After SEE Portal

लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिविका थप तीन कार्यक्रम

Bridge Course

व्यवस्थापन विषयमा राष्ट्रमै चर्चा कमाएको लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका थप तीन कार्यक्रम संचालन हुने भएको छ। नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस २०७५ बाट विभुषित लुम्बिनी बाणिज्य क्याम्पस बुटवल ११ देवीनगरले यसै वर्षदेखि वित्तशास्त्र विषयमा विशिष्टीकृत मास्टर अफ विजनेश स्टडिज इन फाइनान्स (एमविएस फाइनान्स) र आगामी शैक्षिक सत्र देखि बेच्लर अफ म्यानेजमेन्ट स्टडिज (विएमएस) र बेच्लर अफ विजनेश म्यानेजमेन्ट अप्लाईड (बिबिएम अप्लाईड) सञ्चालनको लागि अनुमति पाएको छ ।

उपत्यका बाहिर नै २०७४ सालबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गत पहिलोपटक एमविए–विएफ स्वायत्त कार्यक्रम र बुटवलमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयको बिबिए–एफए स्वायत्त कार्यक्रम संचालन गरेर स्वायत्त कार्यक्रममा समेत उत्कृष्ट पहिचान बनाएकोले थप तीन कार्यक्रम संचालनका लागि त्रिभुवन विश्वविद्यालयले स्वीकृति दिएको हो ।

एमविए–विएफ कार्यक्रमको पहिलो समुह शतप्रतिशत उत्तीर्ण गराई शोधपत्र सक्काएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट ट्रान्सक्रिप्ट प्राप्त गरिसकेको र लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयको बाटोमा अग्रसर भएकाले पनि त्रिभुवन विश्वविद्यालयले लुम्बिनी वाणिज्य क्याम्पसलाई थप स्वायत्तता कार्यक्रम प्रदान गरेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाण्डौमा मात्र सिमित रहेका बजार सुहाउदा राम्रा कोर्सहरु मोफसलमा ल्याउन निरन्तर लागिरहेको समयमा थप तीन कार्यक्रम संचालनको लागि त्रिभुवन विश्वविद्यालयले अनुमति दिएकोमा क्याम्पस प्रशासनले खुसी व्यक्त गरेको छ । शैक्षिक बेरोजगारीले विद्यार्थीमा नैराश्यता बढ्दै गएको अवस्थामा विश्व बजारको माग अनुसार वजार सुहाउँदो जनशक्ति उत्पादन गर्ने उद्देश्यले पनि व्यवस्थापन विषयका नयाँ नयाँ कार्यक्रम सुरु गर्न लागिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डेले जानकारी दिनुभयो ।

विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक गुणस्तर प्रमाणपत्र समेत प्राप्त गर्न सफल वाणिज्य क्याम्पसमा हाल त्रिभुवन विश्वविद्यालयकै एमबिएसएमबिए–बिएफबिबिएसबिबिएम तथा बिबिए–एफए कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा थप बुटवलको माग अनुसार एमविएस–फाइनान्स, बिएमएस, बिबिएम–अप्लाईड कार्यक्रम पनि अध्यापन हुन लागेको हो ।

क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले विश्वव्यापी प्रचलनमा रहेको व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्न नयाँ नयाँ कार्यक्रम आवश्यक रहेको बताउदै वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादन गर्ने र एमबिएस फाइनान्स कार्यक्रमको अध्यापनले राष्ट्रिय तथा स्थानियस्तरमा वित्तीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा थप सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट ५ सेक्सनका लागि अनुमति पाएको क्याम्पसले एमबिएस–फाइनान्स कार्यक्रमको प्रवेश परीक्षा यहि माघ २९ गते रहेको जनाएको छ भने बिएमएस र बिबिएम अप्लाईड आगामी शैक्षिक सत्रमा मात्र संचालन हुने क्याम्पसले जनाएको छ।

A Levels MA
Thuprai - Books and E-books