A Levels MA

फोहोर बटुल्दै बित्यो दिन, पढ्न पाइएन

देशको भाग्य र भविष्यको खाका निर्माण गर्ने आधिकारिक प्रतिनिधिको छनोट गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भइ सकेको छ । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ ओटा मतदान केन्द्र तोकिए। ती मध्ये अधिकांश मदान स्थल तथा केन्द्र शिक्षण संस्था नै परे । चुनाव सकियो एकातिर देश अहिले चुनावमय भएको छ भने, अर्कोतर्फ सारकारले मंसिर २ गते देखि ५ गते सम्म दिएको सार्वजनिक बिदा सकियो । विद्यालय खुले । तर, अधिकांश विद्यालयमा बालबालिकाले विहानदेखि निरन्तर कक्षा लिन भने पाएनन् ।

निर्वाचन केन्द्र तोकिएका शिक्षण संस्थाका भौतिक पूर्वाधार तथा परिसर निर्वाचन प्रयोजनका लागि प्रयोग हुँदा जम्मा भएको फोहोर सफा नहुँदा बालबालिकाले सुरुसुरु पढ्न नपाएका हुन् ।

अधिकांश मतदान केन्द्र भएका विद्यालयमा निर्वाचन आयोगले निर्वाचनका लागि प्रयोग गरेका फानिर्चर तथा भाडाँकुडाँ यत्रतत्र छाडेर जाँदा अहिले विद्यालयका शिक्षक तथा ससाना बालबालिका मिलेर सफा गर्नु परेको विद्यालयले गुनासो गरेका छन् ।

फोहोर छाडे, बत्तिको चिम लिएर गए

हरेक निर्वाचनमा विद्यालयका खाजा बनाउने भाडाँकुडाँ प्रयोग गर्ने गरेको तर छाडेर जाँदा अलपत्र छाडेर जाने प्रवृत्तिले गर्दा धेरै विद्यालयहरू मर्कामा पर्ने गरेका छन् । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पनि विद्यालयका फर्निचर, विदुत खर्च गरेको र खानेपानीका धारा क्षति भएका यो निर्वाचनमा पनि केही फनिर्चर खराब भएको नेलाल राष्ट्रिय आधारभूत विद्यालय नेपालगञ्ज घरबारी टोल २ का प्रधानाध्यापक विरेन्द्र यादवले बताए । ‘स्थानीय निर्वाचनमा पानीको धारा बिग्रियो, धेरै फनिर्चर भाचिँए तिनीहरूको मर्मत संभार नहुँदै पुन निर्वाच्न आयोगले मेरो विद्यालयमा मतदान केन्द्र तोक्यो फेरी बिग्रिए ।’ प्रधानाध्यापक यादवले भने, ‘विद्यालयको पानी बत्ति प्रयोग भयो, तर निर्वाचनका खटिएका कर्मचारीले निर्वाचन प्रयोजनका लागि भनेर किनेर ल्याएका विद्युतका चिम समेत निकालेर लगे, विद्यालय परिसरमा फोहोर थुपारे, बालबालिकाको खाना पकाउने भाडाँ जुठै छाडेर गए, कक्षाकोठामा पान, गुट्खा खाएर थुके, विद्यालयको अवस्था देख्दा वैराग चलेर आयो, रुन मन लाग्यो ।’

सरकारले विद्यालयलाई हस्तक्षेप मुक्त गर्न नसकेको विद्यालयको आरोप छ । पटक पटक विद्यालयलाई मतदान केन्द्र तोकेर बालबालिकाको पढाइ चार पाँच दिन सम्म अवरोध गर्न नुहुने प्रधानाध्यापक यादव बताउँछन् ।

विद्यालय सञ्चालन भइरहेको समयमा निर्वाचन आयोगबाट खटिएका प्रतिनिधि आएर हामी चुनाव गराउन आएको भन्दा मात्र आफूहरूलाई आफ्नो विद्यालयमा मतदान केन्द्र परेको रहेछ भन्ने थाहा हुनु दुखद भएको उनको भनाइ छ । ‘चुनावका लागि मतदान केन्द्र तोकिएका विद्यालयलाई स्थानीय सरकार वा निर्वाचन आयोगबाट पूर्व जानकारी हुनुपर्यो ।’ उनी भन्छन्, ‘चुनाव सफल बनाउनु सबैको दायित्व हो पूरा गर्नुपर्छ तर त्यसबाट उत्पन्न भएको फोहोर र खर्च विद्यालयले वेर्होने होइन सम्बन्धित निकायले नै जिम्मा लिनु पर्छ ।’

विद्यालय कर्मचारी पनि सरकारी कर्मचारी भएको हुँदा उसैलाई सफा गर्न लगाउनु

यही विद्यालयको जस्तै दुःखेसो छ महालक्ष्मी नगरपालिका ४ ललितपुर स्थित सूर्योदय बाल विकास आधारभूत विद्यालयको पनि । यो विद्यालय अघिल्लो निर्वाचन पछि भने सफा हुने गरेको थियो । तर यस पटकको निर्वाचनमा खटिएर आउनु भएका मतदान अधिकृत भुवानी संकर घिमिरेको टोलीले भने विद्यालयमा आफैले खाएको भाडाँसम्म सफा गर्न विकल्प नभएको भन्दै फोहोर नै छाडी दिए । विद्यालयले अधिकृत संग सरसफाइका लागि कुरा उठाउँदा आफूसंग विकल्प नभएको भन्दै सुरक्षा निकायका प्रमुखसंग परामर्श गर्न सुझाएको, विद्यालय कर्मचारी पनि सरकारी कर्मचारी भएको हुँदा उसैलाई सफा गर्न लगाउनु जस्ता गैर जिम्मेवार जवाफ आएको विद्यालयको आरोप छ ।

सूर्योदय बाल विकास आधारभूत विद्यालयमा कर्मचारीले छाडेको फोहर 

करिब चार दिन सम्म निर्वाचन प्रयोजनका लागि आयोगले खटाएका कर्मचारीले खाएको जुठाभाँडा, छरिएका फर्निचर र मतदाताले थुपारेको फोहोर सफा गर्न नै समय लागेको विद्यालयका प्रधानाध्यापक महेन्द्र पण्डितले बताए । ‘हिजो दिनभर विद्यालय कर्मचारी र शिक्षक ६ जना लागेर भाँडा माझ्यौं ।’ उनले भने, ‘ससाना नानीलाई कागज सफा गर्न लगायौं, बालविकास कक्षामा निर्वाचन अधिकृतहरू जुत्तामा टेकेर लगेको फोहोर पुछ्यौं अहिले करिब १२ बजेदेखि बालबालिका कक्षामा बस्न सक्ने भएका छन् ।’

 

यी दुई त प्रतिनिधि विद्यालय मात्र हुन् । मतदान केन्द्र तोकिएका अधिकांश विद्यालयको हालत यस्तै दुःखद भएको सरोकारवालाहरूले जानकारी दिएका छन् । शिक्षा सरोकारवालहरूले बालबालिकाको दोस्रो घरका रुपमा रहेको विद्यालयमा निर्वाचन आयोगबाट खटिएका कर्मचारीले गरेको फोहोर आफैं सफा गर्नु पर्ने अन्यथा अर्को निर्वाचनमा विद्यालयलाई मतदान केन्द्र बनाइनु नहुने बताएका छन् ।

श्रम शोषण गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना

विद्यालय कर्मचारीको निर्वाचन अधिकृतको टोलीले श्रम शोषण गरेको भन्दै सामाजिक सञ्जालमा अहिले चर्को आलोचना भएको छ ।

 ‘झन विद्यालय कर्मचारीहरूलाई स्वयम् सेवक भनेर तीन दिनका लागि नियुक्ति दिइयो, दिनको १२०० का दरले ३६०० दिनु पर्नेमा १५०० दिएर टारियो ।’ गजेन्द्र ज्ञावली लेख्छन्, ‘किन यस्तो भयो भनेर सोद्दा के गर्यौं भन्ने प्रश्न सोधियो ? जबकि सम्पूर्ण सामग्री व्यवस्थापन र केन्द्र निर्माणमा खटिएको अवस्था छ ।’

 त्यस्तै, सुनसरीका रमेश चौधरीले विद्यालय कर्मचारीलाई ६–७ सय मात्र दिएको गुनासो गरेका छन् ।

विद्यालयलाई पिक्निक स्पोट बनाएको, बालविकास कक्षामा फोहोर गरेको भन्दै शिक्षक शान्त राज रिजालले गुनासो गरेका छन् ।

Thuprai - Books and E-books