विदेश जाने होड उस्तै, गाउँका विद्यालयको पीडा जस्ताको त्यस्तै

ओठ वरिपरि दारी जुँगाको अलिअलि रेखी । दारी जुँगाले छाला फोर्न तयारी रहेको कलिलो अनुहार । केही धोद्रो बोली । आवाज फेरेको । फुस्स परेको अनुहार ओठमा हाँसो देखाउँदै उस्ले भन्यो, ‘मामु ! म पास भए ! मेरो आयल्समा ७.५ आयो नि ! जुन देशको नि भिसा लाग्छ रे, अब भिसाको प्रसेसमा जाने ।’

भर्खर कक्षा १२ पास गरेको काखको छोराले यसो भनेको सुन्दा मेरो मानसपटलमा एकाएक कालो बादल मडारियो । झ्यालबाट तल धेरै तलसम्म फाँटमा झुलेको धानका बाला हेरे ! छेउमा खनजोत गर्न नसकेर ङिच्च परेको बाँझो जमिन । मन रोयो । आँखा रसाए । उसले देख्ला भनेर अर्को पट्टि फर्किएर आँसु पुछे । उसको अनुहार हेरें । ऊ संसारै जितेको अनुभूतिमा प्रफल्लित देखियो । वाक्क भएँ । केही भनिन् ।

यो व्याथा मेरो मात्र कहाँ हो र ? गत साउन एक गतेदेखि असोज ३० गतेसम्म २७ हजार ७२७, आर्थिक वर्ष २०८० साउन एक गतेदेखि २०८१ असार ३१ गतेसम्म १ लाख १२ हजार ५९३ जना, आर्थिक वर्ष २०७९–८० मा एक लाख १० हजार १२७, आर्थिक वर्ष २०७८–७९ मा एक लाख २ हजार ५०४, आव २०७७–७८ मा २८ हजार ८२३, आव २०७६–७७ मा ३३ हजार १९६, आव २०७५–७६ मा ६४ हजार ४१७, आव २०७४–७५ मा ५८ हजार ७५८, आव २०७३–७४ मा ५० हजार ७९६, २०७२–७३ मा ३७ हजार १४८ र आव २०७१–७२ मा ३० हजार ७९७ जना एनओसी लिने प्रत्येक युवाका आमाको हो । उस्तै । एउटै ।

नहोस् पनि कसरी ? मुलुककै जेठो र धेरै प्राज्ञिक जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा केही हप्ता अघि मात्र आठ जना डिन र तीन जना कार्यकारी निर्देशक नियुक्त भए । भनिन्छ नियुक्तिमा कुलपति केपी शर्मा ओली र उपकुलपति केशरजंग बराल बिच तीन महिना लामो अन्तरद्वन्द्व चल्यो । अन्ततः सहमति भयो । प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्ने भन्दै कार्यविधि बनाएर छनोट तथा सिफारिस समितिमार्फत दरखास्त आह्वान गरेको भए पनि कथा उस्तै । व्याथा पुरानैले निरन्तरता पायो । उपकुलपति प्राडा केशरजंग बरालको सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेकालाई डिन नियुक्त गर्नुपर्ने अडानमा उभिए । रेक्टर खड्ग केसी लगायत कार्यकारीका सदस्यहरु सिफारिस परेका ३–३ जना मध्ये एक जनालाई नियुक्त गर्न सकिने पक्षमा गए । त्यही भयो । कुन दल भनेर प्रस्ट नखुलेका एकसहित काङ्ग्रेस निकट ३, एमाले–माओवादी निकट २–२ जना प्राध्यापक डिन नियुक्त भए ।

यो त प्रतिनिधि घटना मात्र हो । सबै ठाउँ र क्षेत्रमा यहीँ क्रम दोहोरिन्छ । पढेर पनि काम छैन । पाउनलाई दलकै झोला बोक्नु पर्ने रहेछ । केहीदिन पछि ऊ टोरेन्टेका लागि उड्यो । अनलाइनबाट कोठाभाडा तिरेर गएको उसलाई एक महिना पुग्दा नपुग्दै सडकमा सुत्नु पर्ने अवस्था आयो । दलालले आफूले लिएको पैसा सकिएपछि कोठाबाट निकालिदियो रे ! जेनतेन गरेर तीन हजार डलर पठाइ दिए । अर्को घरमा बस्यो । अनेक संघर्षपछि अहिले त्यहिँको एउटा क्याफेमा केक बनाउँछ रे ! घरमा बसुन्जेल आमालाई आफ्ना सबै लुगा धुन लगाउने ऊ आजभोलि खुब संघर्ष गरेर गुजारा चलाइरहेको छ । घर छेउको गौरी खेतमा खन्न जाऊँन बाबुभन्दा नमान्ने ऊ आजभोलि काम पाएको समयमा सुरुङ समेत खन्न जान्छु भन्छ ।

अहिले देशैभरका ग्रामीण बस्ती उजाडिएका छन् । उर्वर जमिन किर्ने काँडाले ढपक्कै ढाँकेको छ । घर आँगनमा कालोपत्रे सडक पुगेको छ । त्यसको कुनै अर्थ छैन । किनकि त्यो सडकले छोएको जमिनमा अहिले कृषि उपज हैन किर्ने काँडाको झाँडी छ । पाल्पाको माडी उपत्यका जस्ता तीन बाली उत्पादन हुने जमिन बाँझैछन् । बरिपरि विकासका नाममा पहाड फोरेर कालोपत्रे सडक विस्तार गरिएको छ । तर उर्वर जमिनमा उत्पादन हुने दलहन, तेलहन र वेमैसमी तरकारी खेतीका लागि तालिम दिने संस्था छैन । लगानी गर्ने दाता पनि । उपयुक्त भौगोलिक परिवेशको परीक्षण गरी कृषिमा जनतालाई निर्भर गराउने सरोकारवालको ध्यान छैन । छ त केवल आफ्ना र झोलेलाई टिकाउने र विकाउने । ती बस्तीमा पनि ठाउँठाउँमा विद्यालय अझै छन् ।

माडी उपत्यकाभन्दा केही पर माथागढी –७ रहवासमा सिद्धार्थ माध्यमिक विद्यालय छ । सो विद्यालयमा पहिलो पटक पुग्ने जो कोहीले पनि डेली मेलले केही वर्ष अघि सार्वजनिक गरेको चीनको दक्षिण–पश्चिमस्थित सिचुआन प्रान्तको झोउजु काउन्टीस्थित लिअर प्राथमिक विद्यालयमा पुग्नका लागि बालबालिकाले गरेको संघर्षको कथा सम्झन सक्छन् । सिद्धार्थ मावि पनि झन्नै उस्तै छ । फरक यति हो लिअरमा आउन केही अग्लो पहाड छिचोल्नुपर्छ भने सिद्धार्थमा आउन अहिले पनि खोप्यार्लुङ्गबाट बिहान झोलामा टर्च बोक्नुपर्छ । अग्लो भीरलाई पार गरेर तलको फाँटसम्म पुग्नै पर्छ ।

सो विद्यालय समुद्र सतहदेखि १३ सय मिटर उचाईमा छ । वरिपरि करिब १६ सय देखि दुई हजार मिटर उचाइको भीरले घेरेको छ ।

विद्यालयको दक्षिण तर्फबाट सडक सञ्जाल विस्तारका लागि ट्रयाक खोलिएको छ । ग्रयावेल गरिएको छ । गाउँपालिकाको कार्यालयबाट सो विद्यालयमा पुग्न प्राइभेट सवारी साधन प्रयोगर्दा पनि करिब दुईघण्टा लाग्छ । विद्यालय वरिपरिको वस्ती धेरै पातलो छ । पर–परबाट बालबालिका विद्यालमा आउने गर्छन् । उनीहरुका लागि हिड्ने उत्तर तर्फको बाटोमा भने अग्लो भीर छ ।

विद्यालय स्थानान्तरण वा व्यवस्थापनको सही पाटो अहिलेसम्म पनि सम्बन्धित पक्षले लिन सकेको छैन । २००८ सालमा स्थापना भएको सो विद्यालयमा अहिले कक्षा १२ सम्म पठनपाठन हुन्छ । विद्यालयमा अहिले दुईसयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा भने शिक्षा विषय पठनपाठन हुन्छ । सो विद्यालयले स्थानीय कच्चा पदार्थको प्रयोग गरी बालबालिकालाई रैथाने सिप अन्तर्गत (कुचो , डालो र डोको) बुन्न सक्षम बनाएको छ । कक्षा ९, १० र ११ का बालबालिका अहिले सजिले यी रैथाने सामग्री तयार गर्न सक्ने भएका छन् ।