मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रिया यथावत

मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयले सम्बन्धनको प्रक्रिया यथावत रहेको जनाएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विज्ञप्ति जारी गर्दै सम्बन्धन प्रक्रिया यथावत रहेको जनाएका छन् ।

वैशाख १८ गते विश्वविद्यालयका डिन सह प्राडा सुदिप ठकुरीको संयोजकत्वमा रहेको वार्ता समितिले सम्बन्धन सम्बन्धी सम्पूर्ण प्रक्रिया खारेज गर्ने निर्णय गरेको भनी भ्रामक सूचना फैलाइएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘वार्तामा बसिरहेको बेला एक जना विद्यार्थी नेता कालो मोसो दल्न तयार भएको र अर्को विद्यार्थी नेता भौतिक आक्रमण गर्न तयार भई धम्किपूर्ण तवरले वार्ता समितीका संयोजक र सदस्यहरुलाई जवरजस्ती गलत निर्णयहरुमा हस्ताक्षर गर्न लगाइएको हुँदा सामाजिक संजालमा फैलिएका उक्त भ्रामक सूचना सत्य नरहेको र सम्बन्धनको आवेदन प्रक्रिया यथावत रहेको सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।’ विज्ञप्त्मिा भनिएको छ, ‘साथै विश्वविद्यालयका डिन सह प्राडा सुदिप ठकुरीको संयोजकत्वमा गठित वार्ता समिति हाललाई उपकुलपतिद्वारा विघटन गरिएको जानकारी गराइन्छ ।’

आक्रमण बाहिर ल्याएमा नछाड्ने धम्की

उक्त बैठकमा विद्यार्थीले पदाधिकारी माथि गरेको भौतिक आक्रमण बाहिर ल्याएमा नछाड्ने धम्की पदाधिकारीलाई विद्यार्थीले दिएका छन् । विश्वविद्यालयले भौतिक आक्रमणमा उत्रिने व्यक्तिलाई कारबाहीको माग गरेको छ । ‘केहि विद्यार्थी नेताहरुद्वारा गरिएका भौतिक आक्रमण जस्ता गतिविधि र कुरा बाहिर ल्याएमा छाडिने छैन भन्ने धम्की आएकोले मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारी तथा वार्ता समितिका सदस्यहरूको सुरक्षा होस् भन्ने जोडदार माग गर्दछु र यस प्रकारको भौतिक आक्रमणको प्रयास गर्ने व्यक्ति माथि सम्बन्धित निकायबाट कानुनी कारवाही होस् भन्ने जोडदार माग गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ, ‘एक्काइसौं सताब्दीको सभ्य समाजमा यस खालको वर्वर धम्की विश्वविद्यालयका पदाधिकारी माथि कदापि स्वीकार्य गर्न सकिँदैन ।’

केही सञ्चार माध्यमले नेपाल विद्यार्थी संघका नेता रोशन बस्नेतलाई उधृत गर्दै विश्वविद्यालयको उच्च स्तरीय समस्या समाधान समितिसँग एक बुँदे सहमति गरी सम्बन्धन प्रक्रिया खारेजी गरेको समाचार हिजो पकाशन गरेका थिए । उक्त सहमतिमा विश्वविद्यालयले प्रकाशन गरेको सम्बन्धन सम्वन्धी सूचना र सम्पूर्ण प्रक्रिया खारेज गर्ने सहमति भएको दाबी गरिएको थियो।

विश्वविद्यालयले गत चैत २९ गते निजी, सहकारी र स्थानीय तहले सञ्चालन गरेका कलेजलाई सम्वन्धन दिन सक्ने गरी सूच्ना सार्वजनिक गरेको थियो । उक्त सूचनाको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनको नाममा वैशाख १० गतेदेखि विद्यार्थीहरू अनसनमा बसेका थिए। आन्दोलनरत पक्ष र वार्ता समितिविच हिजो वार्ता भएको थियो ।

Thuprai - Books and E-books