A Levels MA

पठन संस्कृतिमा जोड दिदैँ पुस्तकालय

पछिल्ला समयमा पठन संस्कृति कम हुँदै गएको हो कि भन्ने चासो र चिन्ताकाबीच नेपालमा आज १५ औं पुस्तकालय दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।

वर्षेनी पठन संस्कृति कम हुँदै गएको विषय प्रत्येक भदौ १५ गते मनाइने पुस्तकालय दिवसमा निरन्तर उठ्दै आएको छ । दिवसका अवसरमा गरिने छलफल एवम् अन्तरक्रियामा हराउँदै गएको पठन संस्कृतिलाई अन्त्य गर्दै पुस्तकालय जाने र पढ्ने बानीको विकासका लागि वातावरण तयार गरिनुपर्नेमा जोड दिने गरिएको छ ।

इतिहास अनुसार नेपालमा विसं १८६९ भदौ १५ गते आजकै दिन तत्कालीन राजा गीवार्णयुद्धविक्रम शाहले हनुमानढोकामा ‘पुस्तक चिताइ तहबिल’ स्थापना गरेका थिए ।उक्त समयमा पुस्तकालयको रेखदेखका लागि पं केदारनाथ झालाई जिम्मेवारी दिइएको थियो । पुस्तक चिताइ तहबिलका रुपमा पुस्तकालय सम्बन्धी पहिलो कानुन बनेको उक्त त्यही दिनको स्मरण गर्दै नेपालमा २०६५ सालदेखि औपचारिक रुपमा पुस्तकालय दिवस मनाउँदै आइएको नेपाल पुस्तकालय संघका पूर्व केन्द्रीय अध्यक्ष डा अशोक थापाले जानकारी दिए ।

सो पुस्तकालयमा राखिएका पुस्तकलाई विसं १९१० मा दरबार हाइस्कूलमा स्थानान्तरण गरिएको थियो । विसं १९५७ मा घण्टाघरमा स्थापित वीर पुस्तकालयमा दरबार हाइस्कूलका पुस्तक पुनः स्थानान्तरण गरिएको थियो । २०२४ सालमा वीर पुस्तकालयबाट त्यहाँका पुस्तक पुरातत्व विभाग अन्तर्गतको अभिलेखालयमा संरक्षण गरिएको छ ।

नेपालमा पुस्तकालयको औपचारिक स्थापना भएको दुई शताव्दी भन्दा बढी भैसकेको वर्तमान अवस्थामा थुप्रै पुस्तकालयहरू स्थापना भए पनि पठन संस्कृतिको अभावलाई चुनौतीका रुपमा हेरिएको यस क्षेत्रका अनुसन्धाता बताउँछन् । पुस्तकालयहरू विशेषतः तीन किसिमका सामुदायिक, शैक्षिक र निजी रहेको जनाउँदै पूर्व अध्यक्ष थापाले २०६८ को तथ्याङ्क अनुसार नेपालमा सामुदायिक पुस्तकालयको सङ्ख्या एक हजार भन्दा बढी रहेको जानकारी दिए  ।

समयको परिवर्तन अनुसार पनि पढ्ने संस्कृतिमा परिवर्तन आएको बताउँदै उनले पछिल्ला पुस्ता नविनतम प्रविधिमा आधारित पुस्तकालयप्रति आकर्षित बन्दै गएको बताए  ।

“समयको परिवर्तनसँगै अबका पुस्तकालयमा युवा पुस्ताको माग अनुसार पुस्तक तथा पाठ्य सामाग्री राखिनु जरुरी छ”, उहाँले भन्नुभयो, “सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै पाठ्यपुस्तकलाई डिजिटलाइज गर्नु पर्दछ ।” पुस्तकालयको भौतिक संरचना पनि बसौं बसौं पढौं पढौं लाग्ने किसिमको हुनुपर्नेमा उहाँले जोड दिए ।

पाठकलाई अधिकतम जोड्नेगरी पुस्तकालयको विकास गरिनुपर्दछ ।

सामुदायिक जागरणका लागि पुस्तकालय अपरिहार्य भएको ठहर गर्दै तत्कालीन समयमा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत केही बौद्धिक व्यक्तित्वहरूले प्रधानमन्त्री भीमशम्शेरका पालामा पुस्तकालय स्थापना गर्दा विसं १९८७ मा ‘लाइब्रेरी पर्व’ भएको थियो । जुन नेपाली इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

त्यस समयमा पुस्तकालय स्थापना गरेवापत तत्कालीन सरकारले उहाँहरूलाई जनही एक एक सय रुपैयाँ जरिवाना तिराइएको थियो ।

पछिल्ला वर्षमा विभिन्न स्थानमा सामुदायिक पुस्तकालयमा पूर्वाधार विकाससँगै समुदायमा नै पठनसंस्कृति बढाउने प्रयास गरिएको छ ।

तीनै सामुदायिक पुस्तकालय मध्येको पोखरा महानगरपालिका वडा नं १३ कुँडहरमा छ दशकअघि स्थापित अरण्यज्योति पुस्तकालय एउटा ज्वलन्त उदाहरण हो । विसं २००९ अर्थात् नेपालमा १०४ वर्षीय निरङ्कुश राणाशासन अन्त्यपछिको सङ्क्रमणकालीन समयमा स्थापित यस पुस्तकालयले आफ्नै गौरवमय इतिहास बोकेको पुस्तकालयका सञ्चालक समितिका पूर्व अध्यक्ष एवम् भद्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीले बताउनुभयो । पोखरा–१३ स्थित भद्रकाली मन्दिरबाट पूर्व र भद्रकाली माध्यमिक विद्यालयबाट दक्षिणतर्फ रहेको पुस्तकालय महानगरपालिकाद्वारा भोगाधिकारका लागि प्राप्त करिब पाँच रोपनी जग्गामा अवस्थित छ । विगतमा सामान्य एउटा कच्ची कोठाबाट सुरु भएको पुस्तकालय अहिले पक्की ढलानयुक्त भवनमा सञ्चालन भइरहेको छ ।

इतिहासको जगेर्नाका साथै समाज परिवर्तनको महत्वपूर्ण आधार सो पुस्तकालयलाई थप व्यवस्थित गर्दै कुँडहर र आसपासका क्षेत्रको शैक्षिक तथा सामाजिक पहिचानलाई कायमै राख्न पुस्तकालयमा पठन संस्कृतिमा समेत जोड दिइएको छ ।

पुस्तकालयमा अहिले करिब छ हजार पुस्तक, १८ वटा कम्प्युटर, एक वटा ल्यापटप, एक वटा प्रोजेक्टर, इन्टरनेट आदि सुविधा उपलब्ध गराइएको छ । पुस्तक पढ्ने बानीले व्यक्तिलाई तर्कशील बनाउनुका साथै समाजमा सकारात्मक सोचको अभिबृद्धि गराउन सकिने बताउँदै उहाँले आँफूहरूले पुस्तकालय मार्फत पठन संस्कृतिमा जोड दिएको धारणा राख्नुभयो ।

पोखराकै अर्को पोखरा सार्वजनिक पुस्तकालयले पनि विभिन्न कार्यक्रमका साथ पाठकलाई निरन्तर आकर्षित गर्ने गरेको पुस्तकालय व्यवस्थापन समितिका सहसचिव सूर्य क्षेत्रीले जानकारी दिनुभयो ।

दैनिक ७०÷७५ जनासम्मले अध्ययन गर्ने उक्त पुस्तकालयमा नियमित रुपमा विभिन्न पुस्तकबारे परिचर्चा, उद्यमीसँग उद्यमका कुरा जस्ता कार्यक्रम पनि गर्ने गरिएको उहाँले बताउनुभयो । “पुस्तकालयमा वातावरण दिवस, युवा दिवस, शिक्षा दिवस, बाल दिवस आदि पनि मनाउने गरिएको छ”, उहाँले भन्नुभयो, “विभिन्न कार्यक्रमका साथ हामीले पाठकहरूलाई पुस्तकालयसँग जोड्दै आएका छौं ।” पुस्तकालयमा हाल विभिन्न विषयका ११ हजार ५०० पुस्तक छन् ।

 

Thuprai - Books and E-books