A Levels MA

बाल कक्षा देखि ५ कक्षा सम्म दिवा खाजाको व्यवस्थापन गर्दै गाउँपालिका

हल्दिवारी गाउँपालिका झापाले बाल कक्षा देखि ५ कक्षासम्म अध्यन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको छैटौं सभाले उक्त निर्णय सर्वसम्मत पारित गरेको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्ने उद्देश्यले चालु शैक्षिक सत्रबाटै प्रति विद्यार्थी २० रुपियाँका दरले गाउँपालिकाले विद्यालयलाई खाजाखर्च उपलब्ध गराउने गाउँपालिकाका उपाध्यक्ष डम्मरबहादुर गिरिले जानकारी दिए । गाउँपालिका भित्र तीनओटा मावि र १४ वटा आधारभूत विद्यालय रहेका छन् । ती विद्यालयमा अहिले दुईहजार बालबालिका बालकक्षा देखि कक्षा पाँचसम्म अध्ययन गरिरहेका छन् ।

गाउँ सभाले तीन महिना (बैशाख ,जेठ ,असार) को लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । विद्यार्थीलाई प्रत्येक दिन फरक ,फरक खाजा खुलाउने व्यवस्था गरेको उपाध्यक्ष गिरिले बताए । गाउँपालिकाले दुई वर्षभित्र आन्तरिक स्रोतबाट शिक्षामा ७ करोडभन्दा बढी खर्च गरेको उपाध्यक्ष गिरिले जानकारी दिए ।

गाउँपालिकाले यस अघिनै सबै सामुदायिक विद्यालयको माध्यम भाषा अङ्ग्रेजी बनाइसकेको छ । गाउँपालिकाका माध्यमिक र आधारभूत विद्यालयमा कम्प्युटर, अङ्ग्रेजी ,साइन्स ,योग खेल ( योग, कवडी, जुरोकराते, फुटबल) शिक्षकको व्यवस्था गरेको छ ।

घुम्ती खेल प्रशिक्षक र योग प्रशिक्षकलाई गाउँपालिकाले श्रम ऐनले व्यवस्था गरेको मासिक न्यूनतम सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी गाउँपालिकाले विद्यालयमा कार्यरत सहायक कार्यकर्ता तथा सहयोगी कर्मचारीलाई श्रम ऐनले तोकेको न्यूनतम सेवासुविधा प्रदान गर्दै आएको गाउँपालिकाले जानकारी दियो । गाउँपालिकाका अनुसार विद्यालयका कमर्चारीलाई नेपाल सरकारले प्रदान गरेको रकममा नपुग पारिश्रमिक गाउँपालिकाले प्रदान गर्दै आएको छ ।

सबै विद्यालय प्रविधिमैत्री

विद्यालय र वडा कार्यालयलाई सीसी क्यामराले जोडिने भएको छ । हरेक विद्यालयको अनुगमन गाउँपालिकाको कार्यालय एवम् वडा कार्यालयबाट सहजै अनुगमन गर्ने सकिने लक्ष्यका साथ गाउँपालिकाले विद्यालय र वडा तथा गाउँपालिकालाई सीसी क्यामराले जोड्ने भएको हो ।

कक्षा ११ र १२ मा निः शुल्क

गाउँपालिका भित्र कक्षा ११ र १२ लाई निशुल्क गर्ने उद्देश्यले गाउँपालिका भित्र सञ्चालित विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई प्रति विद्यार्थी मासिक पाँच सय रुपियाँका दरले गाउँपालिकाकै आन्तरिक स्रोतबाट रकम प्रदान गर्ने भएको छ ।

गाउँपालिका भित्र सञ्चालित हल्दीबारी मा.वि., जनजागृति मा.वि. र लक्ष्मी मा.वि.लाई गाउँपालिकाले प्रतिविद्यार्थी खर्च व्यवस्थापन गर्ने भएको हो । पठनपाठनका नाममा विद्यार्थीबाट शुल्क असुल गर्ने जुनसुकै सामुदायिक विद्यालयलाई गाउँपालिकाले कारवाही गर्ने भएको छ ।

प्राविधिक उत्पादन गर्दै गाउँपालिका

“जसको नीति, उसैको नेतृत्व” बमोजिम हुनेगरी दोस्रो गाउँसभा अधिवेशनद्धारा गाउँ शिक्षा नियमावली पारित गरी गाउँ शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति लगायतका सामुदायिक विद्यालय सुधारका विभिन्न व्यवस्थासहित गाउँपालिकाले २०७५ मा शिक्षा ऐन जारी गरिसकेको छ ।

सोही ऐनको जगमा रहेर शिक्षक प्रोत्साहन सम्बन्धी मापदण्ड, २०७५, छात्रवृत्ति कार्यविधि, २०७५, शिक्षा नियमावली, २०७५ जारी गर्‍यो ।

ऐनकै आधारमा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका अल्पसंख्यक, सीमान्तकृत र आर्थिक अवस्था कमजोर भएका जम्मा १० जना छात्रछात्रालाई वार्षिक रू .२२ लाखको लगानीमा माछा र पशु विधा तर्फको १८ महिने प्राविधिक कक्षा पढाइरहेको छ ।

हल्दीबारी माध्यमिक विद्यालयमा सुरु गरिएको बालीविज्ञान कक्षामा अध्यनरत विपन्न तथा लक्षित समूह भित्रका स्थानीय विद्यार्थीलाई गाउँपालिकाले छात्रावृत्तिको व्यवस्था गरेको छ ।

गाउँपालिकाको छात्रवृत्ति कार्यविधि अनुसार हल्दिबारी माध्यमिक विद्यालयमा अहिले ४० जना विद्यार्थीलाई निःशुल्क बालीविज्ञान विषयमा प्राविधिक शिक्षा प्रदान गरिरहेको उपाध्यक्ष गिरिले जानकारी दिए ।

गाउँपालिकाले आफ्नै खर्चमा सामुदायिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञानलगायत केही विषयमा अतिरिक्त कक्षाको व्यवस्थापन गर्दै आएको छ ।

गाउँपालिकाले एक वडा एक माविको अवधारणालाई अघि सारेको छ । गाउँपालिकाको हरेक विद्यालयमा कम्तीमा एक बस व्यवस्थापन गर्ने लक्ष्य रहेको उपाध्यक्ष गिरिले बताए । गिरिका अनुसार न्यून विद्यार्थी तथा पर्याप्त विषय शिक्षक नभएका विद्यालयलाई भौगोलिक अवस्था तथा जनसंख्याका आधारमा गाउँपालिकाले समायोजन गर्ने तयारी गरिरहेको छ ।

गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत गाउँपालिकालाई प्रदान गरिएको रकमले सामुदायिक विद्यालयको रंग रोगन गर्ने भएको छ ।

गाउँपालिकाले मेचे भाषाको संरक्षण गर्ने

गाउँपालिका भित्र अस्तित्वमा रहेको लोपोन्मुख मेचे भाषाको संरक्षणका लागि दीपेन्द्र प्राविमा एक घण्टी मेचे भाषाको कक्षा राखेको छ । मेचेहरूको बसोवास रहेको सो विद्यालयमा मेचे बालबालिकाहरूले दैनिक एक घण्टी मातृभाषामा पढ्न पाउने व्यवस्था गाउपालिकाले गरेको हो ।

वेसहाराको सहारा बन्दै गाउँपालिका

अभिभावक नभएका १६ वर्ष उमेर समूह भित्रका वेसहारा बालबालिकाको शैक्षिक क्रियाकलापमा सहयोग पुर्‍याउनका लागि वेसहाराको सहारा, हल्दीबारी गाउँपालिका नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस कार्यक्रम अन्तर्गत प्रत्येक वेसहारा बालबालिकालाई गाउँपालिकाले मासिक पाँच सय रुपियाँ सहयोग प्रदान गर्ने भएको छ ।

Thuprai - Books and E-books