CMAT

प्राथमिक तहमा आरक्षण कोटामा पूर्ति हुनसकेन

Bachelors Portal

प्राथमिक तहमा मागभन्दा ७५९ पदपूर्ति कम भएको पाइएको छ । जबकी माध्यमिक र निम्न माध्यमिक तहमा भने यस्तो प्रवृत्ति सकारात्मक उन्मुख भएको पाइएको छ । 

शिक्षक सेवा आयोगले गत वर्ष प्राथमिक तह शिक्षक पदका लागि लिएको परीक्षामा मागअनुसार पूर्ण सिफारिस भएनन् । आयोगले दिएको जानकारीअनुसार सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकोमा सात हजार १२३ जनाको मात्र सिफारिस भएको छ । सिफारिस नभएका सङ्ख्या प्रायः आरक्षण कोटाका रहेका छन् ।

आयोगका सूचना अधिकारी कृष्ण ढुङ्गानाले परीक्षार्थीको मिहिनेत कम हुँदा असफल भएको बताउँदै भने, “कतिपय लिखितमा उत्तीर्ण भए पनि बीचैमा अर्काे राम्रो अवसर पाएपछि अन्तर्वार्ता नदिएका पनि छन् । यसले गर्दा पनि साढे सात सय जति पदमा पूर्ति हुन सकेन ।”

प्राथमिक तहमा कोशी प्रदेशमा सबैभन्दा बढी पदपूर्ति हुन सकेन । कोशीमा एक हजार ७४५ पदका लागि विज्ञापन गरिएकोमा एक हजार ३७८ अर्थात् ३६७ जनाको पदपूर्ति भएन । त्यस्तै मधेसमा एक हजार १३७ विज्ञापन गरिएकोमा एक हजार ४७ अर्थात् ९० जनाको पदपूर्ति भएन ।

यसैगरी बागमतीमा १७० जनाको पदपूर्ति भएन । सो प्रदेशमा एक हजार ३८२ पदका लागि विज्ञापन गरिएकोमा एक हजार २१२ जनाको सिफारिस भयो । गण्डकीमा एक हजार ५३६ मध्ये एक हजार ४७७ जना सिफारिस भए । सो प्रदेशमा ५९ पद रिक्त भएको छ ।

त्यस्तै लुम्बिनीमा २९ रिक्त अर्थात ९८६ माग भएकोमा ९५७ सिफारिस भएको छ । कर्णालीमा ५८२ का लागि विज्ञापन गरिएकोमा ५५८ सिफारिस भएको छ । त्यहाँ २४ पद रिक्त भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ५१४ पदमा विज्ञापन भएकोमा ४९४ पदमा सिफारिस भएको छ । सो प्रदेशमा २० पदमा पूर्ति हुन सकेन ।

आयोगका सूचना अधिकारी ढुङ्गानाले दिएको जानकारीअनुसार प्राथमिक तहमा पाँचथरमा जनजाती कोटातर्फ ३५ माग गरिएकोमा १० जनामात्र सिफारिस भएका छन् । त्यस्तै सङ्खुवासभामा मधेसी कोटामा २८ पदमा विज्ञापन गरिए पनि दुई जनाको मात्र सिफारिस भएको छ । ओखलढुङ्गामा दलित कोटामा ११ पदमा विज्ञापन गरिए पनि कसैको सिफारिस भएन । 

कोशी प्रदेशमा दलित महिलामा १३ पदमा विज्ञापन गरिए पनि कसैको पनि सिफारिस हुन सकेन । मुस्किलम कोटामा १० जनाको विज्ञापन गरिए पनि शून्य सिफारिस भए । जनजाती कोटामा ३०४ पदमा विज्ञापन गरिए पनि ९८ जनाको मात्र सिफारिस हुनसक्यो । मधेसी कोटामा ३२० विज्ञापन गरिएकोमा ५२ जनामात्र सिफारिसमा परेका छन् । सोही प्रदेशमा दलित कोटाका लागि १५६ पदमा विज्ञापन गर्दा २१ जना मात्र सफल भएका छन् भने ८४ जनाको अपाङ्गता कोटामा ७ जनामात्र सिफारिस हुन सके । पिछडिएका ३१ सिटमध्ये चार जनाको सिफारिस भएको छ ।

मधेस प्रदेशमा मधेसी कोटामा १६७ पदमा विज्ञापन गरिएकोमा १४८ जनाको मात्र सिफारिस भएको छ । बागमती प्रदेशमा मधेसी कोटामा २८१ पदमा विज्ञापन गर्दा ४४ जनामात्र सिफारिसमा परेका छन् । दलित कोटामा ११५ विज्ञापन गर्दा ३६ पदमा सिफारिस भएको छ ।

लुम्बिनी प्रदेशमा मधेसी कोटामा १६८ पदमा विज्ञापन गर्दा ७२ जना सिफारिस भएका छन् । त्यहाँ जनजातीतर्फ १४० जनाको विज्ञापन गर्दा १०९ जना सिफारिस भएका छन् । कर्णालीमा मधेसी कोटामा ९० पदमा विज्ञापन गर्दा ११ जना सिफारिस भएका छन् । सुदूरपश्चिम प्रदेशमा मधेसी कोटामा ११७ पदमा विज्ञापन गर्दा ३१ जनाको सिफारिस भएको छ । जनजाती कोटामा १०२ माग हुँदा ७५ जना सिफारिसमा परेका छन् ।

निमावि र माविमा प्रवृत्ति फरक

प्राथमिक तहमा आरक्षण कोटामा पूर्ण रूपमा सिफारिस हुने अवस्था नरहे पनि निम्न माध्यमिक र माध्यमिक तहमा भने यस्तो समस्या खासै देखिएको छैन । आयोगका अनुसार गत वर्ष निम्न माध्यमिक तह तृतीय श्रेणीमा नेपाली विषयमा ९१ पद सङ्ख्यामा विज्ञापन भएकोमा त्यति नै सङ्ख्यामा सिफारिस भएको छ । त्यस्तै अङ्ग्रेजीमा १५३ मा १५३ नै सिफारिस भएको छ । गणित विषयमा १५८ मध्ये १५७ जना, विज्ञान विषयमा २९० मध्ये १८१ जना सिफारिस भएका छन् । सामाजिक अध्ययनका लागि १११ जनाको विज्ञापन हुँदा १११ जनाकै सिफारिस भएको छ । गणित र विज्ञानका लागि ३६५ विज्ञापन भएकोमा ३२० जनाको सिफारिस भएको छ । साधारण तथा संस्कृत धारतर्फ निम्न माध्यमिक तहमा एक हजार १७७ विज्ञापन गरिएकोमा एक हजार ११७ जनाको सिफारिस भएको थियो । सो तहमा ५० जना रिक्त हुन पुगेको छ ।

यसैगरी माध्यमिक तृतीय श्रेणीमा नेपाली विषयमा १२४ विज्ञापन गरिएकोमा १२४ जनाले सिफारिस भएका छन् । अङ्ग्रेजीमा ९४ जनाको ९४ जना र गणितमा २१३ जनाको २१३ जना नै सिफारिस भएका छन् । विज्ञानमा पनि १९३ जनाको १९३ जना नै, सामाजिकमा ५८ जनाको ५८ जना नै, अर्थशास्त्रमा आठ जनाको आठ जना नै, कार्यालय सञ्चालन तथा लेखामा १५ जनाको १५ जना नै, शिक्षामा एक जनाको एक जना नै, स्वास्थ्यमा एक जनाको एक जना नै, कम्प्युटर विज्ञानमा एक जनाको एक जना नै सिफारिस भएका छन् । साधारण तथा संस्कृतर्फ गरी माध्यमिक तहमा ७१८ जनाको विज्ञापन भएकोमा ७१८ जनाकै सिफारिस भएको छ ।

आयोगका सूचना अधिकारी कृष्ण ढुङ्गानाले गत वर्ष आरक्षण कोटामा सिफारिस हुन नसकेका पद सङ्ख्या खुलामा गाभिने जानकारी दिए । 

Thuprai - Books and E-books
I Tech store