सुधारका लागि सार्वजनिक पदाधिकारीको सोच र दृष्टिकोण

Thuprai - Books and E-books

संसारका बरियता क्रममा माथिल्लो पङ्क्तिमा रहेको विश्वविद्यालयको सिनेटमा के छलफल हुन्छ होला ? यिनीहरूको कार्यकारी निकायमा के कस्ता एजेन्डा र विषयले प्रवेश पाउलान् ? दुई विश्वविद्यालयका पदाधिकारी एक आपसमा भेट्दा के कुराकानी होला ? दुई उपकुलपतिको भेटघाटमा के कस्ता विषयले प्रवेश पाउलान् ? उपकुलपतिले अध्यक्ष वा कुलपति वा राष्ट्रप्रमुखसँग भेट गर्लान् कि नगर्लान् ? यस्ता उच्च पदस्थको बैठकमा के कति समय खर्च हुन्छ होला ? के कस्ता विषयमा छलफल हुन्छ होला ?  यस्ता उच्च पदस्थ पदाधिकारीको समय के कसरी र के कस्ता काममा बितेको होला ? यिनीहरूको समय पालना गर्ने आचरण कस्तो होला ?

अब एकैछिन नेपालको अवस्थामा फर्कौँ । नेपालमा उपकुलपतिले कुलपति र सहकुलपति भेट गर्दा कस्ता विषयमा चर्चा हुन्छन् होला ? उपकुलपतिहरूको भेटघाटमा के कस्ता विषयमा चर्चा हुन्छ होला ? यहाँ प्रसँग विश्वविद्यालय वा उच्च शिक्षा प्रदायक निकायबाट सुरु गरिएको भए पनि यस्तो प्रश्न सार्वजनिक क्षेत्रको कुनै पनि उच्च पदस्थ पदाधिकारी र निकायका बारेमा उठाउन सकिन्छ । मन्त्रालयको राजनैतिक नेतृत्वदेखि प्रशासनतन्त्रको नेतृत्वका बारेमा समेत प्रश्न उठाउन सकिन्छ । यी र यस्तै खालका प्रश्न उच्च तहसँग मात्र नभएर सार्वजनिक र अन्य निकायमा कार्यरत कुनैका लागि पनि उपयुक्त हुनसक्छ । सन्दर्भ हामी के गर्दैछौँ र समय के कसरी बितेको छ भनेर कहिल्यै हेर्ने र विश्लेषण गर्ने गरेका छौँ ?

नेपालको सन्दर्भमा यस्ता उच्च पदस्थका बीचमा हुने भेटघाटमा के कस्ता विषयमा छलफल भएका छन् र यिनीहरूको समय के कसरी बितेको छ भनेर अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको जानकारी भएन । तापनि बेला मौकामा हुने छलफल तथा अन्तरक्रियामा केही सुन्न र अनुभव गर्न पाइन्छ । कहिलेकाहीँ प्रमुख अतिथिलाई कुर्दा घण्टौँ समय बिताएको अनुभव पनि छ । साथै अनावश्यक भाषणमा झर्को लाग्ने गरेर सुनेर बसेको अनुभव पनि छ । यी र यस्तै घटना तथा अनुभवबाट केही मात्रामा भए पनि अनुमान गर्ने आधार भेटिन्छन् । भेटघाट, बैठक आदिमा भएका टिपोट अनुमान गर्ने थप आधार बन्न सक्छन् ।

विकसित मुलुकका नागरिक काममा बढी दत्तचित्त हुन्छन् । जब मानिस काममा संलग्न हुन्छ अनि उसँग अनावश्यक कुरा गर्ने समय कम हुन्छ । कोही कसैले कुरा गर्न चाहेमा सुन्ने व्यक्ति पाउन पनि कठिन हुनसक्छ । तर नेपालका बारेमा मानिसको धेरै समय अनावश्यक कुराकानीमा गएको देखिन्छ । मानिसहरू अनुमान गरेको भरमा यकिन गरेर नै बोल्ने गरेको पाइन्छ । 

यस लेखमा समयसमयमा देखे सुनेका र अनुभव गरेका घटना तथा परिस्थितिका आधारमा हाम्रो स्वभाव र हामीले बिताउने समयका बारेमा केही चर्चा गर्न खोजिएको छ । यसमा संलग्न विवरण कुनै अनुसन्धानमा आधारित भएरभन्दा पनि टिपोट भएका सामग्रीका आधारमा तयार गरिएको हुनाले सबै स्थान र परिवेशमा हुबहु नमिल्न पनि सक्छ । तर यसमा उल्लेख गरिएका विवरणले प्रतिनिधिमूलक ढङ्गबाट अवस्था उजागर गर्न भने सहयोग गर्न सक्छ ।  

समस्या नियतमा वा अन्जानमा ? 

व्यक्तिको नियतमा के छ भनेर मापन गर्न कठिन छ । बाहिर एउटा कुरा गर्छ अनि काम अर्कै गर्छ । अनि कसरी मापन गर्ने ? यसको मापन गर्न मनोवैज्ञानिक ‘टुल्स’ होलान् पनि । अर्को उपाय पनि छ जसका लागि केही प्रतिनिधिमूलक घटना केलाउँदा हुन्छ । पुग्छ । जसरी भाँडामा रहेको भातमध्ये कुनै सिता छाम्दा सबै चामल पाकेको नपाकेको थाहा पाउन सकिन्छ ठिक त्यस्तै ढङ्गबाट सार्वजनिक निकायका पदाधिकारीको स्वभाव पत्ता लगाउन यस्तै ससाना प्रतिनिधिमूलक घटना हेर्दा पुग्नसक्छ । देहायका विवरणले हाम्रो अवस्था उजागर गर्न सहयोग गर्नसक्छन् । नियतवश भनौँ वा नजानेर भनौँ हाम्रो स्वभाव देहायबमोजिम छ–  

समय पालनामा अत्यन्त कमजोर : कुनै कार्यक्रममा आयोजकले दिएको समयमा नै पुग्ने र दिएको समयभित्र आफ्ना कुरा भनेर सक्ने हामी कति जना छौँ होला ? आफैँले मनन् गर्दा पुग्छ । दिएको समयभित्र बोलेर सक्नेमा हामी अत्यन्त कमजोर छौँ । म पुरानो या ठूलो वा टाढाको वा अगाडिको वा पछाडिको भन्दै समय तन्काउनमा हामी खप्पिस छौँ । समयमा नपुग्ने अनि नेपाली समय भनेर गलत अभ्यास बसाल्न खोजिएको छ । केही नलागे आफ्ना कुरा गर्न पनि नपाउने भए किन बोलाएको त ? भनेर आयोजकलाई धम्क्याउन पनि हामी पछि नपर्न सक्छौँ । सार्वजनिक पद धारण गरेकामात्र नभई उच्च शिक्षाका पदाधिकारीलगायत सबैजसो यस्तै रोगबाट ग्रसित छौँ । राजनीतिक नेतृत्वमात्र होइन कि प्राज्ञिक समूह पनि समयमै कार्यक्रममा पुग्ने र दिएको समयभित्र बोल्नेमा हामी कतिजना छौँ होला ?  बोल्नेले पनि खासै तयारी गरेको देखिदैन् । यी सबैले हामी समय पालनमा अत्यन्त कमजोर छौँ भन्ने देखाउँछ । कसको अवस्था के कस्तो आफैँले मनन गर्दा हुन्छ । यो अर्कोलाई दोष लगाएर उम्कने विषय पनि होइन् । तोकेको समयभित्र बोल्न नसक्ने तर आदर्श र उपदेशमा भने हामी पोख्त नै छौँ । जब समयमको पालना हुन सक्दैन अनि सुधार सम्भवै छैन ।

हार्डवेयरमा मात्र जोड : विद्यालय तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा छलफल भएको स्थानमा भौतिक पूर्वाधारको मात्र कुरा उठने गर्छ । उपकरणको विषयमात्र उठ्छ । भौतिक पूर्वाधार नहुँदा पनि हुन्छ भन्न खोजेको होइन तर ध्यान केमा छ भनेरमात्र उठान गर्न खोजिएको हो । भएको मर्मत सम्भार गरेर प्रयोगमा ल्याउने विषय धेरै परको विषय बन्छ । हाम्रा सार्वजनिक सङ्गठनमा मूल समस्या ‘सफ्टवेयर’मा छ, कार्यव्यवहार र कार्यसंस्कतिमा छ तर हामी सबैको जोड ‘हार्डवेयर’मा नै देखिइरहेको छ । संस्कार मूल्य मान्यता सुधार गर्न सके बाँकी अन्य पक्ष क्रमशः सुध्रिने थिए । ‘हार्डवेयर’ र ‘सफ्टवेयर’मध्ये कुन चाहिन्छ र कुन चाँहिदैनभन्दा पनि कसलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने हो ।  संसार प्रसिद्ध विश्वविद्यालय पनि पुराना साना एवं भवनमा सञ्चालन भएकै छन् भन्ने हामीले बिर्सछौँ । हाम्रो यस उल्टो यात्रालाई सुल्टाउनु पर्ने आवश्यकता छ । 

भनाइ र गराइमा फरक : मुलुकमा हुने राजनीतिक नियुक्तिमा खासै मापदण्ड प्रयोग भएको पाइँदैन् । सत्ताबाट बाहिर रहँदा मापदण्डको चर्चा हुने गर्दछ । आफू सत्तामा रहेको अवस्थामा यी सबै कथामात्र बन्छन् । हामीमध्ये जो राजनीतिको भरेङ प्रयोग गरेर पदमा पुग्छौँ तर त्यहाँ पुगेपछि संगठनमा राजनीति भयो भन्न छुटाउँदैनौँ । व्यवहारमा राजनीतिक पहुँच पाउँदासम्म सबैले प्रयोग गर्न खोज्छौँ । निर्णय गर्दा पनि म मुलुकको होभन्दा पनि अमूक राजनीतिक दलको हो भनेर सोही दल आबद्धलाई लाभ पुर्याउने काम भइरहेछ । यसरी बाहिर मुखले भने राजनीतिले गर्दा काम गर्न सकिएन भन्ने देखिन्छ । मापदण्डबमोजिम नियुक्ति भएमा अरुलाई भन्ने नैतिक बल हुन्छ अन्यथा यो अर्ति दिने विषयमात्र बन्न पुग्दछ । जबसम्म भनाइ र गराइमा एकरुपता आउन सक्दैन, तबसम्म कहीँ पनि सुधार सम्भव छैन । नभनेर अनावश्यक रूपमा राजनीति गर्नेभन्दा म फलानो दलको भनेर मुलुकका लागि काम गर्ने, निर्णय गर्ने व्यक्ति मुलुकमा लागि लाभदायक हुनसक्छ ।  

सरकार को हो भन्नेमा अस्पष्ट : हरेक सार्वजनिक निकायमा काम गरेका व्यक्तिको बोलाइ र व्यवहार हेर्दा मुलुकमा सरकार भनेको के हो ? भन्नेमा अन्योलता छ । यस्ता निकायमा कार्यरत व्यक्ति सरकार हुन् कि सामान्य नागरिक हुन् वा अमूलक दलका कार्यकर्ता हुन् भन्नेमा द्विविधा देखिन्छ । गाँउमा रहेको सरकारी निकाय वा शैक्षिक संस्थामा काम गर्ने प्रमुख व्यक्ति सरकारको पनि प्रतिनिधि हुनुपर्ने हो । तर उ स्वयं नै प्रतिपक्षी जस्तो व्यवहार गरिरहेको हुन्छ । जिम्मेवार पदमा बस्नेले आफू पनि सरकारको अङ्ग हो भन्ने विषयलाई पटक्कै ख्याल नगरेको पाइन्छ । हरदम सरकारले गरेन भन्ने गरेको सुन्न पाइन्छ । सरकारका सबै अङ्गले काम गर्दै गएमा मात्र सरकारले काम गरेको हुने हो । तर सरकारी अधिकारीले नै सरकारले गरेन भन्नुलाई के भन्ने ? यसमा अनुशासनको आवश्यकता चाहिएको छ । नेपालमा अहिले सबै सार्वजनिक निकायमा ‘गभर्नेन्स’को अवस्था कमजोर हुनुका कारणमध्ये यो पनि एक कारण हुनसक्छ । जो चालक सिटमा छ उसले नै सो भूमिका निर्वाह नगरेपछि ‘गभर्नेन्स’ कमजोर हुने भइहाल्यो । 

बोल्ने बानीमा बढोत्तरी : जब मानिसले आफूले के गरिरहेछु भन्ने आत्मबोध गर्दैन, तब आफूले गरेका सबै काम राम्रा लाग्छन् । तर हामी कहाँ हरेक माथिल्लो ओहोदामा बसेको व्यक्तिले आफूले राम्रो गरेको भनेर प्रबचन दिने प्रवृत्ति बढ्दो क्रममा छ । माथिल्लो पदमा पुगेको व्यक्ति कम बोल्ने धेरै सुन्ने गर्नुपर्छ भनिन्छ । व्यक्ति जति जति माथि चढ्छ वा माथिल्लो पद वा हैसियतमा पुग्छ त्यति मात्रामा थप संयमित हुँदै अरूका कुरा सुन्न सक्नुपर्छ । जोर्डन वी पीटरसनले ‘वी प्रिसाइज इन योर स्पीच’ भनेका छन्, जुन जीवनका १२ उपयोगी नियममध्ये एक नियम हो । माथिल्लो पदमा पुगेकालाई अरुले भन्न गाह्रो हुने भएकाले आफैँ स्वअनुशासनमा बस्नुपर्छ भन्ने गरिएको हो । तर यहाँ जति माथि पुगिन्छ त्यतिमात्रामा कम सुन्ने आदत बनिसकेको देखिन्छ । यो प्रवृत्ति अत्यन्त घातक देखिएको छ । 

उदासिनताको बिक्री : अहिले सामाजिक सञ्जालमा सबैतिर भएन भन्ने मात्र सुनिन्छ । मुलुकमा जति हुनुपथ्र्याे त्यति नभएको होला तर केही पनि भएको छैन भन्ने पनि होइन । भएको काम पनि नबताएर त्यसलाई समेत नजरन्दाज भइरहेछ । सामाजिक सञ्जालको भरमा भाष्य निर्माण गर्ने काम भइरहेछ । यो अवस्था भनेको भिडबाट निर्देशित हुने अवस्था जस्तै हो । भएका कार्यक्रम सञ्चालनमा खासै समन्वय हुँदैन । दोष अर्कालाई दिएर उम्कन पाइने अवस्था बलियो बन्दै गएको छ । केही समस्या आयो भने अरुलाई देखाएपछि पुग्यो । के मुलुकमा समस्या र निराशा एवं कुण्ठामात्र छ त ? यस्तो होइन, मुलुकमा सुधार हामीले नै गर्ने हो भन्ने भाष्य निर्माण गर्नुपर्ने छ । समाजका हरेक तह र तप्कामा भएका कामसहित नभएका कामका बारेमा चर्चा हुनु आवश्यक छ ।

अनावश्यक पक्षमा चर्चा र खर्च बढाउने कार्य : प्राग ऐतिहासिककालीन इतिहासको आधारमा गर्व गर्ने रोग हामीमा लागेको छ । अत्यन्त अमूर्त कुरा गरेर जनमत निर्माण गर्ने काम भइरहेछ । मूल समस्या अहिलेको चुनौती कसरी समाधान गर्ने भन्ने छ तर हामी न्यूटनभन्दा पनि अघि गुरुवात्कर्षण सिद्धान्त प्रतिपादन गरेका छौँ भनेर गर्व गरेर के अर्थ राख्ला ? अहिलेको चुनौती चिनेर यसलाई कसरी समाधान गर्ने भन्दा पनि यस्तै अमूर्त कुरा गर्ने संस्कार बस्दैछ । भएका संस्थामा सुधार गर्ने भन्दा पनि नयाँ खोल्ने वा कार्यक्रम विस्तार गर्ने कार्यलाई सुधार मान्ने प्रवृत्ति देखिदैछ । कुन कार्यक्रम किन सुरु गर्ने ? कुनै तथ्य र अनुसन्धानमा आधारित निर्णय भएको देखिदैन् । भएका कार्यक्रमलाई बन्द गर्ने वा परिमार्जन गरी त्यसको स्थानमा नयाँ कार्यक्रम ल्याउनेभन्दा पनि भएकालाई पनि निरन्तरता दिने र नयाँ पनि थप्दै जाने प्रवृत्ति बढ्दो क्रममा छ । मुलुकका लागि थप व्ययभार सिर्जना गर्ने कार्य भइरहेछ । भाडाको बस बिग्रेमा त्यसलाई छोडी अर्को समात्ने जस्तो प्रवृत्ति शैक्षिक कार्यक्रम सञ्चालन गर्नेमा देखिएको छ ।

ध्यान नतिजामा हो कि प्रक्रियामा : हाम्रा काम अलि बढी प्रक्रियामुखी भएकै छन् । सार्वजनिक प्रशासनमा प्रक्रियामा मात्र अल्झने प्रवृत्ति छ भन्ने गरिन्छ । नियम कानुनका कारण वा व्यक्तिका स्वभावका कारण यस्तो भएको हो भन्नेमा खासै खोजी गरिदैन् । भन्ने गरिन्छ प्रक्रिया र नतिजाको सम्बन्ध बलियो छ । नतिजा स्पष्ट भएमा त्यसले प्रक्रियालाई वाध्यकारी बनाउँछ । नतिजा भएन भने प्रक्रिया अनिश्चित पूर्ण छ । हामीकहाँ प्रक्रिया बढी भएको हो वा नतिजा (गन्तव्य) नभएको हो ? एकपटक सोच्नैपर्छ । 

प्रक्रिया र नतिजाको चर्चा गर्दा नीतिकथाको प्रसँग उठाउनु सान्दर्भिक नै हुनसक्छ । नीतिकथामा भनिएअनुसार बाबुआमाले छोरालाई बारीको मकै कुर्न पठाए । कुनै पनि जनावर मकै खान आए भने तिनलाई धपाउनु भने । मकैबारी कुर्न गएको छोरो बारीको एउटा छेउमा बस्यो । अपरान्ह एउटा गोरु मकैबारीतर्फ आयो । छोराले बुबाआमाले भनेको सम्झन्छ अनि गोरुलाई धपाउन थाल्छ । बुबाआमाको आज्ञापालक छोरोले गोरु धपाउने आदेश निरन्तर पालन गरिरहन्छ । रात पर्न लाग्यो तर पनि उसले गोरु धपाउन छोड्दैन । साँझसम्म छोरा घरमा नआएपछि बाबुआमा छोरो खोज्न निस्के । केही समयपछि छोरा फेला पनि पर्छ । तर उसले त्यतिबेलासम्म पनि गोरु धपाइरहेकै हुन्छ । के गरेको ? बुबाआमाले एकसासमा सोध्छन् । छोराले उत्तर दिन्छ– मलाई गोरु मकै खान आयो भने धपाउन भन्नु भएको थियो, त्यही भएर हजुरहरुको आज्ञा पालन गरेको । कस्तो आज्ञापालक छोरो ? उसलाई कहाँसम्म गाइगोरु धपाउने भनिएन । तसर्थ उसले निरन्तर धपाइरह्यो । माथिको कथामा यात्रा थियो तर गन्तव्य थिएन । प्रक्रिया थियो तर नतिजा थिएन । कथाबाट भए पनि महत्वपूर्ण सन्देश लिन सकिन्छ । गन्तव्य भएन भने गतिले मात्र नतिजा सार्थक नहुन सक्छन् । अर्थात् यो स्वेच्छाचारी बन्छ । अनिश्चयपूर्ण बन्छ । तसर्थ हाम्रोजस्तो अवस्थामा प्रक्रिया र नतिजा दुवै आवश्यक हुन्छन् । 

सुधार साना कामबाट सुरु गरौँ 

संगठन र संस्थामा रहेका बेथिति सुधारका लागि धेरै काम गर्नुपर्ने हुनसक्छ । तर यस लेखमा व्यक्तिको आचरण र व्यवहारलाई ध्यानमा राखेर केही विश्लेषण र उपाय सुझाउनु रहेको छ । ठूला ठूला सिद्धान्तभन्दा पनि साना मसिन र आचरणगत पक्षमा जोड दिन खोजिएको छ । जब आचरणमा सुधार हुन्छ अनि ठूला ठूला समस्या पनि सुधार हुनथाल्छन् । माथिका समस्या समाधानका लागि केही उपाय देहाएमा सुझाइएको छ–

१) समय पालना : समय सबैका लागि प्रतिदिन १४४० मिनेटमात्र हो । यही १४४० मिनेटभित्र व्यक्तिले आफ्ना यावत क्रियाकलाप गर्नुपर्ने हुन्छ । यो बढाएर तन्काउन पनि सकिँदैन । बरु व्यक्तिले के कसरी समयभित्र काम सक्ने भनेर आफूलाई नियन्त्रणमा राख्न सक्छ । समयको महत्व बुझेर चल्न सकेमात्र प्रभावकारी बन्न सकिन्छ । तर सार्वजनिक सरोकारका विषयमा हुने बैठक, भेला, छलफल, सेमिनारमा व्यक्ति जति माथिल्लो पद वा हैसियतमा पुग्छ उसलाई बढी समय चाहिन्छ भन्ने देखियो जुन गलत छ । कार्यक्रम सञ्चालकले दिएको समयभित्र बोलेर नसक्ने अनि मेरै कुरा नसुन्ने भए मलाई किन बोलाएको भन्ने जस्ता कुतर्क ल्याउन बन्द नै गर्नुपर्छ । माथिकाले समय पालन गरेमा तलकालाई समय पालना गराउन धेरै सजिलो हुन्छ । 

२) कम बोल्ने धेरै सुन्ने : मानिसलाई के लाग्दो हो, बोलेर सबै काम हुन्छ । बोलेरमात्र काम हुने भए हामी उहिल्यै विकसित भई सक्थ्यौँ । भाषणले हुने भए हामी अहिले समुन्नत अवस्थामा पुगी सक्थ्यौँ । बोल्नुभन्दा काम गर्नु ठूलो कुरा हो । कम बोलेर कसरी काम गर्ने अभ्यास हामी सबैमा चाहिएको छ । यसको लागि सबैले अभ्यास गर्नुपर्छ ।

३) क्षमतायुक्तलाई मौका दिने : उच्च शिक्षाका जिम्मेवार पदाधिकारीले समयसमयमा उठाउने गरेको विषय हाम्रा विश्वविद्यालयमा राजनीति भयो भन्ने देखिन्छ । राजनीतिले गर्दा काम गर्न सकिएन भन्ने रहेछ । नेपालमा दल वा गुटमा नलागेका व्यक्ति कति होलान् ? जुन पार्टीले नियुक्ति दिए पनि कोही न कोही राजनीति गरेकै व्यक्ति आउने त हुन् नि ? प्रश्न यहाँ राजनीतिभन्दा पनि क्षमताको विषय हो । संगठन के कसरी चलाउने भन्ने विषय व्यक्तिको क्षमता र कार्यशैलीमा भर पर्छ । संगठनमा शक्ति सङ्घर्ष, विमति, वैमनस्य भइ नै रहन्छ । सबै आफ्ना अनुयायी बनून् भनेर त कहाँ पाउन सकिएला र ! सबै प्रकारका द्वन्द्व र विमतिको व्यवस्थापन गर्ने नेतृत्वशैली आजको आवश्यकता हो । यस्तो नेतृत्वशैली बोलेर आउने होइन, काम गरेर मात्र आउने हो । आपसी संवाद र सहकार्यबाट आउने हो । एकोहोरो बोल्नुमात्र संवाद होइन । पदमा पुगेपछि क्षमता नभए आर्जन गर्नेतर्फ लाग्नुपर्छ । सो पनि गर्न नसके अन्य क्षमतावानको सहयोग लिनुपर्छ । 

४) सुरुमा प्रक्रिया अनिमात्र नतिजामा जोड : व्यवस्थापनमा नतिजालाई महत्व दिने विधि पनि छ । नतिजामूलक व्यवस्थापन भनेको नतिजामा एकाग्रता भएर लाग भनेको हो । काम गर्दा प्रक्रियामा मात्र अल्झेर नबस भनेको हो । नतिजा ल्याउन प्रक्रियामा परिमार्जन आवश्यक भएमा सो पनि गर भनेको अर्थमा लिनु पर्छ । नतिजामूलक व्यवस्थापनमा प्रक्रियामा ध्यान नदिने वा प्रक्रिया चाहिँदैन भनेको होइन । यसलाई अझ सरल भाषामा भन्न सकिन्छ । बिहानीपख मर्निङवाकमा जानेको कतिको अभ्यास हुन्छ । यस्तो हिडाइसँग दुई वटा पक्ष स्पष्ट हुनु आवश्यक हुन्छ । ती दुई पक्ष भनेका गति र गन्तव्य हुनु हो । गन्तव्य नलिइकन हिँडेको व्यक्तिलाई सोध्ने हो भने यसै घुम्न निस्केको भन्ने हुन्छ । जहाँ पुग्यो त्यसैलाई गन्तव्य मान्ने जस्तो देखिन्छ । गन्तव्य भएन भने गतिले मात्र पनि केही गर्दैन । यो अनिश्चित बन्दछ । कहाँसम्म पुग्ने हो ? व्यक्तिको स्वभावमा अल्छिपना आयो भने गतिवान पनि बीचमा रोकिन सक्छ । 

५) नीति र प्रणालीमा जोड दिउँ : पदमा पुगेको व्यक्तिमध्ये धेरै कमलाई मात्र यो नासोको पद हो । केही समयका लागि हो भन्ने अनुभव हुनसक्छ । धेरैले यो पद सधैँका लागि हो जस्तो पनि गर्छन् । जति मात्रामा व्यक्तिले यो पद नासोको रूपमा हो भने सोच्छ उसको लागि राम्रा काम गर्नका लागि समय अत्यन्त कम छ । यहाँ राम्रा काम भनेका नीतिगत काम र प्रणाली बसाल्ने काम हुन् । प्रमुखले सुशासन दिनसक्ने हो भने संगठनको प्रगति हुन धेरै समय लाग्दैन । ली क्वान युलगायतका नेताले मुलुक बनाएका यिनै नीति, प्रणाली स्थापना र सुशासनमा जोड दिएर नै हो ।

समस्या हरेक समाजमा हुन्छन् । कतिपय समस्या विगतदेखि जम्मा भएर आएका पनि हुन्छन् । धेरै समस्या समय र परिवेशसँग जोडिएका हुन्छन् । तसर्थ यिनको समाधानका लागि पनि समय र परिवेशसँग उपयुक्त उपाय खोजिएको हुनुपर्छ । अन्यत्रबाट ल्याएका उपायलाई पनि परिवेश अनुकूल बनाएरमात्र कार्यान्वयन गरिनुपर्छ । 

र अन्तमा, 

संगठनको जीवन्तता त्यसको नेतृत्व र त्यहाँ संलग्न जनशक्तिको सोच, चिन्तन, कार्यशैली, कार्य संस्कृति, र व्यवहारमा भर पर्दछ । यी सबैको समुच्च रूप नै संगठनात्मक व्यवहार हो । जहाँ संगठन पूर्ण रूपमा स्वचालित प्रणालीको आधारमा सञ्चालन हुन्छ, त्यहाँ नतिजामूलक व्यवस्थापन उपयुक्त हुन्छ । किनकी यस अवस्थामा आफूले गर्नुपर्ने काम र हासिल गर्नुपर्ने उपलब्धिका बारेमा स्पष्ट हुन्छन् । प्रणाली बलियो भएमा नतिजामूलक वा नतिजामा आधारित व्यवस्थापन ठीक छ । हामीकहाँ संगठन र प्रणाली कमजोर छ । भएका स्थानमा पनि व्यक्तिमा आधारित संगठन प्रणाली छ । संगठनात्मक कार्य व्यवहार र कार्य संस्कृतिको आधार पनि कमजोर छ । यस्तो अवस्थामा नतिजामा आधारितभन्दा पनि प्रक्रियामा आधारित व्यवस्थापन उपयुक्त हुन्छ । यी कामका लागि समयपालना गर्ने, अरुलाई धेरै सुन्ने, सहभागितामूलक ढङ्गबाट निर्णय गर्ने जस्ता कार्य अति आवश्यक हुन्छन् । अनिमात्र सुधारको यात्रा सुरु हुनसक्छ ।  

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् ।