तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।
हाल माविका लागि एकजना राहत र एकजना स्थायी शिक्षक दरबन्दी मात्र रहेकाले पठनपाठनमा समस्या भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार व्यवस्थापन सङ्काय चलाएको चार वर्ष भयो । तर राससका अनुसार विद्यालयमा कक्षा ९ र १० पढाउने शिक्षक समेत छैनन् । ‘ एक राहत र एक जनामात्र स्थायी शिक्षक माविका लागि छन् ।’ उनले भने, ‘शिक्षक दरबन्दी नै नभएपछि निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।’
एकातिर हरेक शिक्षा मन्त्री आफ्नो प्रगति प्रतिवेदनमा अनिवार्य तथा निशुल्क शिक्षा भनेर चिच्याउन गर्छन् अर्को तर्फ यसको कार्यान्वयनको अवस्था कहाली लाग्दो छ । विद्यालयले विद्यार्थीबाट शुल्क लिन नपाउने भनिएपछि विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट अनेक शीर्षकबाट शुल्क लिनु पर्ने अवस्था छ । विद्यालयले निजी स्रोतका शिक्षकका लागि वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था छ । अंग्रेजी शिक्षकलाई आंशिक रूपमा राखिएको छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरेको अध्यक्ष अधिकारी बताउँछन् ।
निजी शिक्षकको तलब प्रदान गर्दा विद्यालयलाई वार्षिक रु पाँच लाख घाटा हुने गरेको छ । विदार्थीबाट लिएको शुल्कले नपुगेपछि अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट शिक्षकलाई तलब दिने गरिएको छ ।
गरिब, पिछडिएका वर्ग र द्वन्द पीडित लगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पढाउने यो विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क गर्ने निर्णय गरेको छ ।