A Levels MA

चिकित्सा शिक्षामा यो वर्ष ४०० विदेशी विद्यार्थी नेपाल भित्रिए

दक्षिण भारतका एमडी राफी उमर केही महिना अघिदेखि नेपाल आएका छन् । हाल उनी सुनसरीको धरानमा बस्दै आएका छन् । नेपालको राजनैतिक तथा प्राकृतिक सम्पदा अवलोकन गर्दै उच्च शिक्षा हासिल गर्ने सोचका साथ उनी नेपाल आएका हुन् । हिन्दी, अङ्ग्रेजी, मैथिली भाषामा दख्खल राख्ने उनले नेपाली भाषा पनि बुझ्न थालेका छन् । नेपाल आउने बितिकै विश्वभाषा क्याम्पसबाट नेपाली भाषा सिक्ने सोच बनाएका उनी महामारीका कारण यो सपना पुरा गर्न नसक्ने भएको बताउँछन् । अहिले उनी चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययनका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका छन् । सुन्दर नेपालको कल्पना गरेर धरान आएका उनी अहिले प्रतिष्ठानको अस्तव्यस्त शैक्षिक अवस्था देखेर भविष्य प्रति चिन्तित हुन थालेका छन् । ‘नेपाल सुने जस्तो रहेन छ, सुन्दा पढ्दा राम्रो लाग्ने नेपालभित्र पनि धेरै धमिरा लागेका रहेछ’ उनी भन्छन्, ‘ व्यवस्थापनले उचित प्रवन्ध गरे नेपाल विश्वका विद्यार्थीको गन्तव्य मुलुक बन्न सक्छ मेरो रोजाइ जस्तै ।’

उनी भारतमा भन्दा आर्थिक भार कम पर्ने र सन्दुक रुइत जस्ता डाक्टर जान्माएको देशमा गुणस्तरीय शिक्षा पाइने अपेक्षाका साथ आएका छन् । तर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक वातावरण सुधारेर गुणस्तरीय शिक्षा पाउनेमा विश्वस्त छन् ।

सोही अपेक्षाका साथ भारतको उत्तर प्रदेशका इमरान खान पनि वीपीमा नै भर्ना भएका छन् । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सत्यम कुमार र वैभव पल भर्ना भएका छन् । सबैको अपेक्षा सर्वसुलभ गुणस्तरीय शिक्षा पाउने रहेको छ ।

चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययन गर्न यो वर्ष भारतबाट धेरै विद्यार्थी आएका छन् । चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलका अनुसार चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन गर्न एकीकृत प्रवेश परीक्षा र सम्बन्धित देशको परीक्षा पास भएका विद्यार्थी सिधै भर्ना हुन पाउछन् । ‘नेपालमा यो वर्ष भारत, भूटान, श्रीलंका, पाकिस्तान, इष्टट्युमोर लगायतका करिब ४०० विद्यार्थी स्नातक तहमा अध्ययनका लागि आएका छन् ।’ उनले भने, ‘चिकित्सा शिक्षामा धेरै भारतका विद्यार्थी आएका छन् ।’

नेपाल चिकित्सा शिक्षाको उत्कृष्ट गन्तव्य बन्न सक्छ । यसका लागि सरकारले शुल्कमा एकरुपता कायम गर्न सक्नु पर्ने विज्ञले सुझाए । आयोगले तोकेको शुल्कअनुसार शैक्षिक सत्र २०७७–७८ का लागि एमबीबीएसमा ४० लाख, २३ हजार २५० हो। यसमा १.६ ले वृद्धिगर्दा विदेशी विद्यार्थीको हकमा ६४ लाख ३ हजार ७२० हुन आउँछ। तर, त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयले विदेशी विद्यार्थीका हकमा ९० हजार १६ अमेरिकी डलर तोकेर भर्नाका लागि आव्हान गरेको छ । तोकिएको शुल्कका एक तिहाइ बराबरको शुल्क ३० हजार ५ डलर हिमालयन बैंकमा जम्मा गरेर भर्ना हुन आउन विदेशी विद्यार्थीलाई सूचना जारी गरेको छ ।

त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी विद्यार्थीको हकमा ७४ हजार ५५५ अमेरिकी डलर तोकेर भर्नाको समयमा २५ हजार ४४० अमेरिकी डलर शुल्क तिर्न सूचना जारी गरी सकेको छ । भने, काठमाडौं विश्वविद्यालय (केयु) ले ६४ लाख ७२० रुपियाँमै विदेशी विद्यार्थी एमबीबीएसमा भर्ना लिने भएको छ । यस्तो शुल्कमा ठुलो अन्तराल भएपछि विदेशी विद्यार्थी भित्र्याउने भन्दा भगाउने काम हुने केयुका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माले बताए । ‘आर्थिक, शैक्षिक आधारमा नेपाल चिकित्सा शिक्षाको उत्कृष्ट गन्तव्य बन्न सक्छ ।’ उनले भने, ‘नेपालको युवा शक्ति उत्कृष्ट शिक्षाको खोजीमा विदेशिएका छन्, यसले गर्दा बौद्धिक पलायन भएर राष्ट्र विकासमा क्षति भइरहेको छ त्यसैले सरकारले शिक्षा प्रदायक संस्थालाई शैक्षिक वातावरण दिनुपर्यो, शुल्कमा एकरुपता गर्नुपर्यो ।’

त्रिवि सम्बद्ध प्रतिष्ठान तथा कलेज, काठमाडौं विश्वविद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका शिक्षण संस्थामा एमबीबीएस भर्नाका लागि भर्ना हुन इच्छुक छन् । कतिपयले भर्ना गरिसकेका छन् भने कतिपय भर्ना हुने तयारीमा छन् ।

शुल्क स्पष्ट छः आयोग

आयोगले गत वैशाख २९ गते एक सूचना जारी गरी शैक्षिक सत्र २०७७–७८मा उपत्यका भित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपियाँ शुल्क निर्धारण गरेको थियो । बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५८० निर्धारण गरेको थियो । सोही शुल्कमा १.६ प्रतिशत वृद्धि गरेर विदेशी विद्यार्थीलाई पढाउन सार्वजनिक सूचना बारम्बार गरिसकिएको सदस्य आयोगका सचिव लुइटेलले जानकारी दिए ।

पाँच वर्षमा ७ हजार ५ सय विदेशी विद्यार्थी भित्रिए

राष्ट्र बैङ्कको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७७-७८ मा विदेशी विद्यार्थीबाट एक अर्ब चार करोड ५९ लाख रुपियाँ, आर्थिक वर्ष ०७६-७७ मा दुई अर्ब २३ करोड चार लाख रुपियाँ, र ०७५-७६ मा दुई अर्ब २५ करोड १६ लाख रुपियाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार नेपालमा विगत पाँच वर्ष यता विदेशका ७ हजार ५१६ विद्यार्थी अध्ययनरत छन् । विभागको रिपोट अनुसार सन् २०१७ देखि हालसम्म २०१७ मा १ हजार ७८२, २०१८ मा २ हजार १७६, २०१९ मा १ हजार ९२७, २०२० मा ९८३, २०२१ मा ६४८ विद्यार्थी अध्ययनका लागि नेपाल आएका हुन् । ती विद्यार्थीहरु विश्वभाषा क्याम्पसमा विभिन्न भाषा अध्ययन गरिरहेका छन् । चिकित्सा शिक्षा बाहेक अन्य विषय पढ्न भने जापानबाट धेरै विद्यार्थी भित्रिएको अध्यागमन विभागको तथ्यांकमा  उल्लेख गरिएको छ । १ हजार ८७, अमेरिकाका ९ सय ६८, दक्षिण कोरियाका ९०४, बेलायती ८३५, चिनियाँ ७३३, श्रीलंकन ४८३ छन् । त्यसैगरी, माल्दिभ्सका ४७१, अस्ट्रेलियाका १६५, क्यानडाका ११५, दुई सयभन्दा धेरै मुलुकका नागरिकले विद्यार्थी भिसा लिएर नेपाल बस्दै आएका छन् ।

राष्ट्र बैङ्कको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७७-७८ मा विदेशी विद्यार्थीबाट एक अर्ब चार करोड ५९ लाख रुपियाँ, आर्थिक वर्ष ०७६-७७ मा दुई अर्ब २३ करोड चार लाख रुपियाँ, र ०७५-७६ मा दुई अर्ब २५ करोड १६ लाख रुपियाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ ।

बार्षिक अर्बौं रकम बाहिरियो

नेपालबाट सुनिस्चित भविष्यको खोजीमा हजारौं विद्यार्थी विदेशिने गरेका छन् । कोभिड १९ को महामारीले विश्वलाई नै आक्रान्त पारेको आर्थिक वर्ष ०७७र७८ मा २९ हजार ९७८ ७८ विद्यार्थीले ५७ देशमा अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । विद्यार्थी संगै नेपालको २४ अर्ब ९५ करोड ९४ लाख रुपियाँ पनि विदेशिएको छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार आव ०७६-७७ मा एनओसी लिने विद्यार्थीको संख्या ३४ हजार ९४ जना रहेको छ । उक्त वर्ष पनि नेपालको २५ अर्ब ८१ करोड ३२ लाख रुपियाँ बाहिरिएको थियो ।  आर्थिक वर्ष ०७५-७६ मा ६३ हजार दुई सय ५९ विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका थिए । त्यो वर्ष ४६ अर्ब २४ करोड तीन लाख रुपियाँ बाहिरियो ।

नेपालमा नै शिक्षण संस्थालाई प्राज्ञिक बनाएर स्वच्छ शैक्षिक वातावरण प्रदान गर्ने हो भने वार्षिक अर्बौं रकम विदेशिनबाट जोगिने त्रिविका  पूर्व उपकुलपति केदारभक्त माथेमा  बताउछन् । शुल्कमा  एकरुपता, रोजगारीको अवसरका  लागि उद्योग तथा कलकारखानाको व्यवस्था गरी शैक्षिक संस्थाको उन्नय गर्न सके नेपाल विदेशी विद्यार्थीको गन्तव्य मुलुक बन्न सक्ने उनले दाबी गरे ।  

Thuprai - Books and E-books