सामुदायिक विद्यालय सुधारमा अभिभावकको सहयोगको खाँचो

देश विकासको प्रमुख पूर्वाधार शिक्षा हो अझ भन्नू पर्दा गुणस्तरीय शिक्षा हो । शिक्षाको नाममा थुप्रै लगानीमा खोलिएका सिमेन्ट र बालुवाका भवनले मात्र गुणस्तरीय शिक्षा दिन सक्दैन। खुल्ला चौरमै विद्यालय किन नहोस तर एउटा दृढ इच्छाशक्ति भएमा गुणस्तरीय शिक्षा प्रदान गर्न समय लाग्दैन।

चुनाबमा ठुला ठुला नाराबाट जितेर मन्त्रालयमा पुगेका हुन वा अफिसको क्यावीनमा बसेर गेटबाटै फर्कि निरीक्षण गरेर आए भन्नेहरुले दिएको फाइल विश्लेषण गर्नेहरु तर वास्तविक समस्या पहिचान विद्यार्थीसंग राम्ररी भिजेकाले मात्र गर्न सक्छ्न् यसमा दुई मत छैन।

थुप्रै सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ हुन सकेका छैनन। सामुदायिक विद्यालयमा पढाइ हुँदैन ,सामुदायिक विद्यालयमा पढाउनु हुँदैन भन्ने मानसिकताले गर्दा केही सुधार गर्न खोज्ने विद्यालयहरुमा पनि असर पुगेको तितो यथार्थ छ।

मन्त्रालयमा विद्यालय सुधारको लागि बनेका बजेटहरु नपुगेका पनि होइनन तर कति कति पुग्यो  सोधखोज हुनु जरुरी छ। सामुदायिक विद्यालय रोजाइ नभइ अन्तिम विकल्पको रुपमा हेरिनुका पछाडि थुप्रै जराहरु रहेका छन। मैले एक सामुदायिक विद्यालयमा गरेको शिक्षणको अनुभव र विद्यार्थीमा भिजेर गरेको विश्लेषणले गर्दा सामुदायिक विद्यालयका केही प्रमुख समस्याहरु खोतल्न सहयोग पुगेको छ।

प्रमुख समस्याहरु 

१. अभिभावकको चासो: सामुदायिक विद्यालयका प्राय अभिभावकहरुले विद्यार्थीलाई चासो दिएको पाइदैन। विद्यार्थीले के गरिरहेको छ, विद्यार्थीको पढाई कस्तो छ र विद्यालयमा कस्तो पढाइ भइरहेको छ ,यी कुराहरुमा अभिभावकहरु चासो नहुदा विद्यालय सुधारमा चुनौती भएको छ। गरिबीका कारण काम गर्न जानपु र्ने बाध्यता एउटा पाटो हुन सक्छ तर जस्को लागि मेहनत गरिएको हुन्छ उसैको लागि खासै समय नदिँदा विद्यार्थी कुलतमा लाग्ने र विद्यालयमा कम उपस्तिथि हुने गर्छ। त्यसैले सुधारको प्रमुख कुरा अभिभावकको चासो पनि सामुदायिक विद्यालय प्रति हुनु आवश्यक छ।

२. विद्यालयको आर्थिक सकट: थुप्रै सामुदायिक विद्यालयहरु आर्थिक स्रोत नहुँदा युग अनुसारको शिक्षा दिन चुकेका छन । कक्षा कोठामा मात्र गरिने शिक्षणका बाबजुत विद्यालयमा थुप्रै विद्यार्थीको रुचि हुँदा हुँदै पनि अतिरिक्त क्रियाकलाप गर्न सकेका छैनन् ।आर्थिक स्रोत नहुँदा पनि विद्यालयमा आवश्यक सुधार गर्न सकिएको छैन । सबै विद्यद्यालयमा विषयगत शिक्षक अझै पुग्न सकेका छैनन् । त्यसैले निजी स्रोतबाट शिक्षक व्यवस्स्थापनमा चुनौती र छ ।

३. फितलो निरीक्षण: केन्द्रबाट ,प्रदेशबाट वा स्थानीय तहनै होस विद्यालयमा हुनु पर्ने वास्तविक निरीक्षण नहुँदा पनि थुप्रै विद्यालय सुधार हुन सकेका छैन। विद्यार्थी ,शिक्षक र अभिभावक त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम भइ सुधार हुन नसक्नुको मुल जरा पत्ता लगाएर सुधार गर्न खोजे असम्भव केही हुँदैन तर देखावटी निरीक्षण र भत्ता पचाउने बाटोले गर्दा विद्यालयमा लापरबाही बढ्ने गर्ने गरेका छन।

 ४.  प्रविधिमैत्री शिक्षाको कमी: अहिलेको युग भनेको विज्ञान र प्रविधिको युग हो तर पनि थुप्रै सामुदायिक विद्यालयहरु अझ पनि चक र डस्टरमा मात्र सीमित छन्। सामुदायिक विद्यालयमा नयाँ नयाँ प्रविधिबाट पढाइ नहुदा पनि विद्यार्थीमा पढाइको रुचि आउने गरेको छैन। युग अनुसार चल्न नसक्दा सामुदायिक विद्यालय शिक्षाको गुणस्तर बढाउन सकिएको छैन।

५. समुदायको चासो:  थुप्रै सामुदायिक विद्यालयहरु समुदायको बिचमा भए पनि त्यसको व्यवस्थापनमा समुदायको चासो खासै पाइएको हुँदैन। समुदायका मानिसले हेर्ने दृस्ठिकोणनै फरक रहेको पाइएको छ। दैलोमा भएको सामुदायिक विद्यालय बेवास्ता गरी टाढा टाढा भएका निजीविद्यालय खोजेर आफ्ना छोराछोरीलाई पढाउन पठाएको थुप्रै उदारहण देख्ने गरिन्छ । सामुदायको भरोसा र रोजाइ बन्न सकेमा मात्र विद्यालय सुधार हुने देखिन्छ।

केहि प्रमुख समस्यालाई छोडेर सामुदायिक विद्यालयमा अरु थुप्रै समस्याहरु रहेका छन । शिक्षकमा इच्छाशक्तिको कमी, शैक्षिक माफियाहरु, विद्यालयमा कुशल नेतृत्वको कमी, विद्यार्थीको अनुपस्थिति, शिक्षण सिकाइ अभ्यासको केन्द्र, शिक्षक राजनीति, र शिक्षा पद्धति आदि रहेका छ ।

यी तमाम समस्यालाई जरै देखि उखल्न र साच्चै सामुदायिक विद्यालयलाइ अब्बल बनाउने जोश र जागर भित्री मनबाट आएमा असम्भव केही देखिँदैन। थुप्रै सामुदायिक विद्यालयहरु अब्बल बनी रोजाइको पहिलो केन्द्र बनेका उदाहरण पनि छन । अबिलम्ब थुप्रै समस्याहरु हल गरी गरिब ,असाय र निमुखा जनताले पनि एउटा गुणस्तरीय शिक्षाको अनुभूति गर्न पाउनु पर्छ र यो हरेक नेपालीको अधिकार पनि हो। त्यसैले निजी र सामुदायिक विद्यालयलाई स्वस्थ्य प्रतिस्पर्धामा लैजानु पर्छ । हरेक नेपालीले सामुदायिक विद्यालयलाई हेर्ने त्यो तल्लो स्तरको चस्मा बदल्नु पर्छ ।