A Levels MA

त्रिवि सेवा आयोगको मनोमानी, केही दिन अघि योग्य पछि अयोग्य

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पछिल्लो शिक्षक तथा कर्मचारी छनोटमा पनि मनोमानी गरेको तथ्य बाहिरिएको छ ।

शिक्षक, कर्मचारी र बढुवामा विगतदेखि नै घोटाला गर्दै आएको त्रिवि सेवा आयोगले यस पटकको प्राध्यापक तथा सहप्राध्यापक बढुवामा पनि व्यापक अनियमितता  गरेको तथ्य फेला परेको हो ।

सेवा आयोगबाट विज्ञापन भएका प्राय सबै विषयका उम्मेदवारहरुले बढुवा हुनका लागि एउटै विधाका एउटै विषयका एकै पाठहरुलाई ३-४ वटा लेख, पुस्तक, अनुसन्धानकृति वा प्रतिवेदनहरु बनाइ पेस गरिएका सामग्रीहरुलाई पनि सेवा आयोगले प्रकाशित गरेको नियमानुसार कुनै छनविन नै नगरी मूल्याङ्कन गरेको पाइएको छ । 

 ग्रामीण विकास विषयमा पेस गरिएका गेस पेपरहरुलाई मूल्याङ्कन गरी अंक प्रदान गरिएको र वास्तविक कृतिहरुलाई मूल्याङ्कन नै नगरी अंक समेत नदिएको  पीडित सहप्राध्यपकहरुको गुनासो छ ।

कतिपय विषयमा गैह्र अनुसन्धानात्मक क्षेत्रबाट गराइएका लघुअनुसन्धान नामका कृतिहरुको मूल्यांकन गरी अंक दिई नियतबस उम्मेदवारहरु सफल बनाई नतिजा प्रकाशित गरिएको, साथै आफ्ना मान्छेहरुका लागि भाषा साहित्यको गैह्र अनुसन्धानिक संस्थाहरुबाट गराएको लघुअनुसन्धानहरुको मूल्याङ्कन गरी अंक समेत प्रदान गरी योग्य उम्मेदवारहरुको योग्य कृतिहरुलाई पाखा लगाइएको र  प्राध्यापक हुनबाट बन्चित गरिएको भन्दै नेपाली विषयका सहप्राध्यापकहरुले उक्त सिफारिसको विरोध गरेका  छन्।

सेवा आयोगले पियर रिभ्यु जर्नलको आइएसएसएन नम्बर नै नभएका साधारण पत्रिकाहरुलाई पनि पियर रिभ्यु जर्नलको मान्यता दिई गैह्रकानुनी रुपमा योग्यलाई पाखा लगाई आफ्नालाई नियुक्तिका लागि सिफारिस गरेको उम्मेदवारहरुले आरोप लगाएका छन् ।

बढुवाका लागि उम्मेद्वार भएका प्राध्यापकहरुले स्वास्थ्य शारिरीक विषयको प्राध्यापक पदका उम्मेद्वारलाई नाटकीय रुपमा कार्तिक १५ गतेको नतिजामा ७६.८२ प्राप्ताङक सहित सिफारिस गरेको तर त्यसको करिब २० दिनपछि मंसिर ६ गते अर्कौको नाम ७३.४० नम्बर सहित षडयन्त्र पूर्ण ढंगले प्रकाशित गरेको दाबी गरेका छन् ।

सेवा आयोगले गैह्र कानुनी ढंगले विनियम विपरीत प्राध्यापक तहको स्वास्थ्य शिक्षा विषयमा, विषयगत शोध निर्देशनका लागि अंक नदिई अरु नै विषयको पेस गरिएको शोध निर्देशनलाई अंक दिई सेवा आयोगले उम्मेदवार सफल बनाई प्रकाशित गरेको छ ।

नेपाली विषयको अन्तर्राष्ट्रिय जर्नललाई विज्ञापनमा माग गरेको अन्तर्राष्ट्रिय जर्नलका रुपमा प्रकाशित लेखहरुलाई मूल्याङ्कन समेत नगरेको पाइएको छ ।

त्रिवि शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियमको परिच्छेद ७ को विनियम १३ को १ र सोको थप व्याख्या समेत सेवा आयोग आफैले व्याख्या गरी मनोमानी ढंगले गरी लागु गरेको पाइएको छ । सोही विनियमको परिच्छेद १३ को ४ को निर्देशित अंशको व्याख्याले सेवा आयोगले गरेको थप व्याख्या समेतलाई विनियम ४ को उक्त निर्देशित व्याख्याले स्वत निस्क्रिय गरेको छ । सो नियमावलीअनुसार अन्तर्राष्ट्रिय जर्नल भन्नाले विनियम १३ को ४ को (क) र (ढ) को व्याख्या मात्रै लागु हुने देखिन्छ । यस्तो अवस्थामा गरेको नेपाली विषयको विषयगत अन्तर्राष्ट्रिय जर्नलको मूल्याङ्कन त्रिवि आफैले बनाएको कानुन सम्मत ढंगले नगरी मनोमानी गरेको हो ।

एकै खालका लेख, पाठ्यपुस्तकका विषय, अनुसन्धान कृतिभित्रको पाठहरु तथा कथित लघुअनुसन्धान भनी एउटै विषयका छुट्टाछुट्टै कृति भनी पेस गरिएका फरक फरक अंक भएका शीर्षकलाई एउटै विषय भए पनि छुट्टाछुट्टै अंक प्रदान गरिएको त्रिवि सेवा आयोगका एक अधिकारीले बताए । ‘विरोध गर्दा गरिखाने बाटो टुट्छ ।’ उनले भने, ‘विरोध नगरौं सेवा आयोगले यो इतिहास दोहोर्याइ रहन्छ ।’

सेवा आयोगले आफ्ना मान्छेलार्ई बिकाउन र टिकाउन गैह्रकानुनी हतकन्डा विगत देखि नै अपनाउँदै आएको पाइन्छ । सेवा आयोगको यो नतिजामा चित्त नबुझेर नेपाली विषयका सहप्राध्यापकहरुले लागि त्रिभुवन विश्वविद्यालय, पुनरावेदन आयोगमा उजुरी दिएका छन् । कानुनी रुपमा उम्मेद्वार छनोटको माग गर्दै पुनरावेदन गएको सहप्राध्यापक डा विदुरकुमार चालिसेले बताए । ‘मलाई न्याय पाउने आशा र विश्वास छ त्यसैले यो सिफारिस बदर गरी पाउँ भनी पुनरावेदन दिएको हुँ ।’ उनले भने, ‘त्रिविको पुनरावेदनले न्याय दिनेमा विश्वस्त छु, त्रिवि आफैंले बनाएको नियम पालना गरेर न्याय दिनेमा पूर्ण आशावादी छु ।’

सेवा आयोगले २०७७ फागुन ९ गते विज्ञापन विभिन्न पदमा बढुवाका लागि विज्ञापन गरेको थियो । त्रिवि शिक्षक, कर्मचारी सेवा शर्तसम्बन्धी नियम ७ को उपनियम ४ तथा त्रिवि शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियम ३० को उपविनियम (७) मा नतिजा माथि चित्त नबुझेमा लिखित पुनरावेदन-उजुरी दिन सक्ने व्यवस्था छ ।

Thuprai - Books and E-books