After SEE Portal

सप्तरीका तीन स्थानीय तहको विद्यालय बन्द

Bridge Course

सप्तरी, ६ पुस (रासस) : शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । 

राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताउनुभयो।

तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बन्दको निर्णयपछि सोमबारसम्मका लागि सप्तकोशी नगरपालिकाका सात आधारभूत र चार माध्यमिक विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताउनुभयो ।

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन् ।

बलानविहुल गाउँपालिकाले पनि विद्यालय बन्द गर्न मौसमको अवस्था मूल्याङ्कन गर्न केहीबेरमा बैठक बस्न लागेको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले बताउनुभयो । दिनभरि बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्न जिल्लाका विभिन्न चोक र सार्वजनिकस्थलमा आगो बालिएको छ ।

A Levels MA
Thuprai - Books and E-books