A Levels MA

अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थी बढे

 

विराटनगर महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएपछि विद्यार्थी संख्या बढेर गएका छन् । महानगरपालिका भित्रका सामुदायिक विद्यालयतर्फ आकर्षित भएका हुन् ।

योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएको प्रयास सार्थक हुँदै गएको महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताए । आदर्श र पोखरिया माविले अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन् ।

दुवैमा बर्सेनि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या अत्याधिक बढेर गएको छ । “महानगरले संरचना निर्माणका साथै गुरुकुल र मदरसामार्फत हुने पठनपाठनमा सुधार गरेको छ”, उनले भने ।

शैक्षिक लक्ष्य हासिल गर्न अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदा बिचैमा सामुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको हो ।

विराटनगरको आदर्श विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको पूर्वप्राचार्य विष्णुप्रसाद लामिछाने बताए ।आदर्शमा तल्लो कक्षामा मन्टेश्वरी तथा माथिल्लोमा कम्प्युटर प्राविधिकतर्फको अध्यापन हुँदै आएको छ । आदर्शमा हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत् छन् ।

पोखरियामा पनि विद्यार्थीको आकर्षण बढ्दो छ । विराटनगरको महेन्द्र माविले कम्प्युटर शिक्षामा जोड दिएको छ ।

अडियो भिजुअल कक्षामा जोड दिएपछि निजी विद्यालयकै हाराहारीमा गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधारको उपभोग गरी पठनपाठन गरिँदै आएको प्राचार्य चन्द्रप्रसाद साहले बताए ।

“कोरोनाले दुई वर्ष कठिनाइ भयो, पछिल्लो समय विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड्न चालिएको कदम सही सावित भएको छ”, उनले भने, ।

दिनेश मण्डल सरकारी विद्यालयमा कम्युटरसम्बन्धी शिक्षा लिन पाएकोमा मख्ख छन् ।

“पहिलादेखि आइटीसम्बन्धी पढ्न मन थियो । निजीमा महँगो शुल्कले भर्ना हुन सकिन”, उनले भने।

जनता मावि परिसरमा बहुप्राविधिक शिक्षालय सुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए ।

प्राविधिक शिक्षामा विपन्नको पहुँच पुगेको उजले बताए । “पाँच वर्षमा शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा सुधार गर्यौं’ शिक्षाको गुणस्तर सुधार्नसमेत पहल भयो, अब परिणाम देखिन थालेको छ”, उनले सुनाए ।

विद्यालयले समावेशी शिक्षामा जोड दिँदै प्रारम्भिक बाल विकासका लागि मन्टेश्वरी विधिबाट पठनपाठन गरिरहेको छ । खेल सामग्रीसहित बाल कक्षा सञ्चालन गरी खाजा कार्यक्रम सुरु गरिएको छ । यसले विद्यार्थीको आकर्षण बढेको पराजुलीको धारणा छ ।

महानगर प्रमुख पराजुलीले आफ्नो पारिश्रमिक हस्तान्तरण गरी दुई आधारभूत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरेका छन् । नगरका अन्य आधारभूत विद्यालयको उनले नियमित अनुगमन गर्दै आएका छन् ।

पोखरीया माविमा नयाँ भवन निर्माण हुँदैछ । अन्य विद्यालयमा महानगरले यातायातको साधन व्यवस्थापनमा सहयोग गर्दैआएको छ ।

सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय हाटखोलाका प्रधानाध्यापक चक्रप्रसाद पोखरेल महानगरको प्रयास सकारात्मक रहेको बताए ।

“शिक्षक र कर्मचारीको दरबन्दी मिलान तथा माग पूर्ति गर्न आवश्यक छ, खेल सामग्रीसमेत उपलब्ध गराउनुपर्छ”, उनले सुझाए ।

Thuprai - Books and E-books