद्र्धनको लागि कोशेढुङ्गा सावित हुने विश्वासका साथ थालनी गरिएको छ ।

यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्ने थुप्रैले जानकारी दियो । पढ्ने चाहना हुँदाहुँदै विभिन्न कारणबाट कृति पढ्नबाट वञ्चित व्यक्ति, समूह तथा वगका पाठकहरूका लागि सहज माध्यम बन्ने विश्वासका साथ सुन्न सकिने पुस्तक को थालनी गरिएको थुप्रै डट कमले जानकारी दियो ।

छापिएका पुस्तक किन्नुभन्दा अडियोबुक सस्तो पर्दछ र अनलाइनमाध्यमबाट किन्नासाथ तुरुन्तै सुन्न सकिन्छ । कार्यालय आवतजावत गर्दा, गाडी चलाउँदा र बसमा यात्रा गर्दा समयको उपयोग गरेर अडियो पुस्तक आरामले सुन्न सकिने सहव्यवस्थापक आचार्यले बताए ।

घरायसी काम वा व्यायाममा व्यस्त हुनेहरूको लागि पनि अडियोबुक त्यत्तिकै सुबिधाजनक छ । दृष्टिविहीन र आँखाका समस्या भएकाहरूका लागि पनि अडियोबुक उपयुक्त विकल्प हुनसक्दछ । नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियोबुक गज्जबको माध्यम बन्न लक्ष्यका साथ थुप्रैले अडियो बुक बजारमा ल्याएको हो ।

विभिन्न संस्थाको सहकार्यलाई अगाडि बढाउँदै निरन्तररुपमा नयाँ अडियोबुक थप्दै जाने योजना रहेको ‘थुप्रै’ले जानकारी दियो ।

प्रति अडियोबुक एक सय रूपियाँको हाराहारी पर्ने थुप्रैले जानकारी दियो । नेपालमा रहेका पाठकहरुले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिगमार्फत अडियोबुक खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् । यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्पुटरबाट सुन्न सकिने थुप्रैले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books