After SEE Portal

एसईईका परीक्षार्थीले समय व्यवस्थापन गर्ने तरिका

Bridge Course

चीनको वुहानबाट सुरु भई महामारीको रुपमा विश्वलाई नै चुनौती दिँदै फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड–१९)को प्रभावले आममानिसमा भयावह र सन्त्रासको वातावरण छाएको छ । यही सन्त्रासमय वातावरणका कारण उत्पन्न असहज परिस्थितिले देश अहिले लकडाउनको अवस्थामा छ । एसईई परीक्षाको पूर्वसमय वा सन्ध्यामा कोरोना भाइरसका कारण चैत्र ६ गतेबाट सुरु हुने भनिएको एसईई परीक्षा चैत्र ५ गतेबाट नै अनिश्चितकालका लागि स्थगित हुन पुग्यो । यसको प्रत्यक्ष असर एसईई परीक्षाको पूर्ण तयारीमा बसेका विद्यार्थी भाइबहिनीको कलिलो मानसपटलमा पर्न गएको अनुभूति भएको छ । यस विषम परिस्थितिमा कत्ति पनि विचलित नभई कोरोना भाइरसको सङ्क्रमणबाट आफूलाई सुरक्षित राख्दै धैर्य धारणाका साथ एसईई परीक्षाको तयारीमा निरन्तरता दिनु आवश्यक छ ।

एसईई परीक्षाको निम्ति प्रतिक्षारत विद्यार्थीहरुले आफ्नो अध्ययन र आसन्न परीक्षालाई समेत दृष्टिगत गरी कार्यतालिका निर्माण गर्नु पर्दछ । यसका लागि विशेषगरी अभिभावकबाट सहयोग हुनु जरुरी छ । एसईईमा सम्मिलित हुने परीक्षार्थीहरुले लकडाउनको समयलाई पठनपाठन वा निरन्तर अभ्यासमा लगाउन सके परीक्षामा राम्रो उपलब्धि हासिल गर्नसक्ने निश्चित प्रायः छ । यो समयलाई निम्न कार्यहरु गरी अवसरको रुपमा परिणत गर्नुहुनेछ भनी केही टिप्स उल्लेख गरिएको छ :

१) हरेक विषयलाई पढ्ने समय तालिका निर्माण गरी क्रमवद्धरुपमा अध्ययनलाई निरन्तरता दिनुहोला ।

२) अधिकांश विद्यार्थीहरुले गणित सिकाइका लागि आवश्यक पर्ने समय व्यवस्थापन गर्न नसक्दा वा नजान्दाका कारण नतिजा राम्रो ल्याउन नसकेको देखिन्छ । यसका लागि विद्यार्थीहरुलाई लकडाउनको समय उपयुक्त हुनसक्छ । निरन्तर अभ्यास गरी यो विषयप्रति आत्मविश्वास बढाउनुहोला ।

३) गणित विषयको एसईई विशिष्टिकरण तालिकाको राम्रो अध्ययन गरी कुन क्षेत्रबाट कति अङ्कभारको कस्ता प्रश्नहरु सोधिन्छन् रु भन्ने कुरामा प्रष्ट हुनुपर्छ । त्यसपछि Marks र Chapter को सन्तुलनको आधारमा कुन क्षेत्रलाई कति समय अध्ययनको लागि छुट्याउन पर्ने हो निक्यौल गरी अभ्यास गर्नुहोला ।

४) पाठयक्रम विकास केन्द्रबाट बनाइएका गणित विषयका एसईई नमुना प्रश्नपत्रहरु साथै अघिल्ला वर्षहरुमा एसईई परीक्षामा सोधिएका पुराना प्रश्नपत्रहरुको समाधान गर्नमा अभ्यस्त रहनुहोला ।

५) लकडाउनको समयमा शिक्षकहरुसँग प्रत्यक्ष भेट्न नसके पनि सामाजिक सञ्जाल वा टेलिफोनमार्फत आफ्ना विषयगत शिक्षकसँग सम्पर्क गरी अध्ययनका क्रममा आइपरेका समस्याहरुको समाधान खोज्नुहोला ।

६) एसईई परीक्षालाई मध्यनजर गरी एनटीभी प्लसबाट आइतबारदेखि शुक्रबारसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अनिवार्य विषयका नमुना प्रश्नहरु र तिनको समाधानका कार्यक्रमको विकास गरी प्रशारण भइरहेको हुँदा सो कक्षाबाट लाभ लिनुहोला ।

७) शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीद्वारा निर्मित भर्चुअल कक्षाहरु आफ्नो अनुकूलको समयमा युटुयुबमा एनसिइडी भर्चुअल क्लास सर्च गरी आफुलाई गाह्रो लागेको पाठको अध्ययन गर्नुहोला ।

एसईई परीक्षार्थीहरुले यस सङ्कटकालीन महामारीको समयमा कत्ति पनि हतोत्साही नभई लकडाउनको चुनौतीलाई अवसरमा बदली सुरक्षित रहेर आफ्नो अध्ययनलाई निरन्तरता दिनुहुनेछ भन्नेमा विश्वस्त छु ।

(लेखिका गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीका गणित शिक्षक हुन् ।)

A Levels MA
Thuprai - Books and E-books