After SEE Portal

दक्षिणकालीको टोलीले जाजरकोटमा निर्माण गरे अस्थायी कक्षाकोठा

Bridge Course

शिखरापुर सामुदायिक सिकाइ केन्द्र र हात्तीवन सामाजिक सेवा केन्द्र दक्षिणकाली नगरपालिका वडा नं. ३ को अगुवाइमा जाजरकोट भूकम्पप्रभावितको सहयोगार्थ पुनर्निर्माणका कार्यको थालनी भएको छ । 

देशैभरिका सामुदायिक सिकाइ केन्द्रको प्रतिनिधित्व गर्दै शिखरापुर टोली जाजरकोट पुगेको छ । भेरी नगरपालिका वडा नं. १, कालेगाउँस्थित शिव माध्यमिक विद्यालयका कक्षाकोठा पूर्ण क्षति भएका थिए । खुला चौरमा कक्षा लिइरहेको अवस्थामा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीमगर तथा स्थानीय वडाअध्यक्ष दिपक राणाको निर्देशनमा अस्थायी सिकाइ केन्द्र निर्माण थालनी भएको छ । 

काठमाडौँबाट जाजरकोट पुगेको दुवै संस्थाका पदाधिकारी आफैँ जुटेर फलाम तथा जस्ताको दिगो किसिमको १० कोठे सिकाइ केन्द्र निर्माण गरिने शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर केसीले बताए ।

उनले देशभरिका सामुदायिक सिकाइ केन्द्रको आह्वानमा सामाजिक सञ्जालमार्फत रकम सङ्कलन गरिएको जानकारी दिए ।

हात्तीवन सामाजिक सेवा केन्द्रका उपाध्यक्ष रामकुमार बस्नेतले भूकम्पले प्रताडित भइरहेको समुदायमा प्रत्यक्ष सलग्न भई पुनर्निर्माणका कार्यमा आफैँ जुट्ने र सहयोग गर्ने आफ्नो मनसाय रहेको र आफू नै प्रत्यक्ष सहभागी भई सहयोग गर्ने बताए ।

दक्षिणकाली नगरपालिका–३ मा अवस्थित केन्द्रले जर्मनीमा रहेको हात्तीवन फोडरक्राइस ईभी नामक संस्थासँग सामाजिक काममा साझेदारी गर्दै आएको छ । दुवै संस्थाको पहलमा उक्त विद्यालयमा करिव १२ लाख रुपियाँ बराबरको खर्चमा सो अस्थायी सिकाइ केन्द्र निर्माण गर्न लागिएको हो । 

“हामी विद्यालयमा पहिलो दिन प्रवेश गर्दा कक्षाहरु सबै खुला चौरमै सञ्चालित थिए । विद्यालयमा जेटिए पनि पढाइ हुने रहेछ । जम्मा दुई वटा कक्षा मात्रै सुरक्षित देख्यौँ । अधिकांश बालबालिका कक्षाकोठामा पढ्न जाने मनःस्थितिमा थिएनन् । विद्यालयका प्रत्येक कोठा चर्किएका, भित्ता ढल्केका थिए” काठमाडौँ दक्षिणकालीको शिखरापुर सामुदायिक क्याम्पसका प्रमुख निरोज श्रेष्ठले भने, “हामीले अस्थायी सिकाइ केन्द्र बनाउने भनेपछि विद्यालय परिवार खुसी भयो । उहाँहरुले सकेको केही श्रमदान पनि गर्नुभयो ।”

स्थानीय पालिका तथा शिक्षा शाखासँगको समन्वयमा यो काम अगाडि बढाइएको हो । संस्थाहरुले स्थानीय गणेश सामुदायिक सिकाइ केन्द्रको भत्केको कार्यालय पुनर्निर्माण तथा केही विपन्न वर्गलाई खाद्यान्न तथा लत्ताकपडा समेत वितरण गर्ने योजना रहेको छ । 

सो विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण पूरा नभएका कारण हालसम्म पनि कक्षाहरु सुचारु हुन सकेको छैन । सहयोगी संस्थाहरुले सिकाइ केन्द्र हस्तान्तरण गरेपश्चात नै कक्षा सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक उत्तर बतालाले बताए । 

 

A Levels MA