कोरोना महामारी र हाम्रो भविष्य

साधारण आँखाले दृष्टिगोचर गर्न नसकिने एक प्रकारको मानव शरीरभित्र श्वासप्रश्वासका माध्यमबाट प्रवेश गरेर फोक्सो, मुटु , मृगौला जस्ता महत्वपूर्ण संवेदनशील अङ्गहरुलाई सङ्क्रमण गरी नकारात्मक रुपले क्षयीकरण गर्ने सूक्ष्मतम किटाणु (अणु) नै सरल भाषामा कोराना भाइरस हो । मानव जातिमाथि निर्मम शैलीमा आक्रमण गरी प्राणै लिने स्वभावका अनेकौं भाइरसहरू मध्ये हामीले बेलाबेलामा सुन्दै भोग्दै जीवन व्यतीत गरिरहेका छौं । सन् १९३० को दशकतिर विश्वका मानव जातिलाई सङ्क्रामक महमारीले आताङ्कित पार्यो । सन् २००३ तिर पनि एक प्रकारको सरुवा रोगले मानिसको ज्यानै लिने सम्मको महामारी भोगेको विश्व समुदायका बिच पछिल्लो चरणमा सन् २०१९ को डिसेम्बर अन्तिमतिर विश्वको धेरै जनसङ्ख्या भएको तथा विश्व अर्थतन्त्रमा ठूलो फड्को मारेको देश चीनको बुहान सहरबाट अचानक घनाजङ्गलमा आगो सल्केझैँ देखा पर्यो कोरोना भाइरस । यो चीन, इटाली, अमेरिका, स्पेन, फ्रान्स, बेलायत, जर्मन, इरान हुँदै संसारभरका ठूला तथा सम्पन्न राष्ट्रहरू देखि साना वा विपन्न राष्ट्रहरुसम्म त्रासदीपूर्ण रुपले फैलिइ रहेको छ ।

यसले विश्वका २१० भन्दा बढी देशहरूमा कसैलाई बाँकी राखेको छैन । भुसको आगो भित्रभित्रै सल्किएजस्तै गरी युरोपभरि फैलिएर अमेरिका, अफ्रिका, दक्षिण एसिया लगायत विश्वलाई आताङ्कित पार्दै नेपालमा पनि यसको संक्रमण फैलिइसकेको छ । यसको सङ्क्रमणले नेपाली जनजीवनलाई भयभीत पारेको छ । अदृश्य कालोसर्पले जस्तै नेपालीलाई तर्साउन आइपुगेको छ ।

तीव्ररुपले जनजीवनलाई प्रभाव पार्ने यो सरुवा रोगलाई कोराना भाइस (कोभिड –१९) नामकरण गरिएको छ । संसारभरका मानवको जीवन रक्षा वा स्वास्थ्य सुरक्षाको शीतल छहारी प्रदान गर्ने संसारको अभिभावक संस्थाको भूमिकामा रहेको विश्व स्वास्थ्य संगठनले यस रोगलाई श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले मानिसले खोक्दा, हाच्छिउँ गर्दा, एक सङ्क्रमित व्यक्तिको नजिकको सम्पर्कमा पुग्दा एकबाट अरुमा अति छिटो फैलिने अदृश्य नयाँ प्रकृतिको चरित्र देखाउने रोग सिर्जना क्षमता भएको भाइरस हो यो भनी परिभाषित गरेको छ । यसबाट बच्न अहिलेसम्म औषधीको आविष्कार हुन सकेको छैन । व्यक्तिव्यक्तिको सचेत भूमिकामा सामाजिक पृथकीकरण, सरसफाई, आहार–विहार, सामाजिक दुरी नै यसबाट बच्ने चुक उपाय हो ।

यस्तो अकल्पनीय रोग निम्त्याउन सक्ने जैविक वा प्राकृतिक भाइरस हो ? कि मानव निर्मित भाइरस हो ? अथवा अदृश्य दैविक शक्तिशाली भाइरस नै हो भन्ने तथ्यगत सत्यतामा समेत द्धिविधा देखिइरहेको विद्यमान सन्दर्भमा विश्वका तमाम वैज्ञानिक, डाक्टर तथा विज्ञहरू कोरोना भाइरसको समग्र पक्षलगायत रोकथाम, नियन्त्रण र उपचारका बारेमा खोज तथा अनुसन्धानमा तल्लीन भएर लागिरहेका समाचार आइरहेका छन् । यसको उत्पत्ति, फैलावट तथा निष्क्रियताका बिचको अन्योलतामै दिन बितिरहेका छन् । छोटो अविधिमा नै २,४०७,३४० मानिसका संक्रमण गरी सकेको छ भने १६५,०६९जनाको ज्यान लिइसकेको छ । त्यस्तै यसलाई परास्त गरेर ६२५,१२८ जना मानिस घर फर्कि सकेका छन् ।

यस्तो कहालीलाग्दो भयावह अवस्थामा बालबालिकाको पठनपाठन, उद्योग, व्यवसाय, होटल, पर्यटन, कृषि उत्पादन व्यापार लगायताका क्षेत्रमा नकारात्मक असर पर्न गई समग्रतामा ह्रासोन्मुख वातावरणले अपूरणीय क्षति हुन सक्ने सम्भावना अनुमान गर्न सकिन्छ ।

अनेकौँ प्रकार र प्रजातिका भाइरसमध्ये विज्ञले धेरै किसिमका भाइरसका बारेमा सत्यतथ्यहरू आलोकमा ल्याइसकेका छन् । प्राकृतिक वातावरण एवम् विश्वब्रह्माण्डमा आ–आफ्नो स्वतन्त्र अस्तित्व कायम राखेर सञ्जाल निर्माण गर्दै देखापर्ने भाइरस कतिपयले प्रकृतिमा आफ्नो जालो फैलाएका हुन्छन् भने अथाह रुपमा रहेका सूक्ष्मतम् भाइरसहरू मानव लगायतका प्राणीको शरीर भित्रका संवेदनशील अङ्गमा आफ्नो साम्राज्य विस्तार गर्न तल्लीन छन् ।

मानव समुदायले भोगेको विगतकोे कालखण्डलाई फर्केर हेर्दा बिफर, दादुरा, ठेउला, हैजा जस्ता अनेकोँ प्रकृतिका माहामारीहरू बेलाबेलामा हजारांै मानिसको ज्यानै लिने गर्दथे । सास भाइरस, इबोला भाइरस, स्वाइनफ्लु, आदि नामकरण गरिएका महामारी पनि भाइरसकै सङ्क्रमणबाट फैलिएका तथ्याङ्क सार्वजनिक भइरहेको वर्तमान कालखण्डमा कोरोना भाइरसले विश्वका करिब ८ अरब मानिसललाई नै चुनौती दिइरहेको छ । मानिसको फोक्सो, मुटु, मृगौला जस्ता अति संवेदनशील र महत्वपूर्ण अङ्गहरुमाथि साङ्घातिक एवम् निर्मम हमला गरी लाखौं मानिसलाई पराजित गरिसकेको छ । विज्ञले कमजोर प्रकृतिको भाइरस भनिएको यस मानवीय साझा शत्रुलाई कोरोना भाइरस (कोभिड–१९) नाम दिइएका छन् । कोरोना भाइरस अतिसूक्ष्म भाइरसकै एक प्रजाति भएको र खासगरी मानिसको श्वासप्रश्वासबाट मानव शरीरभित्र प्रवेश गर्ने मौका पारी सोझै फोक्सोको सतहमा सञ्जाल बनाएर त्यहीँबाट फोक्सो हुँदै मुटु तथा मृगौलाजस्ता अन्य संवेदनशील अङ्गहरुमा आक्रमण गरी ती अङ्गहरुलाई क्षयीकरण गर्दै जाने यसको मुख्य दोष हो भन्नेसम्मका तथ्यहरू अहिलेसम्मका अध्ययन अनुसन्धानबाट पुुष्टि भएका छन् ।

कोरोना भाइरस सङ्क्रमित व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा नाकमुखबाट बाहिर निस्कने रसिलो छिटाहरुमा यो भाइरस रहने हुनाले त्यसैबाट हातका माध्याम, खानेकुरा खाँदा, सास फेर्दा, अरु मानिसहरुमा सङ्क्रमण फैलिने यसको मुख्य स्वभाव हो । स्वस्थ मानिसका वरिपरि हाच्छिउँ गर्ने, खोक्ने, थुक्ने, हात मिलाउने, लगायतका नजिकबाट हुन सक्ने क्रियाकलाप नै यो भाइरस सर्ने मुख्य माध्यम हो । त्यसबाहेक पनि सङ्क्रमित व्यक्तिले प्रयोग गरिरहने सम्पूर्ण सामग्रीमा पनि भाइरस अदृष्य रुपमा रहिरहने र सर्न सक्ने उत्तिकै सम्भावना रहन सक्छ ।

यो भाइरसले मानव शरीरमा प्रवेश गरेपछि उच्च ज्वरो (१०४ डिग्रीभन्दा माथि) आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, थकान महसुस हुने, जस्ता सामान्य लक्षणहरू देखिन्छन् । कुनै अवस्था तथा व्यक्तिमा यस्ता लक्षणहरू नदेखिने अवस्थामा पनि भाइरस सल्किएको हुन सक्छ । भाइरस मानव शरीरमा प्रवेश गरिसकेपछिको ७÷१० दिनपछि पूर्ण रुपमा देखापर्ने र प्रतिरक्षामा हमला सुरु गरी महिनौँसम्म रहन सक्ने यसको चरित्र देखिन्छ । यो भाइरस निदान गर्न सकिने र महिनौँसम्म पनि सक्रिय रहन सक्ने विज्ञको एउटै मत देखिन्छ ।

संसारभर फैलिदो अवस्थामा रहेको कोरोना भाइरसका बारेमा खोज, अध्ययन अनुसन्धान एवम् प्रयोगहरुबाट थप नयाँ तथ्यमा आधारित सत्यता पत्ता लगाउन स्वास्थ्यविज्ञहरू रातदिन तल्लीन भएर लागिरहेका हुनाले पूर्ण जानकारी बाहिर नआएसम्म यसलाई सजीव वा निर्जिव, प्राकृतिक वा मानवनिर्मित, दैविक वा जैविक यही हो भनेर किटानी गरिहाल्नुभन्दा सत्यतथ्य पत्ता लगाएर निष्कर्ष पर्खनु नै बढी बुद्धिमानी होला । अनुसन्धानका क्रममा मानव बाहेकका अन्य प्राणीमा यसले आक्रमण गर्न सक्ने सम्भावनाको पनि खोजी हुनु आवश्यक छ भन्ने विषय छलफलमा आउनु पर्दछ ।

अहिले सन् २०१९ डिसेम्बरको अन्त्यतिरबाट प्रादुर्भाव भई करिब ३ महिनाको छोटो अवधिमा यसको सङ्क्रमण वा फैलने क्षमता तीव्र देखिएको छ । मानव जगतमा यसको महामारी कालो बादल बनेर मडारिइ रहेको छ । यसले मानव जातिकै अस्तित्व सङ्कटमा पर्नबाट बचाउन हरेक व्यक्तिले सचेत भूमिका निर्वाह गरी पूर्वसावधानी अपनाई बाहेक अहिलेको अवस्थामा वैकल्पिक औषधी देखिँदैन । विश्व स्वास्थ्य संगठनले निर्देश गरेका सूचना, परामर्श, सेवा सल्लाह आदिलाई हरेक राष्ट्रले अङ्गिकार गरेर यसको पहिचान, निदान, रोकथाम, नियन्त्रण एवम् उपचार सम्भव हुन सक्छ । रोग लाग्नु नै मृत्युको मुखमा पुग्नु हो भन्ने बुझाइ गलत हो । हाम्रो शरीर भित्रको रोगसँग लड्न सक्ने क्षमता वा प्रतिरक्षा शक्ति अनुसार यस्ता रोग लागिहाले पनि उचित जीवनशैली अपनाएर आहार, विहार, विचारले यस्ता रोगहरुसँग लडाइँ गरेर विजय प्राप्त गर्न सकिन्छ । एउटा फलामलाई अर्को फलामले काटेजस्तै यस्ता रोगलाई उच्च मनोबलले जित्ने आँट पनि मानिसमा हुनुपर्दछ ।

इतिहासको लामो कालखण्डपछि अप्रत्यासित रुपमा चूनौतीका क्षणहरुमध्ये नयाँ विशेषता रहेको कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ठूलो आयाममा धनजनको क्षति भई हरेक क्षेत्रमा अत्यन्तै नकारात्मक असरहरू देखिने खतरा बढेको छ । यसको कहर कहिले र कसरी सामना होला भन्ने छटपटीका बिच मानिसहरू छटपटाइ रहेको अवस्थाको आङ्कलन गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्दै विश्वका हरेक देशहरुले आफ्ना जनतालाई सुरक्षित राख्नु पर्ने दायित्व बढेको छ ।

विश्व अहिले लकडाउन (बन्दाबन्दी, घरबन्दी) सम्पूर्ण नागरिकहरुलाई सचेत र सुरक्षित राख्न पहल गरेका छन् । नयाँ एवम् विषम परिस्थितिका कारण हामी बाध्य भएर घरभित्र बसेका छौँ । यो महामारी कति समयसम्म रहिरहन्छ र यसले मानवीय एवम् भावी मानव विकासलाई कतिसम्म क्षतविक्षत गर्छ भन्ने अवस्थामा समग्र परिणाम नआएपनि नेपालका मात्र लाखौँ श्रमजीवी वर्गको रोजीरोटी गुम्ने, लाखौँ बालबच्चाहरुको पठनपाठनमा प्रत्यक्ष असर पर्ने, पर्यटन व्यवसाय, व्यापार, व्यवसाय, यातायात, वित्तीय संस्थाको दैनिक क्रियाकलाप अवरुद्ध भई त्यसमा संलग्न कर्मचारी, मजदुर, कामदारहरू अलपत्र भई त्यसमा संलग्न लगानी कर्ताहरुको लगानी पनि स्वाहा हुँदै गिरावट आउने परिदृश्यको झलक आउन थालेको छ । भौतिक विकास निर्माणका कामहरू अवरुद्घ हुनाले परिश्रम गरेर पेट पाल्नेहरुको हृदयविदारक अवस्था सिर्जना हुने सम्भावना टरेको छैन । उद्योगधन्दा बन्द भई उत्पादन घट्यो । विपन्न वर्ग बजारभाउ बढ्नाले नराम्ररी पिरोल्ने खतरा त्यतिकै बढेर गएको छ । अधिकांश नेपालीहरुको बाँच्ने आधार खेतीपाती र पशुपालन पेसाबाट उत्पादित दुध तथा तरकारीजन्य वस्तुहरुको पनि बिक्रीवितरण सहज छैन । बेरोजगारी समस्या तथा कृषिमा आधुनिकीकरण गर्न नसक्दा बाध्य भएर परदेशमा काम खोज्दै पुगेको नेपालीको विद्यमान अवस्थाका बारेमा अध्ययन तथा खोजी हुनु जरुरी छ । भारत लगायत कूल जनसङ्ख्याको झन्डै १५% अर्थात झन्डै चालिस लाख नेपालीहरू विदेशी भूमिमा श्रम गरिरहेका छन् । उनीहरूको पुर्नवासमा ध्यान दिन जरुरी छ । उनीहरूको सिपलाई कृषि उत्पादन र औद्योगिक उत्पादनसंग जोडी नेपाल फर्काउनु पर्ने विषय नेपालका लागि थप पेचिलो चुनौती बन्नेछ ।

कोरोना भाइरसका कारण विदेशमा दर्जनौँ नेपालीले ज्यान गुमाइसकेका छन् । नेपालभित्र भने अहिलेसम्म मानवीय क्षति भने भएको छैन तर अहिलेसम्म ३१ जनामा संक्रमण भएको छ भने केही मानिस निको भएर घर फर्किएका छन् । छिमेकी देशबाट आवागमन भइरहँदा सङ्क्रमण फैलन सक्ने खतरा रहिरहन्छ ।

विश्व स्वास्थ्य संगठन तथा सरकारले निर्देश गरेको जीवन सुरक्षासम्बन्धी नीतिअनुसार घरमै बस्ने, पृथक रहनै पर्ने बाध्यात्मक अवस्थाले गर्दा नेपाली जनजीवन प्रभावित भइरहेको छ । यसले सम्पूर्ण क्षेत्रमा मनोवैज्ञानिक त्रास र चिन्ता प्रकट हुन थालिसकेको यथार्थ देखिन थालेको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार नेपालले कोरोना भाइरसको सङ्क्रमणको असरबाट अहिलेसम्म (३ महिनामा) दुई अर्ब रुपियाँ बराबरको आर्थिक क्षति व्यहोरी सकेको छ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि तथा औद्योगिक उत्पादन घट्ने बितिकै भोकमारी र राष्ट्रको राजस्व रित्तो हुन बेर लाग्दैन । विश्वस्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको टिप्पणी यस अघि नै गरिसकेको छ । हामी स्वास्थ्यका दृष्टिले सङ्क्रमणकालीन अवस्थामा पुगेका छौँ । तत्काललाई आफैं सुरक्षित रहदै दीर्घकालमा मानव जातिले मानव जीवनको रक्षार्थ नयाँ क्षितिजमा प्रवेश गरी उत्तम विकल्पको खोजी गर्न बाध्य बनाएको छ ।

कोरोना भाइरसको महामारीले अपरिमेय र अतुलनीय रुपमा मानवीय लगायत आर्थिक–भौतिक क्षति पुर्याएको कटु यथार्थका बिच केही सकारात्मक सम्भावनाहरू पनि सिर्जित गरिदिएको छ । यसले हामी नेपालीहरुका असल सामाजिक संस्कार, रीतिरिवाज , मूल्यमान्यता, आपसी एकता, सेवा, सहयोग, स्वावलम्बन, सरसफाई, ध्यान, योग प्राकृतिक आहारविहार, सकारात्मक सोच, चिन्तनमनन् लगायतका आधारभूत जीवन पद्धतिलाई पुनस्र्थापित गरी पुनर्पुष्टि पनि गरिदिएको छ । यसलाई अवसरको रुपमा लिई आत्मसात् गर्न सके हाम्रो भविष्य थप सुरक्षित हुनसक्ने बलिया आधारहरू तयार हुन सक्दछन् । मानवजातिले बिर्सँदै गएका र व्यवहारमा पनि सुक्खा खडेरी पर्दै गएका यस्ता मानवीय मूल्यमान्यता तथा प्रकृतिलाई बेवास्ता गरेर देखापर्ने होडबाजी, द्धेष, घमण्ड, हत्या, हिंसा, पदलोलुपता, तृष्णा जस्ता असत् मनोवृत्ति लिएर बस्नेलाई पनि यो सङ्क्रामक महामारीले बाँकी राखेन । यसबाट मानवले पाठ सिक्नै पर्दछ । मानिसको भौतिक सम्पत्तिको लोभले जीवन रक्षा नहुने सत्यता पुष्टि गरिदिएको कुरा पनि सकारात्मक रुपमा ग्रहण गर्नु उचित नै होला । मानिसभित्र रहने सबैभन्दा ठूलो डर नै मृत्युको भय हो । प्रत्येक मान्छेभित्र अन्तर्निहित जिजीविषाले नै आफूलाई मृत्युको वरिपरि जानबाट जोगाइराख्न मद्दत गरिरहेको छ । यी शाश्वत विषयहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट फैलिएको महामारीले उजागर गर्दै छ ।

मानिसको जीवनदायिनी एवम् सञ्जीवनी भनेकै प्रकृति हुन् । प्रकृतिको दोहन गरेर चीरहरण गरी आफ्ना स्वार्थ पुरा गर्ने अभीष्ट राख्न खोज्नेलाई प्रकृतिले नै सजाय दिन्छ भन्ने शाश्वत सत्यको बोध गराएको छ । हाम्रा पिता पुर्खादेखिका स्थापित असल चालचनबाट पनि हामीले नयाँ परिवेशमा सिक्नु र व्यवहारमा आत्मसात् गर्नु बुद्धिमानी हुन जाने देखिएको छ । सुन फलाउन सकिने हाम्रा खेतबारी तथा जडीबुटीहरू अलपत्र बाँझो छोडेर भाषा समेत नबुझिने तातो हावा भएको परदेशमा रेमिटेन्सको लोभले काम खोज्ने मनोवृत्ति बोकेका नेपाली युवावर्गलाई आफ्ना परिवारका साथ स्वदेशको माटोमा नयाँ ज्ञान, सिप, प्रविधि र श्रमको उपयोग गरी विकल्पहरुको खोजी गर्ने नवीनतम् अवसर सिर्जना हुर्दै छ । राजनीतिक दर्शनको नारामा दुःखी गरिबको नाममा भजन– किर्तन गर्ने र राज्यशाक्तिको भोग गर्ने राजनीतिक दल वा शाक्ति केन्द्रहरूले पनि यस महामारीबाट जनएकताविना केही गर्न नसकिने हुनाले राष्ट्र र राष्ट्रिय जनएकताको महत्व बोध गर्दै जानु नै बुद्धिमानी देखिन्छ ।

रोगले बचेका जनताहरुलाई भोकले मर्ने अर्को दीर्घकालीन महामारीको उच्च जोखिमबाट जोगाउन सम्पूर्ण बेरोजगार श्रमजीवी वर्गलाई खेतीपाती, पशुपालन र औद्योगीकरणमा संलग्न गराई जनतालाई सेवा र टेवा दिने कार्यमा अवसरको उपयोग गर्नु नै सबैको प्रमुख दायित्व देखिन्छ । यसैमा हाम्रो भविष्य सुरक्षित हुन सक्ला ।