अनुशासनले ल्याएका विकृति

अनुशासन

मानव जातिको सर्वोत्तम गुण मानिने अनुशासन, शासन शब्दमा अनु उपसर्ग लागेर बनेको छ । जसको अर्थ निश्चित नीति नियमको पालना गर्नु, सामाजिक मानमर्यादा भित्र रहनु अथवा शासन भित्र, एउटा घेरा भित्र वा पिंजडा भित्र थुनिएर रहनु जस्तै हो ।

अनुशासनले हरेक व्यक्ति, परिवार, राष्ट्र र सम्पूर्ण विश्व व्रह्माण्डलाई नै शिष्ट सभ्य सुस्कृत नियमबद्ध बनाउने विश्वास गरिन्छ । यदि कुनै व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व र सम्पूर्ण सजीव, निर्जीव समेत आ-आफ्ना नीति नियममा रहन सकेनन वा अनुशासनहिन भएमा उनीहरूमा उदण्ड बन्दछन । अराजक र विकृति तिर लाग्दछन । यस्तो अवस्थामा उनीहरू भविष्यमा गएर पछुताउनु पर्छ पनि भनिएको छ ।

अनुशासन आवश्यक छ ?

अनुशासन सबैलाई आवश्यक हुन्छ । प्रकृतिले समेत एउटा निश्चित अनुशासन पालन गरेको हुन्छ । ब्रह्माण्डका सबै तारामण्डल, सौर्यमण्डल आ- आफ्नो नियम पालना गर्दछन । त्यस्तै प्रकृति, हावा, वादल, ताप, मौसम, पहाड, हिमाल, फाँट, नदिनाला, अग्नि लगायत सम्पूर्ण सजीव, निर्जीवहरू आ- आफ्ने गुण कर्म अनुसार अनुशासनमा छन भने हामी सम्पूर्ण मानव जगत हुदा खाने देखी हुने खाने सम्मका धनाढ्यहरू, निम्न तहदेखी उच्च तह सम्मका सबै क्षेत्र, समाज, धर्म, संस्कृति, राजनीति, उधोगी, व्यावसायी, सेना, प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थीहरूका लागी त हामी मानव भएका कारण अझ बढी अनुशासनको खाँचो छ भन्ने कुरा हाम्रा समाज, पुर्खा, धर्मशास्त्र र नीतिशास्त्रहरूले बताउँछन ।

त्यस्तै घरपरिवार, घरपरिवार, घरछिमेक, समाज लगायत सम्पूर्ण विश्व नै हाम्रो दाजुभाई हुन "बशुधैव कुटुम्बकुम" भन्ने मान्यता, आदर्श, विश्वास र संस्कृति रहिआएको छ । यसले आफू भन्दा ठुला विद्वान मानिसहरूलाई आदर सत्कार माया गर्नुपर्छ । आफू समानलाई प्रेम गर्नुपर्छ र आफू भन्दा सानालाई स्नेह गर्नुपर्छ ।

यी र यस्तै थुप्रै मूल्यमान्यता आदर्शहरू हाम्रो समाज, पुर्खाहरू, धर्मशास्त्र र नितिशास्त्रहरूले बताएका छन । यिनीहरूलाई हामी उच्च सम्मान र संरक्षण गर्नुपर्छ । तर अनुशासनका यी सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, नीति नियम, मूल्यमान्यता र आदर्शहरूलाई सम्मान गर्नुपर्छ, संरक्षण गर्नुपर्छ भनेर हाम्रा नीतिशास्त्रहरूले हामीलाई घोकाउने, रटाउने गरेर जबरजस्ती बन्धनमा राख्न खोजिएको त छैन ? हामी स्वतन्त्र र सृजनशील हुनबाट रोकिएको त होइन ? यसलाई गम्भीरतापूर्वक सोच्न, विचार गर्न, अध्ययन, अनुसन्धान, चिन्तन, मनन, छलफल वहस गर्नुपर्ने त होइन ? यदि यसलाई सच्चाउन परे हामीहरू स्वंयम सच्चिन परे या संरक्षण गर्नुपर्ने भए बेलैमा सहि बाटोमा हिड्नु हिडाउनु आजको आवश्यकता हो ।

के विद्यार्थीहरू मौन भएर कक्षामा रहनु, कक्षा कोठाका वस्तु नचालाउनु मात्रै अनुशासन हो र ? उनीहरूले नजानेका कुरा, जिज्ञासा लागेका कुरा, नवीन कुरा, शिक्षकले पढाउदा गल्ति गरेका कुरा बोल्न मिल्दैन र ? कक्षा कोठा र विद्यालयमा रहेका वस्तुहरू अवलोकन गर्न, चलाउन, हेर्न त्यसबाट नयाँ कुराहरू सिक्न मिल्दैन र ? के विद्यार्थीहरूले मोवाइलमा Search गरेर विभिन्न कुराहरू सिक्न, मोवाइल स्कुलमा लिएर जान हुँदैन र ? मोवाइल खोसेर राख्न पर्छ र ? के यो अनुशासन भंग भयो ? के घरका साना केटाकेटीहरूले सामाजिक संजाल, Google, Youtube आदिबाट सिकेका कुराहरू, स्कुलमा सिकेका कुराहरू आफ्ना दाजुदिदी, बाबाआमालाई सिकाउन अह्राउन मिल्दैन र ? के यसो गर्दा केटाकेटी जान्ने, बाठाटाठा हुने उत्ताउला हुन्छन र ? के नेतागणले गल्ति बोलेका कुरा समाजमा देखिएका समस्या खण्डन गर्न सच्चाउन, सामाजिक सञ्जालहरूमा, सञ्चारमाध्यमहरूबाट बोल्न, लेख्न हुँदैन र ? के आचार संहिता बनाएर उनीहरूलाई रोक्न जेल राख्नु पर्ने हो र ? वाकस्वतन्त्रता, प्रेस स्वतन्त्रता, लोकतन्त्रको उपहास भएन र ?

के यो गहना हो ?

हामीहरूले सुन्दै आएको कुरा जसरी सुन्दर युवायुवतीहरूलाई आकर्षक पहिरहनका साथमा विभिन्न गरगहनाले उसलाई अझ सुन्दर आकर्षक र शोभयमान बनाउँछ । त्यसैरी नै विभिन्न प्रतिभा, दक्षता र विद्वता भएका गुणावन मानिसलाई पनि उनीहरूमा रहने अनुशासनले उनीहरूलाई अझ मर्यादित र उच्च बनाउँछ ।

त्यसैले अनुशासन सम्पूर्ण मानव जातिका लागि एउटा बहुमुल्य गहनार मानिन्छ । तर गहना बाहिरी प्रदर्शनका लागी रमाइलो मेला, पर्वहरूमा, विभिन्न जमघटहरूमा मात्र पहिरिने वस्तु हुन । घरमा आएपछि यसलाई फुकालेर जतनका साथ दराजमा वा बाकसमा राखिन्छ । लगाइरहन आवश्यक छैन । तर अनुशासन हिड्दा, बस्दा, सुत्दा, खाँदा, जहाँ जतिवेला पनि जुनसुकै अवस्थामा जुनसुकै व्यक्तिले अपनाउनु पर्दछ । यदि यसलाई गहना झै फुकालेर राख्यो वा अनुशासनलाई हटाई दियो भने त उ मानिस त हुँदैन नै । पशुहरू मध्ये पनि घृणित पशु सरह बन्छ । त्यसैले अनुशासन गहना नभएर मानिसहरूको लागि अति महत्वपूर्ण अंग हो । जुन अंगको अभावमा जीवन अधुरो रहन्छ । अनुशासन विना मनुष्यको जीवन सम्भव छैन । तर अनुशासन जवरजस्ती लादिएको आदर्शका कुराहरूले भरिएको हुनु हुन्न ।

अनुशासनको पालना

धेरै जसो देशहरूले आफ्नो देशका नागरिकहरूलाई अनुशासित राख्न संविधान बनाएका हुन्छन । विभिन्न संघ संस्था समूहलाई अनुशासित राख्न ऐन, कानुन, नियम, नियमावली, आचारसंहिताहरू बनाइएका हुन्छन । हरेक विद्यालयका कार्याहलयहरू र विभिन्न सरकारी कार्यलयहरूका कार्यालय प्रमुखको कोठाका भित्ताहरूमा आचारसंहिता झुन्डिएका हुन्छन । त्यस्तै विद्यालयहरूका कक्षाकोठाका भित्ताहरूमा समेत विद्यार्थीहरूका आचारसंहिता झुन्डिएका हुन्छन । सरकारी कार्यालयहरूका भित्ताहरूमा नागरिक वडापत्रहरू टाँगिएका हुन्छन । घरमा साना केटा-केटीहरू, महिलाहरू ठुलाबडाका अगाडि धेरै बोल्न हुँदैन यदी बोले भने उनीहरू उत्ताउलो ठहरिन्छन । महिलाहरू धेरै बोल्दा पोथी बासेको राम्रो हुँदैन भनेर चुप बनाइन्छ । सम्माननीय, माननीय, महोदय र श्रीमान जस्ता आदरार्थी शब्दहरूको प्रयोग गर्नुपर्ने बाध्यताहरू छन ।

अनुशासनले ल्याएका विकृतिहरू

कुनै मानिसलाई यो वा त्यो गर भनेर एउटा निश्चित सीमा भित्र, एउटा घेरा भित्र राख्ने संविधान, ऐन, कानुन, नियम, नियमावली, आचारसंहिता भित्र राख्नु उनीहरूलाई डर, धम्की देखाएर त्रासदिपूर्ण वातावरणमा राख्ने काम क्षणिक हुन्छ । अराजक तरिकाले जबरजस्ती कसैलाई नियम मान्न बाध्य बनाउँदा बलपूर्वक उसलाई दमन गरेर छेकेर, थुनेर राख्दा कुनै दिन यो विस्फोट हुन सक्छ । यसले झन भंयकर रुप लिएर मानिस झन विकृति, विसंगती तर्फ लाग्न सक्छ ।

जवरजस्ती लादिएको अनुशासनका नियम आदर्शका कुराहरूले मानिसको जीवनको सहजता खोसिन्छ उसमा रहेको आनन्द लुटिन्छ । अनुशासन एउटा बन्धन हो । मानिसहरू बन्धनमा बाधिन, झुन्डिन चाहदैनन । यसबाट मुक्त हुनका लागि उसमा कटुता र कठोरताको भावना उत्पन्न भई विरोध गर्न थाल्छन अर्थात विरोधी बन्छन । निरंकुश एक दलीय शासन व्यवस्थामा कडा अनुशासन भएको हुनाले कटुता र कठोरताको भावना उत्पन्न भई उनीहरूले यस्तो शासन व्यवस्थाको विरुद्मा आन्दोलन गरी सहिद बनेका इतिहास संसारका विभिन्न देशहरूका घटनाहरूबाट सुन्न पाइन्छ । कडा अनुशासनमा बाधिएकाहरूमा स्वच्छन्दता उत्पन्न हुन्छ । यसले विध्वसात्मक गतिविधि उत्पन्न गराउँछ । अनुशासित व्यक्तिहरू आज्ञापालन गर्न मात्र तयार हुन्छन । यसैमा रुची देखाउछन । उनीहरूलाई आज्ञ दिए अस्त्र बम बारुद पनि चलाउँछन । तर किन चलाउने उनीहरू यसमा सरोकार सक्दैनन । उनीहरू एउटा यन्त्र उपकरण वा मेसिन जस्ता हुन्छन ।

आत्मअनुशासन

कुनै पनि व्यक्तिले कुनै पनि क्षेत्रमा स्वतन्त्र तरिकाले स्वस्फुर्त रुपमा उसका भित्री भावनाबाट सोच्न लगाई आफ्नो स्वविकेकको प्रयोग गरेर गरिने कार्यहरूलाई आत्म अनुशासन भनिन्छ । आफ्नो आत्मा वा मनलाई अनुशासनमा राख्नु आत्म अनुशासन भनिन्छ । कसैले लादिएको अनुशासन भन्दा आफैले स्वविवेकले प्रयोग गरेर गम्भीरतापूर्वक गरिएको कार्य नै आत्मअनुशासन हो ।

घरपरिवार, छरछिमेक, समाज, राष्ट्र वा विश्वभरि नै जुनसुकै क्षेत्रमा जुनसुकै काम गर्दा जवरजस्ति लादिएको नियम, कानुन, अनुशासन भन्दा हरेक मानिसका भित्री भावनाबाट के गर्न हुन्छ ? के गर्न हुँदैन ? किन हुँदैन ? यदि आफुमा पनि त्यही किसिमको व्यवहार भयो भने के हुन्छ ? जस्ता थुप्रै प्रश्नहरूका बारेमा स्वंयमलाई नै गम्भीरतापूर्वकता सोच्न लगाई स्वतन्त्र तरिकाले काम गर्न दिइयो भने कुनै पनि देशमा कुनै किसिमको संविधान संघ संस्थाहरूलाई ऐन, कानुन, आचारसंहिता चाहिँदैन । किनभने हरेक मानिस विवेकशील रहन्छन र विवेक पुर्याएर काम गर्दछन ।

कुनै पनि काम गर्न हुन्छ वा हुन्न भन्ने कुरा उसैलाई स्वंयमलाई विवेकपूर्ण तरिकाले सोच्न लगाइ उसले स्वस्फुर्त रुपमा उसका भित्रि भावना बाट नै सोच्न लगाई कार्य गराउन सकियो भने आत्म अनुशासनमा रहन सकेमात्र कार्य सफल रहन्छ ।

हरेकले स्वतन्त्र भइ स्वविवेकले प्रयोग गर्नु पर्दछ । यसले कसैबाट दवाव वा दमन हुन दिँदैन । उ एउटा निश्चल निर्मल फूल जस्तै सहज हुन्छ । सरल बन्छ । स्वतन्त्रताले मानिसमा सृजनात्मकता वृद्धि गर्छ । नागरिकहरू स्वतन्त्र रहेका देशहरूमा उनीहरू सृजनशील बन्छन । नयाँ वस्तुहरूको आविष्कार गर्छन । त्यसैले हरेक मानिसहरूलाई स्वतन्त्र ढंगले चल्न पाउने आफ्नै विवेकबाट परिचालित हुनुपर्दछ । शिक्षा ‌औपचारिक वा अनौपचारिक जुनसुकै प्रकारको होस अनुशासित बनाउनका लागि होइन विवेनशील बनाउनका लागि हुनुपर्दछ र विकृतिहरू आउन दिनु हुँदैन ।