उपप्राध्यापक माथि भएको सांघातिक आक्रमणबारे उपकुलपतिको ध्यानाकर्षण गरायो

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न प्राध्यापक सङ्गठनले आज उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटालाई ध्यानाकर्षण गराएका छन् ।

दोषीलाई कानूनको कठघरामा यथाशीघ्र ल्याउन, घाइतेलाई उपचार खर्च दिन र विश्वविद्यालयमा शान्तिपूर्ण शैक्षिक वातावरण कायम गर्न माग गर्दै उपकुलपति कार्यालय अगाडि केहीबेर विरोध कार्यक्रम गरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन प्राडा रमेशप्रसाद भट्टराई र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका कल्याणी मिश्रले सो ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका नरेन्द्र शिवाकोटीले उक्त मागमा उपकुलपति बाँस्कोटा गम्भीर देखिनुभएको र आजै कार्यकारीको बैठक राखेर उपचार खर्चको निर्णय गराइने अवगत गराएका थिए ।

गत मङ्गलबार त्रिवि परिसर कीर्तिपुरमै चलाउनेमाथि आक्रमण भएको थियो । प्राध्यापकले दोषी जो भए पनि कारबाही हुनुपर्ने र प्राज्ञिक मर्यादालाई कायम गर्नुपर्ने माग राखी धर्ना दिएका हुन् । घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसैबिच त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले उक्त घटना प्रति विश्वविद्यालय दुख व्यक्त गरेको छ । विश्वविद्यालयको काममा जाँदै गर्दा विश्वविद्यालयको हाताभित्रै एकजना प्राध्यापक माथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनएको प्रति  विश्वविद्यालय घोर भर्त्सना गर्ने एक विज्ञप्तिमा उल्लेख गरेको छ । यस्ता गैरकानुनी कार्यहरूमा संलग्नहरूलाई खोजी गरी हदैसम्मको कारवाही गर्न सम्बन्धित निकायलाई विश्वविद्यालयले आग्रह समेत गरेको छ ।

Thuprai - Books and E-books