नियमावली संशोधन लगायतका विषयमा शिक्षा मन्त्री र आयोग आज छलफल गर्दै

शिक्षक सेवा आयोग नियमावली संशोधन लगायत अन्य विषयमा शिक्षा, विज्ञान तथा प्रविधि ‍ मन्त्री देवेन्द्र पौडेलसंग छलफल गर्ने भएको छ । नियमावली संशोधनको ग्रीन सिंग्नल आउने बितिकै शिक्षक सेवा आयोग आन्तरिक र खुला विज्ञापन गर्ने अन्तिम तयारीमा पुगेको छ ।

एक वर्षसम्म पदाधिकारी विहीन भएको आयोग पदाधिकारी नियुक्त हुने बितिकै बार्षिक कार्यतालिका बनाउन जुटेको थियो । नियमावली संशोधन नहुँदा आयोगको बार्षिक कार्यतालिका नै प्रभावित भएको छ । मन्त्रालयले ग्रीन सिंग्नल दिने बितिकै आयोग शिक्षक छनोटका लागि खुला तथा आन्तरिक बढुवाको विज्ञापन गर्ने सम्पूर्ण तयारी गरेर बसेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

आयोगले ६ महिना अघि नै शिक्षक सेवा नियमावलीसमेत संशोधनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लगेको थियो । तर मन्त्री परिषद्ले अहिले सम्म नियमावली संशोधन गर्न सकेको छैन । मन्त्रालय ८८ दिन सम्म नेतृत्व विहीन हुँदा आयोगले शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा लगायतका काम अड्किएर रहेका छन् । आयोगले मन्त्तीसंगको आजको छलफलपछि सबै कुराको ग्रीन सिंग्नल मिल्ने विश्वास लिएको छ ।

आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार २२७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाएको थियो । यसपछि केन्द्रले आयोगलाई संस्कृत धारका केही विषयको शिक्षक दरबन्दी खाली भएको विवरण पठाएको आयोगले जानकारी दियो ।

केन्द्रले रिक्त शिक्षक दरबन्दी पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरिसकेको भएपनि आयोगले नियमावलीमा भएका केही प्रावधानका कारण शिक्षक छनोटका लागि विज्ञापन गर्न सकेको छैन । शिक्षक दरबन्दी मिलान सुझाव कार्यदलले सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अभाव रहेको, अंग्रेजी, विज्ञान र गणित विषयका विषयगत शिक्षकको चरम अभाव भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसयता आयोगले कुनै पनि तह वा विषयमा शिक्षक छनोट गर्न सकेको छैन ।

आयोगका प्रवक्ता मरहठ्ठाले रिक्त दरबन्दी पदपूर्तिका लागि विज्ञापन खुलाउने सबै तयारी सकेर मन्त्रालयको नियमावली संशोधनको ग्रीन सिंग्नलको पर्खाईम बसेको जानकारी दिए । आयोगका अनुसार माध्यमिक तहमा १ हजार ५४७, निम्न माध्यमिक तहमा २ हजार ५९५ र प्राथमिक तहमा १३ हजार ८५ स्थायी शिक्षक छनोट गर्नुपर्ने छ । यसका अलवा संस्कृत धारका केही विषयको शिक्षक छनोट गर्न आयोगले खुला शिक्षक छनोट गर्नुपर्ने दायित्व रहेको प्रवक्ता मरहठ्ठाले जानकारी दिए । केन्द्रले २०७८ चैत मसान्तसम्म अनिवार्य अवकाश हुनेसहित रिक्त हुने शिक्षकको दरबन्दी विवरण आयोगमा पठाएको हो । त्यसमा ३ हजार ३९१ शिक्षकको बढुवा प्रक्रियामा रहेको छ । सबैको संख्या जोडेर २० हजार भन्दा बढी शिक्षक छनोट गरेर मात्र आयोग लाइसेन्सको परीक्षा गर्ने तयारीमा जुटेको छ ।

खुला विज्ञापन पछि मात्र लाइसेन्सको परीक्षा लिने तयारीमा आयोग रहेको छ । ‘शिक्षामन्त्री नियुक्त भएपछि नियमावली संशोधनको कामले पनि प्राथमिकता पाउने आशा गरेका छौं,’ प्रवक्ता मरहठ्ठाले भने, ‘त्यसपछि आयोगको वार्षिक क्यालेन्डर, विज्ञापन एकै पटक सार्वजनिक गर्छौं ।’

लाइसेन्सको परीक्षा शिक्षक छनोटका लागि लिइएको परीक्षा भन्दा एक वर्ष पछि पनि लिइएको छर वार्षिक रुपमा सञ्चालन गर्नुपर्ने शिक्षक छनोटको परीक्षा लामो समय हुन नसकेको हुनाले आयोग पहिला खुला विज्ञापनको तयारीमा जुटेको हो । आर्थिक वर्ष ०७५–०७६ मा लाइसेन्स परीक्षा लिइएको प्रवक्ता मरहठ्ठाल जानकारी दिए । कतिपय विद्यार्थीले भने त्यसपछि पढाइ पूरा गरेर शिक्षक बन्ने तयारी गरेकाले पहिले लाइसेन्स परीक्षा सञ्चालन गरेर स्थायी नियुक्तिमा प्रतिस्पर्धा गर्न दिनुपर्ने बताएका छन् ।आयोगका अनुसार अहिलेसम्म विभिन्न तहमा ७ लाखभन्दा बढी विद्यार्थी लाइसेन्स लिइसकेको छन् । आर्थिक वर्ष २०७४–०७५ देखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन हुन नसकेको प्रवक्ता मरहठ्ठाले जानकारी दिए ।

Thuprai - Books and E-books