CMAT

दुई दिन पनि टिक्न नसकेको पनिकाको अनलाइन सेवा

Bachelors Portal

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तामझामका साथ सुरु गरेको (११ प्रकारका सेवा) अनलाइन सिस्टम दुईदिन पनि टिक्न सकेन । त्रिविले माघ दुईगते नै पनिकाका ११ प्रकारका काम अनलाइनबाट गर्ने निर्णय गर्यो । माघ सात गते पुल्चोक क्याम्पसमा डेमो प्रदर्शन गर्यो । माघ १० गते अनलाइनबाट लिने सेवाका विधि सार्वजनिक गर्यो । १५ गते निमित्त उपकुलपतिलाई प्रमुख अतिथि बनाएर अनलाइन सेवा सुचारु भएको घोषणा गर्यो । घोषणा भएको ७२ घण्टा नबिदै कक्षा १२का विद्यार्थीले ह्याक गरेको वेबसाइट नै अहिले सुचारु हुन सकेको छैन । पनिकाले दुई वर्ष अगाडि नै अनलाइनबाट सेवा प्रवाह गर्ने निर्णय गरे पनि अझै कार्यान्वयन भने गर्न सकेको छैन ।  

विद्यार्थीले महिनौं लगाएर बल्खुमा आएर गर्नुपर्ने काम घरैबाट गर्न सकिने भन्दै गत माघ १५ गते सुरु गरेको अनलाइन सेवा दुईदिन नपुग्दै ह्याक भयो । ह्याक भएको एक हप्ता बिति सक्दा पनि पनिकाको अनलाइन पद्धति अहिलेसम्म सुचारु हुन सकेको छैन ।

पनिकाको सूचना तथा गतिविधि अनलाइन सिष्टमबाटै हेर्दै आएका सेवाग्राहीले अहिले अनलाइनबाट प्रमाणपत्र लिन त परैजाओस् पनिकाका सामान्य सूचना समेत हेर्न पाएका छैनन् ।

पनिकाले अनलाइन प्रणाली सुरु गरेपछि खुसी भएका विद्यार्थी लामो समयको सास्तीबाट छुटकारा पाउने आश गरेका विद्यार्थी पुनः निराश भएका छन् ।माघ १५ गते सुरु भएको अनलाइन पद्धति दुईदिन पछि ह्याक भएको भएपनि अहिलेसम्म खुल्न नसक्दा विद्यार्थी फेरी बल्खु धाउन बाध्य भएको गुनासो गर्न थालेका छन् ।

गत माघ १७ गते नै कक्षा १२ मा अध्ययनरत रोहित रोकायले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक गरिदिएपछि अहिलेसम्म त्रिविले अनलाइन सेवा सञ्चालन गर्न सकेको छैन । पनिकामा देशभरबाट ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिप र सच्चाउने लगायतका कामका लागि दैनिक दुई हजारभन्दा बढी विद्यार्थी आउने गरेका छन् ।

पनिकाका सूचना प्रविधि विभागले भने वेबसाइट ह्याक भएपनि महत्त्वपूर्ण डाटाहरू सुरक्षित भएको दाबी गरेको छ ।

वेबसाइट ह्याक भएपछि विश्वविद्यालयले छानबिन समिति गठन गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको सूचना विभागले जानकारी दियो ।

विद्यार्थीको गोप्य कागजात र महत्त्वपूर्ण डाटाहरू नै प्रभावित हुने गरी सिस्टम अवरुद्ध हुँदा समेत पनिका मौन छ । १७ गतेबाट अवरुद्ध पनिकाको वेबसाइट अहिलेसम्म मर्मत हुन सकेको छैन ।

त्रिविले विद्यार्थीलाई एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराउने भन्दै २०७५ जेठ १३ गते आइतवारदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको थियो । सन् २०२० सम्ममा अनलाइन प्रणालीलाई व्यवस्थित गराइने गरी तत्कालीन समयमा निर्णय गरिएको भए पनि उक्त निर्णय र्निणयमा नै सीमत भएको छ ।

Thuprai - Books and E-books
I Tech store