Bachelors Portal

त्रिविको बेरुजु बार्षिक बढ्दै

त्रिभुवन विश्वविद्यालयको बेरुजु २८ अरब ३२ करोड १६ लाख ३९ हजार रुपियाँ कायम रहेको छ । बेरुजु सम्परीक्षण नहुने र बेरुजु थप हुदैँ गएकोले बेरुजु रकम बढन गएको हो ।

त्रिविको चालु वर्षको बार्षिक बजेट भन्दा बेरुजुको आकार रु. २ अबर १ करोड ९ लाख ४ हजार बढी रहेको छ ।

महालेखापरीक्षकको कार्यालयले ऐन संशोधन गर्नुपर्ने भनी सम्परीक्षणको कार्य स्थगित गरेको कारण विगत तीन वर्षदेखि त्रिविको बेरुजु सम्परीक्षणबाट फछ्र्यौट हुन सकेको छैन ।

आर्थिक वर्ष  (आ.व.)  २०७८–७९, आ. व. २०७९–८०, र आ. व. २०८०–८१ मा पनि कुनै पनि बेरुजु सम्परीक्षणबाट फछ्र्यौट हुन नसकेको त्रिविले जनाएको छ ।

त्रिविको बेरुजु महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा २६ अरब ४९ करोड ५१ लाख १० हजार रुपिँया थियो । महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा २६ अरब ६८ करोड ३९ लाख ५१ हजार रुपिँया रहेको थियो ।

महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा ९३ करोड ७६ लाख ६९ हजार थप र ५ अरब ३४ करोड ८ लाख ३३ हजार सम्परीक्षण भई जम्मा २४ अरब २६ करोड ८७ लाख ८५ हजार बेरुजु रहेको थियो ।

५७ औं बार्षिक प्रतिवेदन अनुसार २८ अरब ६७ करोड १९ लाख ४९ हजार  रुपिँया थियो । बेरुजुको न्यूनीकरणका लागि त्रिविले नयाँ रणनीति अवलम्वन गरेको भने पनि बेरुजु भने न्यूनीकरण भने हुन सकेको छैन ।

त्रि. वि. कार्यकारी परिषद्बाट निर्णय भई हालसम्म करिब ६ अरब बेरुजु सम्परीक्षणका लागि महालेखापरीक्षकको कार्यालयमा पठाइएको छ ।

आ.व. ०७९–८० को लेखापरीक्षण गर्नुपर्ने इकाई जम्मा १८१ कायम गरिएकोमा परियोजनाहरुलाई समायोजन गरी र आर्थिक कारोबार नै बन्द खारेज भएका इकाईहरुको संख्यालाई घटाई आ. व. २०८०–८१ मा लेखापरीक्षण गर्नुपर्ने इकाइको संख्या १६२ कायम गरिएको त्रिविले जनाएको छ ।

आ. व. ०७९–८० सम्मको सम्पूर्ण इकाईको आन्तरिक लेखापरीक्षण सम्पन्न भईसकेको त्रिविको बार्षिक बजेटमा उल्लेख छ ।

निवृत्तिभरण र उपदानका लागि ५ अरब

आ.व.२०८१÷०८२ मा निवृत्तिभरण र उपदानका लागि जम्मा रू. .५ अरब २५ करोड लाग्ने त्रिविको अनुमान छ ।  उक्त शीर्षकमा गत वर्षको भन्दा भार बन्ने त्रिविले जनाएको छ । यो खर्च आ.व.०८०–०८१ मा उक्त शीर्षकहरूमा संशोधित अनुमानित रू.४ अरब ५० करोड रहेको छ ।

आ.व.०७९–०८० को यथार्थ खर्च २ अरब ९९ करोड १५ लाख ६७ हजार ६५८ रुपिँया र औषधी उपचार तथा सञ्चित बिदाका लागि रु.९४ करोड ८९ लाख ९३ हजार ६१० गरी जम्मा रु.३ अरब ९४ करोड ०५ लाख ६१ हजार २६८ रूपिँंया खर्च भएको  जनाएको छ ।

बार्षिक बजेट

आ.व. २०८१–०८२ मा स्वायत्ततामा गएका ८ वटा क्याम्पसहरू समेतको गरी रु.२६ अरब १६ करोड ८७ लाख ३५ हजार बजेट प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित रकममा नियमित कार्यक्रमतर्फ चालु तथा पूँजीगत खर्च गरी जम्मा रु. १३ अरब ७१ करोड ९७ लाख ८७ हजार प्रस्ताव गरेको छ । आन्तरिकतर्फ चालु तथा पूँजीगत खर्च गरी जम्मा रू.११ अरब ३९ करोड ८९ लाख ४८ हजार र विकास कार्यक्रममा रु. १ अरब ५ करोड रकम प्रस्ताव गरेको छ ।

आगामी वर्षका लागि नियमित कार्यक्रममा हुने कुल खर्च रु.१३ अरब ७१ करोड ९७ लाख ८७ हजार मध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट रू.१ अरब ५७ करोड ६१ लाख ७० हजार व्यहोर्ने र बाँकी रू.१२ अरब १४ करोड ३६ लाख १७ हजार विश्वविद्यालय अनुदान आयोग मार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने प्रस्ताव गरेको छ ।

सरकारबाट आ.व. २०८१–०८२ को चालु खर्चको लागि अनुदान रकम रू.११ अरब ३२ करोड ४३ लाख ४१ हजार छुट्याइएको छ ।

उक्त  अवस्थालाई हेर्दा चालु वर्षमा निर्यामत तर्फ रू ८१ करोड ९२ लाख ७६ हजार न्यून हुने देखिन्छ ।

यो रकम सरकारबाट प्राप्त हुन नसकेमा नियमित रूपमा संचालित प्राज्ञिक एवम् अनुसन्धानात्मक क्रियाकलापमा छुट्याईएको रकम कटौती गर्नु पर्ने त्रिविले जनाएको छ ।

यसबाट त्रि.वि.को प्राज्ञिक एवम् अनुसन्धानात्मक क्रियाकलापमा समस्या उत्पन्न हुने देखिन्छ  ।

जनशक्तिलाई प्रविधिमैत्री बनाउन तालिम, सेमिनार तथा गोष्ठीका लागि रू.१३ करोड ३६ लाख ७७ हजार विनियोजन गरेको छ । अनुसन्धान तथा विकासका लागि गत आर्थिक वर्ष क्याम्पस इकाई, डिन कार्यालय र केन्द्रीय स्तरबाट छुट्याईएको रकम रू. ४१ करोड ६१ लाख ८९ हजार रहेकोमा यो वर्ष रू.५१ करोड ७४ लाख ६० हजार छुट्याएको छ । कूल बजेटको १.९८ प्रतिशत रकम अनुसन्धानका लागि बजेट विनियोजन गरेको छ ।

Thuprai - Books and E-books