After SEE Portal

लाइसेन्सको कापी परीक्षण सकियो,नतिजा प्रकाशन गर्ने तर्खरमा आयोग

Bridge Course

शिक्षक सेवा आयोगले तीनै तहका शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिसकेको छ । आयोगले तीनै तहका उत्तरपुस्तिका परीक्षण गरिसकेर माध्यमिक तहको नतिजा धमाधम कम्प्युटराइज्ड गरिरहेको छ । आयोगका अनुसार माध्यमिक तहको नतिजा रुजु हुने बितिकै यसै हप्ता नतिजा सार्बजनिक गर्ने तयारी गरिरहेको छ ।

आयोगले गत असोज ११,१२ र १३ गते लिएको परीक्षाको नतिजा क्रमशः मावि, निमावि र प्राविको गर्ने भएको छ ।

आयोगले लाइसेन्सको नतिजा सार्वजनिक गरेपछि खुला विज्ञापनका लागि बाटो खुला भएको आयोगका एक कर्मचारीले बताए । ‘खुला विज्ञापनका लागि हामी तयार छौं, हाम्रो लक्ष्य भनेकै दक्ष शिक्षक छनौट गर्ने हो ।’ उनले भने, ‘यसकालागि हामीले पाठ्यक्रम तयार गरिसकेको छौं, प्रारम्भिक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरिसकेका छौं भने विषयगत परीक्षाको पाठ्यक्रम पनि अन्तिम अवस्थामा पुर्याएका छौं ।’

शिक्षक सेवा आयोगको परिवर्तित पाठ्क्रम अनुसार अबको परीक्षामा आयोगले बस्तुगत परीक्षाको मूल्याङ्कन ऋणात्मक गर्ने भएको छ । आयोगले हिजो सार्वजनिक गरेको पाठ्यक्रम अनुसार प्रारम्भिक चरणको परीक्षामा परीक्षार्थीले दिएको हरेक गलत उत्तरको २० प्रतिशत नम्बर कट्टा गरिने आयोगले जानकारी दियो ।

परीक्षार्थीको ऋणात्मक मूल्याङ्कन गर्दा अन्दाजका भरमा नम्बर ल्याउने, झुकिएर पास हुन सम्भावना कम हुने हुँदा यस्तो व्यवस्था गरिएको हो । शिक्षाको गुणस्तर सुधारमा ८० प्रतिशत भूमिका शिक्षकको हुने हुँदा  उम्मेद्वार छनौट गर्न विगतको भन्दा फरक तरिकाको पाठ्क्रम तयार गरिरहेको ती कर्मचारीको दाबी छ ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र पनि तीव्र गतिमा शिक्षक दरबन्दी मिलानमा जुटेको महानिर्देशक तुलसीप्रसाद थपलियाले बताए । ‘दरबन्दी मिलान सकिने बितिकै सबै पालिकाका रिक्त दरबन्दी माग गरी शिक्षक छानैटका लागि विज्ञापन गरिने छ ।’ महानिर्देशक थपलियाले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेकै सार्बजनिक शिक्षाको सबलीकरण हो, यसकालागि योग्य र तालिम प्राप्त शिक्षकको आवश्यकता छ ।

अबका हरेक वर्ष रिक्त हुन गएका दरबन्दीमा पालिकागत आधारमा शिक्षक सेवा आयोगले शिक्षक छनौट गर्ने भएको छ । शिक्षक सेवा नियमावलीको १० औं संशोधन गरिसकेको छ । सोही संशोधनले व्यवस्था गरेअनुसार आयोगले कार्य गरिरहेको आयोगका प्रवत्ता दामोदर आचार्यले बताए ।

A Levels MA
Thuprai - Books and E-books