एसईई सञ्चालनको अधिकार प्रदेशलाई

यसै वर्षबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई प्रदेशस्तरमा सञ्चालन गरिने भएको छ ।

मन्त्रिपरिषद्अन्तर्गतको सामाजिक समितिको आज बसेको बैठकले यसका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

गृहमन्त्रीको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, कानुनमन्त्री र महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको उपस्थिति थियो । 

शिक्षा मन्त्रालयका उच्च स्रोतले बैठकले एसईईलाई प्रदेशस्तरमा सञ्चालन गर्न सैद्धान्तिक सहमति प्रदान गरेको जानकारी दिँदै भने, “अब केन्द्रले परीक्षा सञ्चालन गर्नेछैन ।”

शिक्षासम्बन्धी कानुनका साथै राज्यको नीतिमै माध्यमिक तहअन्तर्गतको कक्षा १० को परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को परीक्षा केन्द्रीयस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि केन्द्रीयस्तरमै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्दै आएको छ ।

मन्त्रालय स्रोतका अनुसार प्रदेश शिक्षा निर्देशनालयले एसईई सञ्चालन गर्ने प्रस्तावलाई सामाजिक समितिले सैद्धान्तिक सहमति प्रदान गरेको छ । परीक्षा निर्देशनालयले सञ्चालन गरे पनि राष्ट्रिय परीक्षा बोर्डका नामबाट प्रमाणपत्र जारी हुनेछ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा परीक्षा बोर्ड रहनेछ । प्रदेश शिक्षा निर्देशकलाई परीक्षा नियन्त्रकको समेत जिम्मेवारी दिइने भएको छ ।

परीक्षा बोर्डमा शिक्षा निर्देशक सदस्यसचिवको भूमिकामा रहनेछन् भने अन्य सदस्यहरुमा प्रधानाध्यापकहरुबाट दुई जना, शिक्षाविद्हरुबाट दुई जना, महिला लगायत रहने प्रावधानलाई अगाडि सारिएको छ ।

मन्त्रालय स्रोतले भने, “सामाजिक समितिको यो निर्णयलाई मन्त्रिपरिषदबाट स्वीकृति प्रदान गर्नुपर्ने हुन्छ ।” अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यो विषयलाई पेश गरिने बुझिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सचिव खगराज बरालले आजकाे निर्णयका बारेमा माइनुट गर्न बाँकी रहेकाे बताए ।

परीक्षा कसले सञ्चालन गर्ने टुङ्गो नलागे पनि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले कक्षा ९ मा रजिष्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम खुला गरेको छ ।