यतिबेला शिक्षक अस्पतालको प्रसङ्ग चर्चामा छ । विद्यालयदेखि सामाजिक सञ्जालसम्म शिक्षक अस्पतालका बारेमा बहस देखिएको छ । शिक्षक अस्पताल निर्माण प्रयोजनका लागि स्थान खोज्न समिति गठन गरिएपछि यो विषय पुनः चर्चामा आएको हो । हुन त बजेट कार्यक्रममै समावेश भएको विषय हो यो । गएको सोमबार शिक्षामन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय समिति गठन गरिएको थियो । समिति गठन हुनुबाट बजेट कार्यक्रममा समावेश गरिएको विषयको कार्यान्वयनको संकेतका रूपमा यसलाई बुझिनुपर्छ । संकेतका रूपमा लिइनुपर्छ । समितिले आगामी दुई महिनाभित्र आफ्नो जिम्मेवारी पूरा गर्नेछ । कार्यादेशमा काठमाडौँ खाल्डो वा चितवन वा अन्य उपयुक्त स्थानमा उपयुक्त जग्गा सिफारिस गर्न भनिएको छ । निर्माण कहिले थाल्ने, कति खर्च लाग्ने, सुविधा कस्तो रहने लगायतका विषय पछिका हुन्, पहिले स्थान चयन हुनु जरुरी छ । ढिलो चाँडोमात्र हो, अब शिक्षक अस्पताल निर्माणलाई कसैले पनि रोक्न सक्दैन । रोक्नु पनि हुँदैन ।
शिक्षक अस्पताल स्थापनाका लागि जग्गा खोजीको समाचार सार्वजनिक भएपछि शिक्षकहरू खुशी भएका छन् । किनकि यो अस्पताल शिक्षकका लागि नै हो । यो अपनत्वको विषय पनि हो । प्रतिष्ठाको विषय पनि हो । सरल र न्यून शुल्कमा विशेषज्ञ उपचार पाइनेछ भन्ने पनि खुशीको विषय हो । सबैले चाहन्छन् र चाहनु पनि पर्छ– सकभर अस्पताल जानु नपरोस् । हो, अस्पताल जानै नपरे बेश । तर शरीरले त्यो मान्दैन । शरीरका पुर्जा मानिसले चाहेअनुसार नचल्न सक्छ । पुर्जालाई बेलाबखत व्यवस्थित र सक्रिय तुल्याउन अस्पताललाई गुहार्नै पर्छ । निजामती कर्मचारीका लागि निजामती अस्पताल भए जस्तै लाखौँ शिक्षकका लागि शिक्षक अस्पताल जरूरी पनि छ । पेसापिच्छे अस्पताल हुनुहुँदैन भन्ने तर्क पनि आएका छन् । भोलि इन्जिनियर अस्पताल, अधिवक्ता अस्पताल, संस्थान अस्पताल, पत्रकार अस्पताल लगायतका अस्पतालका माग तथा प्रसङ्ग उठ्नसक्छ र सबै पेसाकर्मीका लागि छुट्टाछुट्टै अस्पताल सम्भव नहुनसक्छ भन्ने तर्क नगरिएका पक्कै होइनन् । एउटा कुरा हामीले कहिल्यै भुल्नु हुँदैन– इन्जिनियर, चिकित्सक, अधिवक्ता, निजामती कर्मचारी लगायतलाई शिक्षा कसले दिएको होला ? स्वभाविक छ, त्यसको उत्तर– शिक्षक । अनि शिक्षकको सम्मान गर्न कञ्जुस्याँइ किन ? विदेशमा सबैभन्दा बढी तलब शिक्षककै हुन्छ । हामी सबै कुरामा शिक्षकलाई विभेद गरेका छौँ । शिक्षकको दर्जा उच्चकोटीको हुनुपर्दछ । शिक्षण पेसा निकै सम्मानित पेसा हो । आफ्ना लागि अस्पताल बनाउनेहरूले आफूलाई शिक्षा प्रदान गरेर योग्य बनाइदिने शिक्षकका लागि अस्पताल आवश्यक छैन भन्ने तर्क कति जायज होला ? विचारणीय छ ।
मुलुक सङ्घीय संरचनामा सञ्चालित छ । अब सबै कुरा काठमाडौँ भन्नु हुँदैन । केन्द्रीकृत मानसिकताबाट पर जान सक्नुपर्छ । तसर्थ शिक्षक अस्पताल उपत्यकामा निर्माण नगर्दा नै उपयुक्त हुन्छ भन्ने धारणा शिक्षकहरूबाट नै व्यक्त भएका छन् । हुन त सबैको सहजका लागि काठमाडौँ जति उपयुक्त अरू स्थान नहुन सक्ला तर अन्य स्थानमा अस्पताल विकास गर्न नसकिने पक्कै होइन होला । देशका ७७ वटै जिल्लाका शिक्षकलाई पायक पर्ने स्थान हुनुपर्दछ । सामान्य उपचारका लागि शिक्षक अस्पताल चाहिएको होइन । जटिल रोगको विशेषज्ञतासहितको उपचारका लागि यो अस्पताल स्थापना हुनुपर्छ । त्यसका लागि काठमाडौँ नै धाउनुपर्छ भन्ने हुँदै होइन । सबैका लागि पायक पर्ने स्थानमा अस्पताल निर्माण हुनसक्दा बढीभन्दा बढी शिक्षक सेवाबाट लाभान्वित हुनसक्थे ।
निजामती अस्पतालमा उपचारका लागि आउने निजामती कर्मचारीको सङ्ख्या न्यून भएपछि सबैका लागि खुला गरियो । अहिले त्यहाँ विरामीको भीड धानिनसक्नुछ । टिकटको लाइन र उपचार शुल्कमात्र फरक छ । बाँकी कुरामा निजामती वा गैरनिजामतीमा फरक छैन । नाम निजामती अस्पताल भए पनि कसैलाई पनि उपचारमा बन्देज गरिनुहुन्न र निजामती कर्मचारीबाहेकले उपचार पाउनु हुन्न भन्ने फरक फरक तर्क गरिँदै आएको पाइन्छ । तर अब त्यहाँ गैरनिजामतीलाई बन्देज लगाउन सम्भव छैन । शिक्षक अस्पतालमा पनि शिक्षकलाई मात्र उपचार गर्ने वा सबैलाई खुला गर्ने भन्ने बहस हुनु जरुरी छ । शिक्षक वा निजका परिवारलाई निश्चित शुल्क छुट दिने र अन्यलाई खुला गर्दा आर्जन हुने रकमबाट उच्चस्तरीय अस्पताल सञ्चालनमा सहज हुन्छ भन्ने धारणा पनि नआएका होइनन् । गम्भिर छलफल भई यो विषयको छिनोफानो हुनुपर्छ । भोलि शिक्षक अस्पतालको आय आर्जनका लागि प्राथमिकतामा गैरशिक्षक पर्नु हुँदैन । शिक्षकका लागि नै भनेर शिक्षकका नाममा खोलिने अस्पताल हो भन्ने हेक्का राख्नुपर्छ ।