७७ जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुग्यो एसईईको प्रश्नपत्र

Thuprai - Books and E-books

एसईई परीक्षा आउन अब केही दिन मात्रै बाँकी छ । आगामी ६ चैत्रदेखि परीक्षा सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको तयारी पूरा भएको  जनाएको छ । यसै सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)का परीक्षा नियन्त्रक रामराज खकुरेलसँग गरिएको कुराकानीको सारसंक्षेपः 

प्रवेशिका (एसईई) परीक्षाको तयारी कस्तो हुँदैछ ?

२०७६ सालको एसईई परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुँदैछ । यसको सम्पूर्ण तयारी सकिसकेको छ । प्रश्नपत्र छपाइ सकिएर ७७ वटै जिल्ला सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा पुगिसकेका छन् ।

एसईईका प्रश्नपत्र कसरी तयार गरिन्छ ?

नेपालमा एसएलसी १९९० सालदेखि एसएलसी परीक्षा सुरु भएको हो । शिक्षा ऐनको आठौँ संशोधनपछि यसलाई माध्यमिक शिक्षा परीक्षा (एसईई)का रूपमा लिन थालियो । एसईईलाई खासगरि अङ्कन पद्धति हुन्जेल उच्च शिक्षाको प्रवेशद्वार मानिथ्यो । अब त्यो अवस्था छैन । आइरन गेट होइन सुनौलो ढोका हो । यसले कक्षा ११ मा प्रवेशको ढोका खोल्ने छ । अहिले विद्यालय शिक्षाको संरचना परिवर्तन भएको छ । इसीडीदेखि कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा भनिएको छ । कक्षा १० को परीक्षा माध्यमिक तहको एउटा कक्षास्तरको परीक्षा मात्र हो । पहिला जस्तो यसलाई फलामे ढोका मान्नु पर्ने अवस्था होइन ।

जस्तो कक्षा १ को परीक्षा हो एसईई पनि त्यस्तै हो । अहिले कक्षा ८ को परीक्षा स्थानीय तहले सञ्चालन गर्नुपर्छ भने एसईईको परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को राष्ट्रियस्तरमा हुनुपर्ने भए पनि कानुनी तथा प्रक्रियागत कुरा मिलाउनु पर्ने भएकाले कक्षा १० को राष्ट्रियस्तरमा नै सञ्चालन गर्दै आइएको छ । अहिलेसम्म एसईईको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ । प्रश्न निर्माणका लागि रोष्टरमा भएका विज्ञले विभिन्न आइटममा प्रश्न तयार गर्नुहुन्छ ।

आइटमलाई एक ठाउँमा राखी फेरी अर्को विज्ञ समूहले सेट तयार गर्छन् । त्यही सेटलाई अन्तिमीकरण गरेर प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै प्रश्नपत्र निर्माण गर्छौँ । ती प्रश्न छपाइको कामसम्मका जिम्मेवारी परीक्षा नियन्त्रण कार्यलय राष्ट्रिय परीक्षा बोर्डले गर्दै आएको छ । एसईईका प्रश्नपत्र २०६७ सालदेखि नेपालमा नै छापिन थालेको हो ।

यो भन्दा अगाडि भारतमा प्रश्नपत्र छापिन्थ्यो । प्रश्न निर्माणको जिम्मा अनुभवी शिक्षकलाई दिने गरिएको छ । एउटा प्रश्न २५ देखि ३० जनाले बनाउँछन् र सोही प्रश्नलाई अन्तिमरूप दिने गरिएको छ । अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक हुन्छन् तर प्रश्नका स्तर एउटै हुन्छ । ऐच्छिक विषयका प्रश्न भने एउटै हुन्छ ।

एसईईमा बोर्डको भूमिका कस्तो हुन्छ ?

परीक्षा सञ्चालनमा बोर्डको दोहोरो भूमिका छ– एउटा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय र अर्को प्रदेश शिक्षा निर्देशनालयको छ । व्यवस्थापनको काम प्रदेशले नै गर्छ तर उत्तरपुस्तिका सङ्कलन र परीक्षण कार्य बोर्डले गर्दै आएको छ ।

एसईई परीक्षा सञ्चालनको जिम्मेवारी प्रदेशले कहिलेबाट पाउने हो ?

परीक्षा नियन्त्रण कार्यालय खारेज भइसक्यो । त्यसको भूमिका बोर्डले गर्दै आएको छ । देशको राज्य संरचना फेरिएको छ । केही कानुनी व्यवधान छन् । शिक्षा ऐन आएको छैन् । त्यसैले कसको भूमिका के र कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट हुन सकेको छैन । शिक्षा ऐन नआएको हुँदा जिम्मेवारीको बाँडफाँट हुन नसक्दा बोर्डले नै एसईई परीक्षा सञ्चालन गराउँदै आएको छ । ऐन आएपछि सम्भवतः यो जिम्मेवारी सम्बन्धित निकायमा अवश्य हस्तान्तरण हुनेछ ।

अक्षराङ्कन पद्धति के हो ?

विद्यार्थीको योग्यता, क्षमता, सीप र दक्षता अङ्कमा मापन गर्न बहुत कठिन हुने हुँदा र फरकफरक परीक्षकको फरक फरक मूल्याङ्कन हुने हुँदा विद्यार्थीको बुद्धि मापन गर्दा निश्चित मापदण्डको आधारमा मूल्याङ्कन गरी एउटा रेन्ज र तहमा विभिन्न अक्षरबाट सम्बोधन गरी विद्यार्थीबीच सापेक्षता कायम गर्ने ‘सापेक्षित ग्रेडिङ’ प्रणालीलाई नै अक्षराङ्कन पद्धति भनिन्छ । अङ्कमा आधारित प्रणाली विद्यार्थीको ज्ञान र दक्षतामा भन्दा जसरी भए पनि बढीभन्दा बढी अङ्क ल्याउनेतिर ध्यान केन्द्रित हुन्छ । तसर्थ अक्षरमा आधारित ग्रेडिङ प्रणाली बढी वैज्ञानिक, वस्तुगत, भरपर्दो र विश्वसनीय भएकाले नै यो प्रणाली विश्वभर प्रचलनमा आएको हो । यो प्रणालीले प्राज्ञिक उन्नयनको पक्षमा वकालत गर्ने, सिर्जनात्मकतामा अभिवृद्धि गर्ने र निरन्तर मूल्याङ्कन हुने हुँदा स्वभावतः शिक्षाको गुणस्तरमा पनि अभिवृद्धि हुन्छ ।

ग्रेडिङपछि सबै पास हुन थालेका हुन् ?

हिजो एसएलसीलाई हाउगुजीका रूपमा लिइन्थ्यो । अहिले त्यस्तो छैन । पहिले यो परीक्षा राष्ट्रियस्तरको थियो । अहिले पाँच लाख विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । ग्रेडिङले कुनै एक विषयमा कमजोर विद्यार्थीलाई सोही कक्षामा रोकेर राख्दैन । उसको रुचि नभएको विषयमा कमजोर र अरुमा राम्रो भएका विद्यार्थीलाई माथिल्लो कक्षा प्रवेशको ढोका खोलिदिन्छ । सबै ‘पास’ भइन्छ भन्ने भ्रममा नपरे हुन्छ । हामीले ग्रेडिङलाई नबुझेका हौँ । ग्रेडिङले विद्यार्थीलाई बिगार्दैन ।

विश्वका अधिकांश मुलुकमा ग्रेडिङ प्रणालीबाट मूल्याङ्कन हुन्छ । हामी ‘पास’ र ‘फेल’को इतिहास बोकेको हुनाले ग्रेडिङले स्तर खस्कायो मात्र भनिएको हो । अङ्कलाई ग्रेडिङमा ढालिएको हो । यसले अस्वथ्य प्रतिस्पर्धाको अन्त्य गर्छ । १०–१० अङ्कको अन्तरालमा एउटा ग्रेड प्रदान गर्नु भनेको अस्वस्थ्य प्रतिस्पर्धा नहोस् भनेर थालनी गरिएको हो ।

‘पास’ वा  ‘फेल’ भनेर नछुट्याए पनि सबैले सबै विषय पढ्न पाउने अवस्था छैन । तर क्षमताका आधारमा माथिल्लो कक्षा रोज्न पाउने बाटो खोलिदिएको छ ग्रेडिङले ।

ग्रेड र जीपीएमा के फरक छ ?

चार जीपीए ल्याउनु भनेको एक सयमा एक सय आउने भन्ने होइन ९० देखि माथि आउनेलाई एउटा ग्रेड प्वाइन्ट दिने हो । अभिभावक तथा शिक्षाविद्लाई पनि जीपीए एउटै हुँदैन भन्ने थाहा हुँदैन । जीपीए भन्न मिल्छ तर सबैमा ए प्लस आयो भन्न मिल्दैन । सबै विषयमा चार जीपीए ल्यायो भने उसले ए प्लस ल्याएको हो भन्न मिल्छ तर सबैमा ए प्लस ल्याउन सकेनन् भने ए प्लस भन्न मिल्दैन जीपीए मात्र भन्न मिल्छ । अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्यका लागि यो सिस्टम ल्याइएको हुनाले अङ्कभन्दा राम्रो हो । ग्रेडिङमा सर्वोत्कृष्ट (टपर) छुट्याउन सकिदैन । कुनै परीक्षार्थीले सबै विषयमा ४—४ ल्याएमा जीपीए उसको जीपीए चार नै हुन्छ । आठ वटै विषयमा ९०— ९० ल्याउनेको पनि जीपीए चार नै हुन्छ तर कुल अङ्क ७२० मात्र हुनसक्छ तर सात वटा विषयमा ९८, ९६, ९७ ,९८ र एउटामा ८९ मात्र आएमा कुल धेरै भए पनि जीपीए ३.९५ मात्र हुन्छ । ग्रेड प्वाइन्टको आधारमा मूल्याङ्न गरिन्छ । 

बोर्ड फस्टको परम्परा किन टुट्यो ?

अभिभावक तथा शिक्षाप्रेमीलाई पनि ग्रेडिङको स्पष्ट धारणा बुझाउन सकिएको छैन । त्यसैले यो टपर, वोर्ड फस्ट जस्ता भ्रममा परिरहेका हुन् । वोर्ड फस्टको व्यवस्था हुँदा तत्कालीन प्लस टुले विभिन्न नारा लगाउँदै विज्ञापन गर्दै हिड्थे विभिन्न छिद्र खोज्दै उनीहरु नजानिदो पारामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न पुग्थे । यही अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य गर्न यो परम्परालाई टुटाउँन नै ग्रेडिङ सिस्टम ल्याइइएको हो । सामानन्तर क्षमता भएका विद्यार्थीमा अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य गर्न अंकन पद्धतिको अन्त्य गरिएको हो ।

राम्रो नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई रिवार्डको व्यवस्था छ ?

राम्रो नतिजा ल्याउने विद्यालयलाई, राम्रो नम्बर ल्याउन सहयोग गर्ने शिक्षकलाई सरकारले बर्सेनि अवार्ड प्रदान गर्दै आएको छ । सामुदायिक र संस्थागत दुवै विद्यालयलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी सो अवार्ड प्रदान गरिँदै आएको छ । हरेक वर्ष शिक्षा दिवसका दिन सो अवार्ड प्रदान गरिँदै आएको छ । 

एसईई परीक्षा सञ्चालनको दायित्व कसको कति हुन्छ ?

परीक्षा सञ्चालनमा अभिभावक, शिक्षक, व्यवस्थापन समिति, स्थानीय सरकार, शिक्षा विकास तथा समन्वय एकाइ, प्रदेश निर्देशनालय र विभाग, बोर्ड र मन्त्रालयले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ । सबैको दायित्व समान छ । परीक्षामा अमर्यादीत कार्य गर्ने शिक्षक विद्यार्थीलाई कानुनी कारबाही गरिँदै आएको छ ।

अन्त्यमा केही सन्देश दिन चाहनुहुन्छ ?

सरकारले अर्को निर्णय नगरेसम्म तोकिएकै समयमा एसईई परीक्षा सञ्चालन हुन्छ । त्यसैले यो परीक्षामा विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । सम्पूर्ण परीक्षार्थीलाई आफ्नो क्षमताको सही प्रयोग गर्न आग्रह गर्दछु । सबैलाई नआत्तिकन, नडराइकन आफ्नो क्षमता प्रदर्शन गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।